उपनिर्वाचन वैशाख १५

माओवादी र जसपालाई लागेन उपनिर्वाचन

नेपालभ्युज

माओवादी र जसपालाई लागेन उपनिर्वाचन

काठमाडौं । सत्ता गठबन्धनसम्बद्ध अरु दलहरू उपनिर्वाचनको आक्रामक तयारीमा जुट्दा गठबन्धनमै रहेका नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) लाई भने निर्वाचन लागेको छैन ।

गठबन्धनमा रहेका नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) तयारीमा जुट्दा माओवादी र जसपामा भने चुनावकेन्द्रित छलफल भएकै छैन ।

एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइसकेको छ । जो, यसअघि सोही क्षेत्रबाट निर्वाचित पार्टीका उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङका छोरा हुन् । यस्तै रास्वपाले आउँदो चैत १६ गते उम्मेदवार टुङ्ग्याउँदैछ । चुनावी कमाण्डरको जिम्मेवारी पाएका पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेकै उपस्थितिमा १६ गते उम्मेदवारी घोषणा हुँदैछ । उम्मेदवार को हुन् भन्नेबारे भने उनले बताएनन् ।

यस्तै एकीकृत समाजवादीभित्र भने छलफल भइरहेको छ । पार्टीले आफ्नै उम्मेदवार उठाउने उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

तर, माओवादी र जसपाभित्र भने छलफल नै प्रारम्भ भएको छैन । माओवादीभित्र उपनिर्वाचनलाई लिएर छलफल नभएको सचिव गणेश साह बताउँछन् । “खासमा चुनावकेन्द्रित छलफलहरू भएका छैनन् । केन्द्रले पनि उम्मेदवार मागेको छैन,” उनी भन्छन् ।

तर, प्रदेश समितिले भने आफ्नै तरिकाले तयारी गरिरहेको उनको भनाइ छ । पार्टीले केन्द्रमा संयोजनकारी भूमिका खेलिरहेको उल्लेख गर्दै उनी उम्मेदवारका सन्दर्भमा पनि गठबन्धनमा छलफल गर्ने र मात्रै थप निर्णय लिने बताउँछन् ।

यस्तै जसपाभित्र पनि अनौपचारिकरूपमा मात्रै छलफलहरू नभएको प्रवक्ता मनीष सुमन बताउँछन् । “उम्मेदवारका बारेमा पार्टीभित्र औपचारिक छलफल हुन बाँकी नै छ,” प्रवक्ता सुमनले भने ।

अझै समय बाँकी रहेको उल्लेख गर्दै उनले चाँडै छलफल प्रारम्भ हुने र निर्णय लिइने बताए । “पर्सिसम्ममा पार्टीले यसबारे निर्णय लिन्छ,” उनले भने ।

त्यसो त इलाम २ माओवादी र जसपाका लागि ‘चुनावी-उर्वर’ क्षेत्र होइन । उक्त क्षेत्रलाई एमालेको गढ मानिन्छ भने दोस्रो हालको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस हो । गत निर्वाचनमा निर्वाचित एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत पाएर जित्दा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्का २२ हजार ३३३ मा सीमित भएका थिए ।

गत संसदीय निर्वाचनमा माओवादीले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई समर्थन गरेको थियो भने जसपाका उम्मेदवार यामप्रसाद लिम्बूले ७२४ मत ल्याएका थिए ।

माओवादीले समानुपातिकतर्फ भने ५ हजार १५३ मत पाएको थियो भने जसपाले ९०६ मत पाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved