अबिच्युअरी

स्वर्गमा प्रभुलाई भेटेर भक्तराजले सोध्नेछन्, ‘कसरी शान्ति मिल्छ’ !

आर्यघाटमा भक्तराजको भौतिक शरीर धुवाँ बनेर उडिरहँदासम्म पृष्ठभूमिमा सानो आवाजमा उनैले गायको भजन बजिरहेको थियो, ‘कस्तो कस्तो कर्म गरेपछि प्रभुको दर्शन मुक्ति मिल्छ ?’

स्वर्गमा प्रभुलाई भेटेर भक्तराजले सोध्नेछन्, ‘कसरी शान्ति मिल्छ’ !

मुटु जलिरहेछ, यो मन गलिरहेछ
तिम्रो याद आइदिँदा आँसु त्यसै बगेछ….।’

यी शब्दहरू लयबद्धरूपमा गुन्जिँदै थियो । भजन शिरोमणि भक्तराज आचार्यको पार्थिव शरिर अघि उभिएर दर्जनौँ स्रष्टा उनैको सृजनामा ताल र सुर मिलाइरहेका थिए ।

सधैं थोरैमात्र भए पनि लय र सुर बिग्रदाँ गाली गर्ने  भक्तराजले यहाँ भने कुनै प्रतिक्रिया जनाएनन् । उनी लमतन्न सुतिरहे । स्थान थियो, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको प्राङ्गण ।

मंगलबार दिउँसो भजन शिरोमणि भक्तराज आचार्यलाई श्रद्धाञ्जली अर्पण गर्दै थिए, सङ्गीतकर्मीहरू तथा सभेक्षकुहरू ।

सांगितीक क्षेत्रका हस्तीहरूको समेत बाक्लो उपस्थिति रहेको श्रद्धाञ्‍जली अर्पण स्थलमा सयौँ संगीतप्रेमी पनि उपस्थित थिए ।

वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराजको शव प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा कफनमाथी लमतन्न थियो ।

सेतो कपडामा बेरिएको उनको शरिर फूलमाला र अबिरले छोपिएको थियो । नयाँ पुस्ताले उनैको सृजनामा  संगीत र स्वर भरिरहँदा उनका हात न संगीत निर्देशनमा हल्लिएका थिए न त स्वर उडान र अवतरणमा तलमाथि नै गर्दै थिए ।

यसअघि कुनै कलाकारले गाउँदा गीतका शब्दशब्दमा डुबेर गाउन लगाउने उनी यो पटक भने नतमस्तक झै थिए ।

सङ्गीतको हरेक व्याकरण मिलाएर गाउन सिकाउँथे । तर, मंगलबार दिउँसो उनको अघि दर्जनौँ कलाकारले लाइभ गीत गाउँदा भक्तराज भने न सुन्न सक्थे, न देख्न नै । उनी अर्कै संसारमा गइसकेका थिए ।

उनको पार्थिव शरिरअघि ‘श्रद्धाञ्‍जली’लेखेर राखिएको फोटोले मात्र त्यहाँको माहौल नियालिरहेको थियो । उनको युवावस्थामै खिचिएको ब्ल्याक एन्ड ह्वाइट फोटो राखिएको ब्यानर त्यहाँ उपस्थित अधिकांशको हातमा देख्न सकिन्थ्यो ।

मुसुक्क मुस्कुराएको त्यो फोटो हेर्दा लाग्थ्यो, उनले तत्काल गीतमा प्रतिक्रिया जनाउँछन् । तर, उनको शरीर भने हिजै ढलिसकेको थियो ।

ब्यानर अगाडिको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन पुग्नेहरू शोकमग्न मुद्रामा थिए, भक्तराजले गाएको गीतको हरफ जस्तै– ..‘तिम्रो याद आइदिँदा आँसु त्यसै बगेछ….।’

भक्तराजको निधनमा हार्दिक श्रद्धाञ्जली तथा आत्माको चिर शान्तिको प्रार्थना गर्न पुगेकाहरू आँसु बगाउँदै थिए, गीत जसैगरी । लयमा लय मिलाउँदै सबैको आवाज गुन्जिरहेको थियो ।

गीतले जुन भाव पोख्छ, जुन पीडाको कथा सुनाउँछ, त्यो भाव अनायासै प्रकट भइरहेको थियो, आँखाबाट आँसु खसेर ।

आफ्नो लौकिक यात्रा अघिल्लो दिन मध्यदिनमा बिसाएर परलोक महाप्रस्थान गरेका भक्तराजप्रति सिङ्गो राष्ट्र तथा नेपाली समाजले अपार श्रद्धा र कृतज्ञता जनाउँदै थिए ।

‘संसार मर्ने चोला हो सबै मर्दछन् । भक्तराज पनि मरेर गए । अब के गर्ने बाँच्नेले उनले दिएका कुरामा भुलेर जीवन बिताउने हो’ स्तब्ध शुभेच्छुकहरू भन्दै थिए । साँझ पशुपति आर्यघाटमा उनको शव पञ्चतत्त्वमा विलीन हुनुअघिको दृश्य थियो त्यो ।

हजार सपनाबीच अस्ताए भक्तराज, यसरी भएका थिए स्वरविहीन

आमा बित्दा पनि गीत गाइरहेका थिए भक्तराज

२०४५ सालमा भारतको सिलिगुडीमा भक्तराजको साङ्गीतिक साँझ थियो, नारायण गोपालसँग । नारायणगोपाल र भक्तराज असाध्यै मिल्ने साथी थिए । त्यो बेला आफ्नो साङ्गीतिक यात्राको उचाइमा थिए, भक्तराज । तत्कालीन उम्दा गायकहरू भक्तराज र स्वर सम्राट् नारायण गोपालको युगल साँझ थियो त्यो ।

भारतका धेरै टाढा टाढाबाट सङ्गीतप्रेमी त्यहाँ आएका थिए । पूर्वी नेपालबाट पनि धेरै मानिसहरू पुगेका थिए । उनीहरूको क्रेज कति थियो, त्यो भीडले देखाउँथ्यो । पूरा कार्यक्रमभर भक्तराज र नारायण गोपालले बाह्रबाह्र वटा गीत गाए । कार्यक्रमको अन्ततिर आइपुग्दा नारायण गोपालले गीत गाइसकेका थिए । भक्तराजले २ गीत गाउन बाँकी थियो ।

भक्तराज आचार्य अन्तिमबाट दोस्रो गीत गाउँदै थिए । नारायण गोपालको कानमा कसैले खुसुस्सक खबर दिए, ‘भक्तराजको आमाको निधन भयो । तत्काल उहाँलाई पठाउनुपर्‍यो ।’

खबर सुनेर नारायण गोपाल स्तब्ध भए । यो खबर मञ्चमा बसेका अरूले पनि थाहा पाए । मञ्चमा उभिएर गीत गाइरहेका भक्तराज भने आफ्नै धुनमा थिए । आमाको दुखद् खबर उनलाई थाहा थिएन ।

उनले गाउँदै गरेको गीत सकियो । गडगडाहट ताली बज्यो । उनले अब अन्तिम गीत पनि गाए । गीत सकियो । फेरि गडगडाहट ताली गुन्जयमान भयो । भक्तराजको गीतमा कतिपयले आँसु रोक्न सकेनन् ।

गीत सुनेर निकै भावुक भएकाहरूको आँखाबाट आँसु झर्‍यो । मन जित्ने गीत गाएका भक्तराजलाई धेरै संगीतप्रेमीले अँगालो मारे । दर्शक दीर्घाबाट धेरै धेरै बधाई पाए । सम्मान अपर्ण गरियो । अनि बल्ल भक्तराजलाई आमा बितेको खबर दिइयो ।

भक्तराजको पार्थिव शरिर अघि उनकै गीत गाएर अन्तिम श्रद्धाञ्जलि दिनुअघि सङ्गीतकर्मी टीका भण्डारीले यी प्रसङ्गको स्मरण गरे । उनले भने, ‘‘नारायण गोपालको त्यो नै पहिलो र अन्तिम ‘सङ्गीत साँझ’ थियो । त्यो बेलामा भक्तराजले गीत गाइसकेपछि मात्र आमा बितेको खबर उहाँलाई सुनाइयो ।’’

भक्तराजको बाल्यकालदेखिको सङ्घर्ष र व्यावसायिक रूपमा गीत गाउँदाको १५ वर्षको साधनाले उनलाई भजन शिरोमणि बनाएको भण्डारीले थपे ।

भजन शिरोमणि आचार्यको अन्तिम बिदाइ तस्वीरमा

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकै प्राङ्गणमा श्रद्धाञ्जली अर्पण गर्दा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीले भक्तराजको योगदान स्मरण गरे ।

२०५० मा क्यान्सर भएर उनको जिब्रो काटिएको पीडादायी घटनाको समेत स्मरण गरे । जुन घटनापछि भक्तराज स्वरविहीन भनेका थिए ।

घटनाको साक्षी रहेका अधिकारीले सुनाए, ‘‘भगवानले उहाँको भजन यति धेरै सुनेछन् कि, अब धेरै भयो तैँले नगा भनेर जिब्रो काटिदिए । निर्दोष भक्तराजले ठुलो सजाय पाउनुभयो । उहाँको सक्रिय जीवनमा पूर्णविराम लाग्यो ।’’

गीत–सङ्गीत क्षेत्रको एउटा धरोहर ढलेको र उनको अभाव सधैँ खड्किरहने गायक यम बरालले स्मरण गरे ।

‘‘नेपाली सुगम सङ्गीतमा उनको महत्त्वपूर्ण योगदान रहेको उहाँको निधनले सङ्गीत क्षेत्रको एउटा धरोहर ढलेको छ । हाम्रो पुस्ता र मेरो समकालीन स्रष्टाहरू भक्तराज आचार्यहरूबाटै प्रभावित भएर यहाँसम्म आएको हो । हामीलाई पनि उहाँको गायन तथा सङ्गीतबाट उत्प्रेरणा र दिशानिर्देश गरेको हो ’’ बरालले स्मरण गरे

प्रभूसँग भेटेरै सोध्लान्-‘कसरी शान्ति मिल्छ ?’

भक्तराजको भौतिक शरीर नभए पनि नेपाली साङ्गीतिक क्षेत्रमा उनी विस्मृत हुने छैनन्, झन्झन् स्मरणीय बन्नेछन् । आफ्नो जीवनकालमा जति सम्मानित थिए उनी भोलिको समयमा पनि उत्तिकै रहनेछन् ।

‘मुटु जलिरहेछ…’, ‘जति चोट दिन्छौ…’, ‘जहाँ छन् बुद्धका आँखा…’, ‘हजार सपनाहरूको माया लागेर आउँछ…’, ‘माया मेरी साँझ बिहान…’, ‘हजार आँखा हेर्ने…’, ‘एक दिन मैले प्रभूसँग सोधे…’ लगायत दर्जनौँ लोकप्रिय गीत तथा भजनहरूले सङ्गीत पारखीको मनमनमा उसै गरी झंकार दिइरहने छ ।

चारसय जति गीतमा सुसज्जित उनको रेशमी स्वरलहरीले उनको अविराम स्मृति गराइरहनेछन् । यो कालजयी आवाज सुनेर दर्शक स्रोता धन्य भइरहने छन्  ।

पशुपति आर्यघाटमा भक्तराजको भौतिक शरीर धुवाँ बनेर उडिरहँदासम्म पृष्ठभूमिमा सानो आवाजमा उनैले गायको भजन बजिरहेको थियो, ‘कस्तो कस्तो कर्म गरेपछि प्रभुको दर्शन मुक्ति मिल्छ ?’

यदि स्वर्ग छ भने उनले प्रभुसँग भेटेरै सोध्नेछन्, ‘कसरी शान्ति मिल्छ ?’

तिम्रो याद आइदिँदा आँसु त्यसै बगेछ…


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved