नेपाल-चीन मैत्रीपूर्ण फुटबल

गुणस्तरीय फुटबल प्रदर्शन गर्नेछौं : प्रशिक्षक भिन्सेन्जो

चीनका प्रशिक्षक भन्छन्- नेपालको टोली बलियो रहेको सुनेको छु

नेपालभ्युज

गुणस्तरीय फुटबल प्रदर्शन गर्नेछौं : प्रशिक्षक भिन्सेन्जो

काठमाडौं। चिनियाँ नयाँ वर्षको अवसरमा चीनको युवा टोली र नेपालको युवा टोलीबीच शनिबार मैत्रीपूर्ण फुटबलमा प्रतिस्पर्धा हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आयोजित प्रि-म्याच कन्फरेन्सनमा नेपाल र चीनको टोलीले आफ्नो तयारीबारे जानकारी गराएका हुन्।

नेपालको राष्ट्रिय युवा टोलीका कप्तान मनिष डांगीले टोलीको राम्रो तयारी भएको जानकारी गराए। मनिषले भने, ‘तालिम राम्रो भएको छ। प्रशिक्षकको नै योजनामा अघि बढेका छौँ। खेल राम्रो हुने सोच छ। कप्तानको रुपमा भन्दा पनि सबै मिलेर जितको लागि खेल्नेछौँ।’

युवा टोलीको प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले टोलीले गुणस्तरीय खेल प्रस्तुत गर्नेमा आशावादी रह‍ेको बताए। ‘पोखरामा भएको इन्टेन्स ८ दिने तालिमले उत्साहित भएका छौँ। टोली युवा तथा उर्जावान खेलाडीहरु छन्। जसले शनिबार गुणस्तरीय फुटबल प्रस्तुत गर्नेछन्।’, प्रशिक्षक भिन्सेन्जोले बताए।

उनले उमेर समूहका खेलाडीले धेरै अवसर नपाउने भन्दैँ यो अवसरको भरपूर सदुपयोग गर्ने बताए।

‘उमेर समूहका खेलाडीहरुले धेरै अवसर पाउँदैनन्। यो निकै ठुलो अवसर पनि हो। सबै उमेरसमूहका खेलाडीहरुलाई ‘रिपे’ गर्ने राम्रो अवसर हो, ’प्रशिक्षक एनिसले भने, ‘टोलीमा साफ यू–१९ खेलेका अत्याधिक खेलाडीहरु छन्। यस्तै यू–२२ का खेलाडीहरु पनि छन्। कति नयाँ खेलाडी भए पनि राष्ट्रिय टोलीमा पुग्न सक्ने सम्भावना बोकेका खेलाडीहरु छन्। सम्भवत भोलि राम्रो फुटबल देख्नु हुनेछ।’

उनले युवा टोलीमा नेपालको भविष्य देखेको बताए। उनले भने, ‘नयाँ टोली छ नयाँ उर्जा पनि । मैले पक्कै पनि यो टोलीमा भविष्य देखेको छु। टोलीमा सिनियर खेलाडी पनि छन्। भोलिको खेलको लागि उत्साहित छु।’

यस्तै, उनले फुटबलरहरु मात्र नभई सबै पेशाको जनशक्ति नै विदेश पलायन हुन खोज्नु दुःखद भएको बताए। प्रशिक्षक एनिसले भने, ‘गत हप्ता मात्र ४ राष्ट्रिय खेलाडी विदेश गए। फुटबलरमात्र नभई हरेक पेशाका जनशक्ति देश छोडिरहेका छन्। यो निकै नराम्रो हो। यो राज्यको नै समस्या हो। राज्यले सोच्नु पर्ने विषय हो।’

उनले आफ्नो नेपालसँगको प्रशिक्षण काललाई सम्झिँदै भने, ‘मेरो कार्यकाल झन्डै एक वर्ष पुग्दैँ छ। यो दौरान क्षमतावान २४ राष्ट्रिय खेलाडी विदेश गइसकेका छन्। भविष्यको लागि दुःखद कुरा हो। एउटा गए अर्को आउँछ। तर, हामीसँग ट्यालेन्ट छ। नेपालमा ट्यालेन्ट भरिपूर्ण छ।’

प्रशिक्षक एनिसले एसियाको टोलीहरुलाई आफुले नजिकबाट अध्ययन गरिरहेको बताए। उनले भने, ‘एसियाका टोलीहरुलाई, अझ भारतलाई हेर्ने हो भने पनि अहिलेको टोली विगत ६ वर्षदेखि सँगै खेलिरहेका छन्। त्यहि भएर नतिजा पनि आईरहेको छ। यदि मैलै पनि ४ वर्षको लागि राष्ट्रिय टोलीको प्रशिक्षक भए भने टोलीको मुहार फेरिनेछ। हामीले बलियो प्रतिस्पर्धीको रुपमा प्रस्तुत हुने छौँ।’

को हुन् राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक एनेस

यस्तै, चीनका प्रशिक्षक बडेंग चेगलिनले भने, ‘लगभग एक महिनाको तयारी गरेका छौँ। यसरी सांस्कृतिक आदनप्रदानको खेलमा नेपाली खेलाडीसँग घुलमिल हुनु पाउँदा, सिक्न पाउँदा निकै खुसी लागेको छ। नेपाली टोली निकै बलियो भएको सुनेका छौँ। यसले भोलिको खेललाई रोमाञ्चक बनाउने आशा राखेका छौँ।

चीनको टोलीको दोर्जी ड्यान्झाउ कप्तान रहेका छन्। चीनको युवा टोलीका सबै खेलाडीले घरेलु खेलमा प्रतिस्पर्धा गरे पनि पहिलो पटक अन्तर्राष्ट्रियस्तरमा खेल्न लागेको प्रशिक्षक चेगालिनले बताए। अधिकतम खेलाडीहरु छिङ्हाइ प्रान्तको युशु भन्ने सानो गाँउका रहेको प्रशिक्षकले बताए।

चीनका टिम लिडरले आङ्वान छाइरनले चीन–नेपाल मैत्रीपूर्ण खेलको लागि निमन्त्रणा गर्नु भएकोमा धन्यवाद दिए। उनले भने, ‘खेलको लागि हामीले १६ खेलाडी लिएर आएका छौं। टोलीमा छिङ्हाइ प्रान्तबाट छानिएका उत्कृष्ट खेलाडीहरु छन्। औसत उमेर २२ वर्ष रहेको छ।

विभिन्न राष्ट्रियस्तरका प्रतियोगिताहरुमा उल्लेख्य नतिजा हासिल गर्दै छानिएका खेलाडीहरुलाई समावेश गर्दै टोली तयार पारिएको हो। सबै खेलाडीहरुले पहिलो पटक आफ्नो राष्ट्रबाट बाहिर आएर सांस्कृतिक आदनप्रदानमूलक खेलमा प्रतिस्पर्धा गर्दैँछन्।

यसले दुवै राष्ट्रबीचको दुईपक्षीय सम्बन्ध अझैँ गाढा बनाउनेमा म गर्वान्भित महशुश गर्दछु। नेपालको संस्कृति, परिदृश्य र हावापानीले प्रभावित भएको पाए। यसले दुई देशको सम्बन्धलाई अझैँ प्रगाढ बनाउने बताए।

नेपाल र चीनका युवा टोली शनिबार दिउँसो ३ बजे आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved