राष्ट्रिय अनुसन्धानको रिपोर्ट भन्दै गृहमन्त्रीले नक्कली तथ्यांक सार्वजनिक गरे- विष्णु रिमाल

अरूलाई बाहिर निस्किन पाइँदैन भनेर बन्द गरिदिने । आफूचाहिँ प्रहरीको गाडी चढेर सुरक्षा निकायहरूलाई दुरुपयोग गर्दै घर-घरमा मतलाई प्रभावित गर्ने क्रियाकलाप गर्ने तहमा स्थानीय तहको चुनावमा पनि गर्नुभयो । फेरि त्यो गर्नुहोला भन्ने हामीलाई लागिरहेको छ ।

नेपालभ्युज

राष्ट्रिय अनुसन्धानको रिपोर्ट भन्दै गृहमन्त्रीले नक्कली तथ्यांक सार्वजनिक गरे- विष्णु रिमाल

निर्वाचनको मौन अवधि सुरु हुन केही दिन मात्र बाँकी छ । मौन अवधिमा चुनावी प्रचार गर्न नपाइने भएकाले उम्मेदवारहरू मतदाता भेटघाटको चटारोमा छन् । उम्मेदवारहरू नजिता आ–आफ्नो पक्षमा पार्न प्रचार-प्रसार अभियानलाई तीव्रता दिइरहेका छन् ।

यो चुनावमा मुख्यत सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदैछ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई चुनावसँग सम्बन्धित रहेर  सोधिएका प्रश्न र जवाफ । 

 

निर्वाचनमा नेकपा (एमाले) को अवस्था कस्तो छ ? माहोल कस्तो छ देशभरको ?

अहिले हामी निर्वाचनको प्रचार-प्रसार  र यसको उपलब्धिका लागि गरिरहेको कामको अन्तिम चरणमा पुगेका छौं। देशभरिको माहोल हेर्दा एमालेको परिस्थिति राम्रो छ ।

राम्रोको अर्थ विगतमा गठबन्धनले क्षति पुर्‍याउँछ र गठबन्धनका अगाडि एमालेले केही पनि गर्न सक्दैन भन्ने सत्यहरू नै अहिले आफैँ नै एमाले माथि गयो भन्नेमा पुगेका छन् ।

त्यो हिसाबले हेर्दा हाम्रो पार्टी पंक्तिमा मनोबल एकदम बढेर गएको छ । सारमा भन्दा अहिले हामी अगाडि छौँ । र अगाडि बढी नै रहेका छौँ । यदि, बाहिर कसैले सर्वेक्षणकै कुरा गरेर जाने हो भने पनि अहिले गठबन्धनमा रहेको शक्तिहरूको पारो ओरालो लाग्ने र एमालेको पारो उकालो लाग्ने यो हिसाबले गइरहेको मैले देख्छु ।

 

 एमाले कतै पछि पर्दै त छैन ? भन्ने बाहिरी तथ्यांकलाई लिएर तपाई‌ंहरूको विश्लेषण के हो ?

पहिलो कुरा त यो तथ्यांक आफैंमा नक्कली छ । किनभने सर्वेक्षण गर्नै पाइँदैन । सर्वेक्षण गर्ने भरपर्दा संस्थाहरूले पनि सर्वेक्षण गरेका भए पनि उनीहरूले आफ्नो सर्वेक्षणको प्रतिवेदन बाहिर ल्याउन पाउँदैनन् ।

सेयर गर्न नि पाउँदैनन् ।  मैले सुने गृहमन्त्री स्वयमलेसमेत राष्ट्रिय अनुसन्धानको सर्वेक्षण भनि नक्कली अंकहरू बाहिर ल्याएको मैले सुनेको छु । मैले सत्तामा रहँदाखेरी, सरकारमा रहँदा भएका कामको अनुभवको आधारमा त्यस्ता संस्थाका कुनै पनि सूचना सेयरिङ हुँदैनन् ।

विगत केही दिनदेखि र आक्रमणमा उत्रिएको छ गठबन्धन । अरु कुनै दल उत्रेका छैनन् । व्यक्ति उत्रेका छैनन् । गठबन्धन उत्रिएको छ । अर्को दलको प्रचार टिममाथि आक्रमण गर्ने, अर्काको कार्यक्रममा जान नदिने र नक्कली सूचना बाहिर ल्याउने भनेको स्वतः आफैँमा के बुझ्नुपर्छ हामीले भने यो पराजयको कारणले हतास मनस्थितिले आएको कुराहरू बुझ्नुपर्छ ।

त्यसकारणले जे तथ्य, तथ्यांकहरू बाहिर आइराखेका छन् ती मिथ्यांक मात्रै हुन् ।  मैले थाहा पाएको नेपाल ब्रिटेन यस्तै के नाम गरेको कुनै एउटा वेबसाइटमार्फत एउटा नक्कली सूचना बाहिर आयो त्यसमा एउटा अमुक दल संलग्न छ भन्ने सुनेको छु ।

त्यो गर्नुको कारण त्यसमार्फत सामाजिक सञ्जालमा यसलाई बढी प्रचारित गर्ने, भाइरल गर्ने र जनतालाई हो क्यारे भनेजस्तो भ्रम दिने काम हुन खोजिरहेको छ । यो स्वच्छ निर्वाचनको लागि निन्दनिय काम हो ।

परिचालन र मतदाता शिक्षाको सम्बन्धमा एमाले पछाडि परेको भन्ने समाचारहरू आइराखेको छ, यसलाई कसरी व्यवस्थित गरिरहनुभएको छ ?

प्रचार, परिचालनको हिसाबले एमाले पछाडि छैन । किनभने, अहिले पहिलेको भन्दा पृथक प्रचार छ । अहिले हामी पोष्टर टाँस्न पाउँदैनौँ । जुलुस निकाल्न पाउँदैनौँ । घरदैलोमा पनि सिमित संख्यामा मात्रै जानुपर्छ ।

२५ को संख्या तोकेको छ । १० वटाभन्दा बढी झण्डा बोक्न पाइँदैन । यो आचारसंहिताको कारणले गर्दाखेरी पहिलेको जस्तो ठूलो संख्यामा जाने रौनकचाहिँ देखिँदैन । पहिलाको भौतिक उपस्थितिमा गरिने प्रचार भएन कि भन्ने लाग्नु स्वाभाविक नै हो ।

हामीले केही अनलाइनमा विज्ञापन गर्‍यौँ । फेसबुक इत्यादिमा बुस्ट गरेका छैनौँ । सामाजिक सञ्जालमा स्वतःस्फूर्त रूपमा लाखौँ व्यक्तिहरूको बीचमा एमालेको प्रचार यो आठ-दश दिनमा व्यापक नै गइरहेको छ ।

मतदाताहरूले कसरी मत हाल्ने ? आफ्नो नम्बर कहाँ छ ? लिस्ट पाएको छ कि छैन घरमा ? अब तीन-चार दिन बाँकी छ ।  सबै मतदातालाई  भोटहरू सदर हुनेगरी बुझाउन हाम्रो कमिटीहरूलाई निर्देशन दिएका छौँ ।

पार्टी कमिटीहरू कसरी परिचालित भइरहेका छन् ?

पहिले सात सूर्य सात छाप भन्ने लयमा चारवटा मतपत्र हुने भएकाले चार सूर्य चार छाप भनेका छौं‌ । एउटै मतपत्रमा चारवटा सूर्य खोज्नुभयो र चारवटा छाप लगाइदिनुभयो भने बदर हुनसक्ने खतरा छ ।

यसमा भर्खर हामीले हाम्रो साथीहरूलाई सचेत गराउन खोजिरहेका छौँ । प्राविधिक खालका पक्षहरू र त्यसमा ध्यान दिनुपर्ने विषयमा हामीले भर्खर निर्देशित गरिरहेका छौँ । यो चुनावमा अर्को एउटा पनि निर्देश गर्नुपर्छ, भर्खर कानुन आएको छ ।

समानुपातिकबाट उम्मेदवार बनाइएका व्यक्तिहरूको मतगणना प्रतिनिधि कसले छान्ने ? भन्ने कुरो नै धेरै स्पष्ट भएको छैन । त्यो कानून पढ्नुभएको छैन मान्छेहरूले । हामीले आफ्नो पार्टीबाट आफ्नो पार्टी कमिटीमा सूचना पठाउँदै छौँ ।

हामीले मतदातालाई सचेत बनाउने र त्यसमा निर्वाचनको माहोल नयाँ ढंगले लैजाने काम अझ गर्न बाँकी नै छ । यसका लागि पार्टी कमिटीहरू परिचालित भइरहेका छन् ।

राज्यकोषको प्रयोग-दुरुपयोगको विषयमा एमालेले चासो दिएको छ कि छैन ? कत्तिको चनाखो छ ?

हामी के कुरामा सचेत छौँ र हाम्रो पार्टी समर्थकलाई मात्रै होइन आम मतदातालाई के भनिरहेका छौँ भने अहिले गठबन्धन सबैखालको हतकण्डा प्रयोग गर्न पनि उद्यत रहनसक्छ । यसमा सतर्क रहनुस् भनेका छौँ । राज्यको  स्रोत, साधनको दुरुपयोग गर्नुहुँदैन । सत्तामा रहने बढी सतर्क हुनुपर्छ ।

कि कानुन, आचारसंहिता नै बनाउनु हुँदैन । बनेको आचारसंहितालाई प्रभावकारी ढंगले पालना गर्नुपर्छ । तर, अहिले यतिखेर क्रमशः मिच्दै जाने उहाँहरूलाई बानी परेको छ । ७२ घण्टा रहेको मौन अवधिमा मनलाग्दी गर्ने ।

किनभने, अरूलाई बाहिर निस्किन पाइँदैन भनेर बन्द गरिदिने । आफूचाहिँ प्रहरीको गाडी चढेर सुरक्षा निकायहरूलाई दुरुपयोग गर्दै घर-घरमा मतलाई प्रभावित गर्ने क्रियाकलाप गर्ने तहमा स्थानीय तहको चुनावमा पनि गर्नुभयो ।

फेरि त्यो गर्नुहोला भन्ने हामीलाई लागिरहेको छ । त्यसको लागि हामीले हाम्रो मतदाताहरूलाई सचेत गराइरहेका छौँ । यसमा हाम्रो ध्यान गएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved