दुई महिनादेखि बिजनेशविहीन मधेस प्रदेश सभा, बैठक अझै अनिश्चित

सभामुख रामचन्द्र मण्डलले सरकारले बिजनेस नदिँदा प्रदेश सभा बैठक बस्न नसकेको बताए। उनले भने, ‘सरकारले बिजनेस नै दिन नसक्दा प्रदेश सभा बैठक बस्न सकेको छैन ।

दुई महिनादेखि बिजनेशविहीन मधेस प्रदेश सभा, बैठक अझै अनिश्चित

जनपकुरधाम । मधेस प्रदेश सभा बैठक पछिल्लो दुई महिनादेखि बस्न सकेको छैन । गत मंसिर २० गते दोस्रो अधिवेशनको एघारौं बैठक बसेर स्थगित भएको प्रदेश सभा सोपछि अहिलेसम्म बसेको छैन । अझै कहिले बैठक बस्छ भन्ने निश्चित नभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

२०७९ साल पुस १५ गते प्रदेश सभाका दोस्रो कार्यकालका लागि चुनिएका प्रदेश सांसदले शपथ लिएयता पहिलो अधिवेशनको ३६ वटा र दोस्रो अधिवेशनको ११ वटा बैठक बसेका छन् ।

सभामुख रामचन्द्र मण्डलले सरकारले बिजनेस नदिँदा प्रदेश सभा बैठक बस्न नसकेको बताए। उनले भने, ‘सरकारले बिजनेस नै दिन नसक्दा प्रदेश सभा बैठक बस्न सकेको छैन । अब प्रदेश सभामा समितिहरुमै छलफलमा रहेको विधेयकहरुमाथि विमर्श गरेर प्रदेश सभा बैठक आह्वान गर्छौं ।’

प्रदेश सभामा अहिलेसम्म ९ वटा विधेयक पेस भएका छन् । जसमध्ये मधेश प्रदेशको केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९, आर्थिक विधेयक २०८०, र मधेश प्रदेश विनियोजन विधेयक २०८० मात्र पारित हुन सकेको छ । जबकि आर्थिक र विनियोजन विधेयक गणना गर्ने चलन छैन ।

प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, प्रदेश बाल अधिकार ऐन २०७९ को पहिलो संशोधन, मधेश प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, प्रदेश कृषि विकास विधेयक २०८० र स्थानीय सेवाको गठन, संचालन र सेवा सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० संसदीय समितिहरुमा छलफलको क्रममा रहेकमो सभामुख मण्डलले बताए ।

सभामुख मण्डलले संसदीय समिति पनि ढिलाइ गरी पूर्णता पाउँदा विधेयक छलफल भएर पास हुन नसकेको बताए । प्रदेश सभाका सातवटै संसदीय समितिले कात्तिक १४ गतेमात्रै पूर्णता पाएको थियो ।

मुख्यमन्त्री सरोज यादवलाई जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि अब विश्वासको मत लिनु पर्ने अवस्था रहेको छ । गत माघ ९ गते जनमतका दुई मन्त्रीले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिंदै राजीनामा दिएका थिए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले प्रदेश सभा संचालनका लागि सरकारलाई बिजनेस दिन दबाब दिने गरेको बताए ।

मधेश सरकारका प्रवक्तासमेत रहेका गृह सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले बिजनेसका लागि प्रदेश सभामा विभिन्न विधेयकहरु बाँकी नै रहेको बताउँदै अब मुख्यमन्त्रीले विश्वासको मत लिएपछि निरन्तर प्रदेश सभा बैठक चल्ने दाबी गरे । प्रदेश सभामा विधेयक बाँकी छ । टेबुल भएकै छ,’ मन्त्री समिमले भने, ‘केही विधेयकहरु प्रदेश सभामा पेस गर्न तयार पारेर पनि राखिएको छ ।’

अब बस्ने प्रदेश सभा बैठकमा संसदीय समितिमा छलफलको क्रममा रहेको विधेयकहरु पास हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved