उपनिर्वाचन वैशाख १५

एमाले उम्मेदवार मैदान उत्रिँदा कांग्र‍ेस-माओवादी अन्योलमै, रास्वपा ‘प्राईमरी इलेक्सन’कै चक्करमा

एमालेले उपनिर्वाचन हुने दुवै क्षेत्रका लागि उम्मेदवार टुङ्गो लगाइसकेको छ भने अरू दल छलफलमै छन् । एमाले उम्मेदवार लिएर भोट माग्न गइसक्दा अरू दलहरू सम्भावित उम्मेदवारहरूको चर्चामै सीमित छन् ।

नेपालभ्युज

एमाले उम्मेदवार मैदान उत्रिँदा कांग्र‍ेस-माओवादी अन्योलमै, रास्वपा ‘प्राईमरी इलेक्सन’कै चक्करमा

काठमाडौं । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनको तयारीमा दलहरू जुटेका छन् । निर्वाचन आयोगले २४ चैतमा उम्मेदवारी दर्ताको समय तय गरेपछि उम्मेदवार चयनको रस्साकस्सीमा दलहरू छन् ।

नेकपा (एमाले) ले उपनिर्वाचन हुने दुवै क्षेत्रका लागि उम्मेदवार टुङ्गो लगाइसकेको छ भने अरू दल छलफलमै छन् । एमाले उम्मेदवार लिएर भोट माग्न मैदानमा उत्रिसक्दा अरू दलहरू भने सम्भावित उम्मेदवारहरूको चर्चामै सीमित छन् ।

संविधानसभा अध्यक्षसमेत रहेका पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । त्यसपछि रिक्त इलाम २ मा एमालेले उम्मेदवार बनाएका सुहाङ नेम्वाङ (Suhang nembang), सुवासचन्द्रकै कान्छा छोरा हुन् ।

आइतबार बसेको एमाले सचिवालय बैठकले इलाम २ मा प्रतिनिधिसभा सदस्यका लागि सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत ५ असारमा सवारी दुर्घटनामा परेर निधन भएको थियो । त्यहाँ एमालेले उम्मेदवार बनाएका भण्डारी, पार्टीको बझाङ जिल्ला अध्यक्ष हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उम्मेदवार छानिसकेको छैन । कांग्रेसको सम्बन्धित पार्टी समितिले इलाम २ र बझाङ १ का लागि उम्मेदवारहरूको सिफारिस गरिसकेको छ । क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले ६ जनाको नाम सिफारिस गरेको छ ।

जसमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ छन् ।

आचार्य २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । खड्का ४ मंसिर २०७९ को आमचुनावमा नेम्वाङसँगै पराजित भएका थिए । ती नाम प्रदेश हुँदै केन्द्रमा आएपछि छलफल गरी उम्मेदवारी तय हुनेछ ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अरूभन्दा भिन्न ढङ्गबाट उम्मेदवार तय गर्ने भनेको छ । ‘प्राईमरी इलेक्सन’गर्ने तयारी गरेको रास्वपाले जनाएको छ । सत्तारूढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) पनि आफ्नै उम्मेदवार उठाउने कि नउठाउनेमा अन्योलमै छ ।

रास्वपाले प्रदेशको उपचुनावमा भाग नलिने निर्णय गरेको छ । यसअघि चुनावमा पनि रास्वपा प्रदेशमा थिएन । निर्वाचन आयोगले उपचुनावको मिति तय गरेसँगै रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम २ मा चुनावी कमान्डर बनाएको छ ।

उनीसँगै मत सर्वेक्षण गर्न ६ जना सांसद पनि गएका थिए । अहिले रास्वपा‘प्राईमरी इलेक्सन’कै चक्करमा छ ।

उपनिर्वाचन वैशाख १५ : माओवादी र जसपालाई लागेन उपनिर्वाचन

अधिकांश राजनीतिक दलहरू उपनिर्वाचनमा केन्द्रित हुँदा केन्द्र सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र भने मौन छ । आफ्नै उम्मेदवार उठाउने कि नउठाउने भन्नेबारे अन्योल छ । अन्य दलहरूसँगको संवादका आधारमा उम्मेदवारबारे पार्टीले निर्णय लिने माओवादी केन्द्रका महासचिव देव गुरुङ बताउँछन् ।

निर्वाचन आयोगले यही चैत २४ गते उम्मेदवारी दर्ताको समय तय गरेको छ । त्यस दिनसम्म एउटा निर्णयमा पुग्ने नेताहरूको दाबी छ । १६ फागुनदेखि बसेको कांग्रेसको महासमिति बैठकले निर्वाचनमा एक्लै चुनाव लड्ने निर्णय गरेको थियो ।

त्यसबेला तत्कालीन सत्ता गठबन्धनमा रहेको माओवादी र कांगेसबीच मतभेद बढेको थियो । त्यसपछि फागुन २१ गते माओवादीले एमालेसहितका पार्टीहरूसँग नयाँ समीकरण बनाएपछि इलाम २ को निर्वाचनबारे मौनता साँधेको छ ।

एमालेलाई जीत जोगाउने चुनौती

४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा चुनावमा इलाम २ मा तत्कालीन सत्ता गठबन्धनलाई हराउँदै एमालेले जीत हात परेको थियो । नेपाली कांग्रेसका डम्बरबहादुर खड्का र एमालेका सुवास नेम्वाङबीच मुख्य प्रतिस्पर्धा भएको थियो ।

नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । तत्कालीन सत्ता गठबन्धनबाट खड्का साझा उम्मेदवार कांग्रेसका खड्काले २९ हजार ९ सय ६ मत ल्याएर पराजित भएका थिए ।
रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए । मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले एक हजार तीन सय ६३ मत ल्याएका थिए । राप्रपाका गणेशबहादुर दुलालले ५१० मत ल्याएका थिए ।

समानुपातिकतर्फ इलाम २ मा एमालेले २६ हजार ५ सय ६२ मत ल्याउँदा कांग्रेसले २२ हजार ३ सय ३३ मत ल्याएको थियो । माओवादीले ५ हजार एक सय ५३ ल्याउँदा रास्वपाले ४ हजार ६ सय ८६ मत ल्याएको थियो ।

मंगोल नेशनल अर्गनाइजेसनले १ हजार ६ सय ६१, राप्रपाले १ हजार १ सय ९१, जसपाले ९०६, एकीकृत समाजवादीले ५८६ मत ल्याएका थिए । २६ भदौ २०८० मा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको निधन भएपछि सो क्षेत्र रिक्त भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved