कक्षा १२ को परीक्षा अझै अन्योल

राष्ट्रिय परीक्षा बोर्डले पछिल्लो पटक गत ३१ साउनदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक पनि गरिसकेको थियो। तर बढ्दो कोरोना संक्रमणका कारण परीक्षा हुने/नहुने अझै अन्योल छ।

कक्षा १२ को परीक्षा अझै अन्योल

काठमाडौं। सञ्चालनको एक साताअघि स्थगित गरिएको कक्षा १२ को परीक्षा कहिले हुने भन्ने अझै टुंगो छैन।

राष्ट्रिय परीक्षा बोर्डले पछिल्लो पटक गत ३१ साउनदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक पनि गरिसकेको थियो। तर बढ्दो कोरोना संक्रमणका कारण परीक्षा हुने/नहुने अझै अन्योल छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार परीक्षा कहिले गर्ने भन्ने छलफलकै चरणमा छ।

“हाल स्वास्थ्य मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग परामर्शमा छौं, यी दुई निकायको परामर्शअनुसार १५ दिनको समय दिएर परीक्षा तालिका सार्वजनिक गर्ने योजना छ,” उनले नेपालभ्यूजसँग भने।

संसदीय समितिले खोप व्यवस्थापन गरेर भौतिक उपस्थितिमा होमसेन्टरमा परीक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ। जसअनुसार हाल प्रवेशपत्रका आधारमा परीक्षामा सहभागी हुने १८ वर्ष र सोभन्दा माथि उमेर भएका ७७ वटै जिल्लाका सबै विद्यार्थीलाई कोभिड १९ विरुद्ध खोप लगाउने व्यवस्था गरिएको छ।

१८ वर्ष मुनिका विद्यार्थीको संख्या कम छ, उनीहरू परीक्षामा सहभागी हुदाँ भौतिक दूरी कायम गर्नुको विकल्प नरहेको उनले बताए।

“यसरी पटक पटक स्थगित हुँदा विद्यार्थीको मानसिक स्वास्थ्यमा असर पर्छ। साथै उनीहरूका लागि विश्वविद्यालय जाने ढोका खुल्दैन,” सचिव थपलियाले भने, “परीक्षा ढिला हुँदा समग्र विश्वविद्यालय जानेहरूलाई असर गर्छ, त्यसैले छिट्टै तालिका सार्वजानिक गर्ने प्रयत्नमा छौं।”

तर विद्यार्थीहरू खोप लगाउने व्यवस्थामा सहभागी नभएका र खोप लगाउन अपिल गरिएको उनले बताए। त्यसैले परीक्षाको १५ दिनअघि सूचना निकाल्ने योजनामा मन्त्रालय रहेको उनले बताए।

१५ दिनअघि सूचना प्रकाशित गर्दा पछिको अवस्थाबारे विश्लेषण गरिनुपर्ने थपलियाले बताए। मन्त्रालयले दशैंअघि परीक्षा लिने योजना बनाएको र त्यसमा स्वास्थ्य मन्त्रालय र सीसीएमसीको सहमति हुने उनले विश्वास दिलाए।

कक्षा १२ को परीक्षा हालसम्म दुई पटक स्थगित भइसकेको छ।

राष्ट्रिय परीक्षा बोर्डको नियमित तालिकाअनुसार गत २६ जेठदेखि हुनुपर्ने परीक्षा कोभिडको दोस्रो लहरका कारण देशका विभिन्न स्थानमा लकडाउनमा भएपछि स्थगन गरिएको हो।

परीक्षाका लागि बोर्डले ४ हजार ३ सय १५ विद्यायलयमा परीक्षा केन्द्र (होमसेन्टर) तोकेको थियो तर सीसीएमसीले परीक्षा सञ्चालनमा पुनर्विचार गर्नु भनेपछि राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved