ओलीको कुस्मा रेलवे स्टेशन : तथ्यहीन कुराबाट मज्जा लिन्छन् नेता, ताली बजाउँछन् जनता

एमालेको मध्यपहाडी यात्रा गण्डकी प्रदेश प्रवेश गर्दा पुरानो भिडिओ भाइरल हुनुको अर्थ हो— यसपटक पनि कुस्मा बजारमा ओलीको सभा थियो । उनलाई कुस्माकै पुरानो भाषणको सम्झना गराइँदै थियो । उनको आफ्नै वचनप्रतिको सार्वजनिक जवाफदेहिता खोजिँदै थियो । तर, यसपटकको कुस्मा भाषणमा ओलीले त्यसको कुनै चर्चा गरेनन् ।

ओलीको कुस्मा रेलवे स्टेशन : तथ्यहीन कुराबाट मज्जा लिन्छन् नेता, ताली बजाउँछन् जनता

काठमाडौं । नेकपा (एमाले) को मध्यपहाडी राजमार्ग यात्रा जब गण्डकी प्रदेश प्रवेश गर्‍यो, अध्यक्ष केपी शर्मा ओलीको केही वर्ष पुरानो एक भिडिओ सामाजिक सञ्जालमा फेरि एकपटक ‘भाईरल’ भयो ।

भिडिओ केही वर्षअघि उनले पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारमा गरेको भाषणको टुक्रा थियो। त्यसमा उनी भन्दै हुन्छन्— केरुङ-काठमाडौं, काठमाडौं-पोखरा रेल आइसकेपछि बेनी जाँदैन ? बेनी जाँदा कुस्मा हुँदै जाँदैन ? कुस्मामा रेलवे स्टेशन हुँदैन ? एक वर्षभित्रको कुरा यो हो ।

ओलीको यस्तो भाषणमा स्रोता भने मज्जा लिइरहेका हुन्छन् । खुसी हुँदै ताली पिटिरहेका हुन्छन् । रमाइलो मानिरहेका हुन्छन् ।

ओलीले भनेजस्तो १ वर्षभित्र केरुङ-काठमाडौं-पोखरा रेलवे बन्ने र कुस्मामा स्टेशन बन्ने कुनै सम्भावना थिएन । अझै छैन । एकप्रकारले यो तथ्यहीन र निराधार कुरा थियो । तर, पनि स्रोता मज्जा मानिरहेका थिए ।

केरुङ-काठमाडौं-पोखरा रेलवे असम्भव कुरा हैन । तर, बन्यो नै भने पनि १ दशकभन्दा बढी समय लाग्न सक्दछ । १ वर्षभित्र त त्यसको कुनै सम्भावना नै हुँदैन । ओलीले आफ्नै कार्यकालमा ५ वर्षभित्र बनाइसक्ने दाबी गरेको केरुङ-काठमाडौं परियोजना अहिलेसम्म सम्भाव्यता अध्ययनकै चरणमा छ ।

जबकि नेपाल-चीनबीच बीआरआई परियोजनामा हस्ताक्षर भएकै ६ वर्षभन्दा बढी समय भइसक्यो । चीनले अहिलेसम्म नेपालमा बीआरआईअन्तर्गत कुनै पनि योजनाको कार्य प्रारम्भ गरेकै छैन । बरु एक्जिम बैंकको महँगो ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नै बीआरआई हो भन्दै आएको छ ।

एमालेको मध्यपहाडी यात्रा गण्डकी प्रदेश प्रवेश गर्दा पुरानो भिडिओ भाइरल हुनुको अर्थ हो— यसपटक पनि कुस्मा बजारमा ओलीको सभा थियो । उनलाई कुस्माकै पुरानो भाषणको सम्झना गराइँदै थियो । उनको आफ्नै वचनप्रतिको सार्वजनिक जवाफदेहिता खोजिँदै थियो । तर, यसपटकको कुस्मा भाषणमा ओलीले त्यसको कुनै चर्चा गरेनन् ।

कुस्मा रेलवे स्टेशनमात्र हैन, विगत एक दशकभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत सबै दलमा शीर्ष नेताले यस्ता अनेक तथ्यहीन कुरा बोलेका छन्, जसको कुनै प्रमाणिकता र आधार देखिँदैन ।

जस्तो कि ग्यास सिलिन्डरको साटो घर-घरमा ग्यास पाइप पुर्‍याउने, हिन्द प्रशान्त महासागरमा नेपालको ध्वजावाहन व्यावासयिक पानी जहाज चलाउने, काठमाडौंमा पाँच वर्षभित्र मोनो र मेट्रो रेल बनाउने, नेपाल-साउदी अरबबीच दोहोरो पाइपलाईन बिच्छ्याउने एकातिरबाट पानी र अर्कोतिरबाट पेट्रोलियम पदार्थं आयात गर्ने, ५ वर्षभित्र प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने, काठमाडौंबाट सगरमाथाको शिखरसम्म केवलकार बनाउने आदि आदि ।

झट्ट सुन्दा यी कुरा नि:सन्देह रमाइला र आकर्षक छन् । मज्जा लाग्ने खालका छन् । यस्ता कुरा बिल्कुलै असम्भव पनि हैन । तर, नेपाल आज जुन आर्थिक, राजनीतिक तथा भूराजनीतिक परिवेशमा छ यी कुरा केही दशकका लागि असम्भव हुन् । नेताले यस्ता कुरा किन बोल्छन्, त्यो सजिलै बुझिन्छ । उनीहरूलाई थाहा हुन्छ कि यस्ता कुराले जनता र मतदाताको ध्यानाकर्षण गर्दछ । सधैँलाई नभए पनि कुनै एक चुनावमा भोट बढ्ने सम्भावना हुन्छ । कदाचित यस्ता कुनै योजना भविष्यमा राज्यले बनाएका ‘मैले उहिल्यै भनेको थिएँ, मेरो परिकल्पना थियो त्यो’ भनेर जस लिन पाइन्छ ।

तर, नेताका यस्ता उडन्ते, हावादारी तथा तथ्यहीन कुरा स्रोता, जनता वा मतदाताले भने किन पत्याउँछन् र मज्जा मान्छन् ? यसको रहस्य बुझ्न भने अलिक भित्रसम्म पुग्नपर्ने हुन्छ ।

तथ्यहीन कुरामा विश्वास गर्नु र मज्जा मान्नुको कारण मनोविज्ञानको भाषामा ‘स्वैरकल्पना’ अर्थात् ‘फन्टासी’ हो । यसको अर्थ हुन्छ व्यवहारमा भोग्न नपाएका अतृप्त आकांक्षा कल्पनाद्वारा भोग गरेर तृप्त हुनू ।

स्वैरकल्पनाको जन्म तत्काल प्राप्त गर्न नसकिने तर, प्राप्तिको आकांक्षाले नै रोमाञ्चित गर्न सक्ने विषयवस्तुबाट हुन्छ । नेताहरूले यस्तो झुठ बोलेर जनतामा निहित आम स्वैरकल्पनाको मात्रै हैन, स्वयम् आफैँभित्रको स्वैरकल्पनाको पनि तुष्टीकरण गरिरहेका हुन्छन् । तर, भोट प्राप्त गर्ने लालसाले त्यसलाई अतिरञ्जित गरिदिन्छन् । यस्ता कुराबाट तत्कालीन रूपमा दल र नेतालाई राजनीतिक लाभ पनि हुन्छ ।

यो एक प्रकारले ‘राजनीतिक जादुगरी’ हो । जसरी जादुगरले जादु देखाउँदा कागजलाई नोट बनाउन सक्दछ । तर, जादुको अन्त्यमा आफैँ ‘पापी पेटको सवाल छ’ भन्दै उल्टै दर्शकसँग पैसा मागिरहेको हुन्छ, ठीक त्यसैगरी नेताले पनि आम स्वैरकल्पनाको तुष्टीकरण गराएर ‘राजनीतिक अस्तित्वको सवाल छ’ भन्दै भोट मागिरहेको हुन्छ ।

दर्शकले त्यसलाई नराम्रो मान्दैनन् । जादुगरलाई दुईचार पैसा दिन्छन् । एक क्षण रमिता देखाएर मनोरञ्जन त दियो भन्ने भावले सन्तुष्ट हुन्छन् । जादुगरलाई दिएको पैसालाई कसैले ठगी भन्दैन । तमासाको मूल्य मान्दछ ।

ठीक त्यही कुरा आम तुष्टीकरणको राजनीतिमा पनि लागू हुन्छ । जस्तो कि ओलीको झुटो र तथ्यहीन कुस्मा रेलवे स्टेशन भाषणपछि पनि पर्वतका मतदाताले एमालेलाई नै भोट दिइरहेका छन् । पाँचदलीय गठबन्धनका बाबजुद पछिल्लो आम निर्वाचनमा पर्वतमा एमाले उम्मेदवार पदम गिरीले चुनाव जितेका छन् ।

हुन त कुनै उम्मेदवारले कुनै जिल्ला वा निर्वाचन क्षेत्रबाट चुनाव जित्नुको एक मात्र कारण हुँदैन । यस्तै उडन्ते, हावादारी वा तथ्यहीन भाषणको कारणले मात्रै जित्ने वा हार्ने हुँदैन । अन्य थुप्रै निर्णायक कारण हुन्छन् ।

तर, यस्ता भाषणले सार्वजनिक जवाफदेहिता र आम नैतिकस्तरलाई भने कमजोर बनाउँछ । मान्छेलाई लाग्न थाल्छ कि  त्यत्रा ठूला भनिएका नेताले त त्यसरी झुटो बोल्छन् वा ढाँट्छन् भने जसले जसलाई ढाँटेपनि हुन्छ । जसले जोसँग झुटो बोलेपनि हुन्छ ।

यस्ता तथ्यहीन कुरा पत्याउने कि न नपत्याउने भन्ने विषय आम सामाजिक चेतनास्तर र राजनीतिक सचेतनाको प्रश्न पनि हो । राजनीतिक चेतना बलियो र विवेकसम्मत भएको समाजमा मतदाताले यस्ता कुरा पत्याउँदैनन् । यस्तो बोल्ने दल र नेतालाई उल्टै नोक्सानी हुन सक्दछ ।

तर, नेपालमा भने विगत दशकको मूल राजनीतिक प्रवृति नै यही रह्यो । अघिल्ला दशकमा यो प्रवृति यति प्रभावी थिएन । भोटका लागि तथ्यहीन कुरा बोल्नु र त्यसको सार्वजनिक जवाफदेहिता बहन नगर्नु लोकरिझ्याइँवादी सस्तो राजनीतिकै एक विशेषता हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved