को हुन् राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक एनेस

गोकुलाम केरला क्लबमा २ वर्ष रहँदा उनले २ पटक आई– लिगको उपाधि जिताएका थिए ।  यसअघि गोकुलामले उपाधि जित्न सकेको थिएन ।

को हुन् राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक एनेस

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भदौमा राजीनामा दिएपश्चात भिन्सेन्जोलाई प्रशिक्षकमा नियुक्त गरिएको हो।

इटालियन प्रशिक्षक एनेसलाई करिब १० वर्षको प्रशिक्षण अनुभव रहेको छ। ३८ वर्षका भिन्सेन्जोको पृष्ठभूमिलाई हेर्दा उनले फिजिकल एड्युकेशनको शिक्षकको रुपमा काम गर्न सुरु गरेका थिए ।

उनले प्रशिक्षक हुनु अगावै विभिन्न माध्यमिक, उच्च माध्यामिक विद्यालय तथा विश्वविद्यालयमा फिजिकल एड्युकेशनको शिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए। २० वर्षको उमेरमा चोटग्रस्त भएका एनेस सक्रिय फुटबलबाट टाढिनु परेको थियो। त्यसपछि उनले आफूलाई प्रशिक्षकतर्फ केन्द्रित गराए।

उनले तेस्रो डिभिजनको क्लबबाट सहायक प्रशिक्षक हुँदै मुख्य प्रशिक्षकको रुपमा आफुलाई स्थापित गरे। इटाली फुटबल क्षेत्रमा प्रशिक्षकको रुपमा स्थापित गर्न निकै चुनौती भएकाले एनेसले अन्तर्राष्ट्रिय स्तरमा आफुलाई स्थापित गर्ने निर्णय गरे।

उनले करिब २५–२६ वर्षको उमेरमा विदेशमा प्रशिक्षण सुरु गर्न थालेका थिए । हालसम्म उनले १० राष्ट्रमा कुल १०० भन्दा बढि व्यवसायिक फुटबलमा प्रशिक्षकको रुपमा काम गरिसकेका छन्।

उनले बेलिज, अर्मेनिया, इन्डोनेसिया, कोसोभो, प्यालेस्टाइन, घाना, भारत, चीन जस्ता राष्ट्रमा प्रशिक्षकको रुपमा काम गरिसकेका छन्।

उनी चीनको एक फुटबल एकेडेमीमा नाइकीको सहयोगमा छनोट भएका थिए। गोकुलाम केरला क्लबमा २ वर्ष रहँदा उनले २ पटक आई– लिगको उपाधि जिताएका थिए ।  यसअघि गोकुलामले उपाधि जित्न सकेको थिएन ।

पछिल्लो समय उनले भारतीय सुपर लिगको नर्थइस्ट यूनाईटेड क्लबको व्यवस्थापन पनि सम्हालेका थिए । खेलाडीको जग बलियो बनाउनुपर्छ भन्ने विश्वास बोकेर टोलीलाई तयार गर्ने प्रशिक्षकको रुपमा उनको छवि बनेको छ ।

एनेसले गोकुलममा नेपाली गोलरक्षक प्रशिक्षक मनिष तिमल्सिनासँग पनि काम गरिसकेका छन्। मनिषको उपस्थितिमा गोकुलमको टोलीका गोलरक्षक रशिद डागरले क्लिन शिट रहँदै पहिलो आई–लिग सकाएका थिए।

मनिषको मेहनत र लगनशीलताले प्रभावित भएका एनेसले एक अन्तवार्तामा मौका पाएमा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने आशय व्यक्त गरेका थिए । नयाँ टोलीसँग चुनौती पछ्याउन रमाउने एनेसले नेपाली टोलीलाई कस्तो बनाउने हुन् हेर्न बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved