कांग्रेसले शेखर कोईरालासँग छलफल गरेर मात्रै कोशीबारे निर्णय लिने

नेपालभ्युज

कांग्रेसले शेखर कोईरालासँग छलफल गरेर मात्रै कोशीबारे निर्णय लिने
फाइल फोटो
  1. काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता डा. शेखर कोईरालासँग छलफल गरेर मात्रै कोशी प्रदेश सरकारबारे निर्णय लिने भएको छ ।

शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता मिन विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेश कांग्रेसकै भागमा परेको र सहमति गरेर आए आफू पछि हट्ने बताएअनुसार नेता कोईरालासँग छलफल गरेर निर्णय लिने बताए । बैठकमा सभापति देउवाले नेता कोईरालासँग सहमति जुट्ने नेताको नाम मागेको पनि बताए ।

उनले गठबन्धन अघि बढ्ने र गठबन्धनमा पर्नसक्ने सम्भावित अफ्ठ्यारोहरुलाई कसरी सजिलो बनाउने ? भन्नेबारेमा बैठकमा छलफल भएको बताए । उनले गठबन्धन भित्रैबाट सरकार बनाउनका लागि पहल गर्ने निर्णय भएको बताए । २०५१ को अवस्था नै अहिले दाहोरिएको उनले बताए ।

उनले भने, ‘हामी एक पटक पुनः नेता डा. शेखर कोईरालासँग छलफल गर्छौं । उहाँ आज बैठकमा आउने आउने भनेर आउनु भएन । प्रधानमन्त्रीज्युसँगको छलफलमा हामीले काँग्रेसको भागमै परेकाले तपाईहरु नै नाम भन्नुस् भन्नुभएको छ । हामीले नेता कोईरालालाई सोधेका थियौँ, उहाँले नाम दिनुभएको छैन ।’

उनले कोशी प्रदेश सरकार गठनको प्रक्रियालाई  गम्भीरताका साथ लिएको बताए । उनले कोशी प्रदेशमा पनि गठबन्धन भित्रैबाट सरकार बनाउनका लागि पहल गर्ने निर्णय भएको बताए ।

नेता विश्वकर्माले कोशी प्रदेशमा कांग्रेसका नेताहरुले गरेको विद्रोहलाई सामान्य रुपमा लिन नहुने बताए । बैठक शनिवार पुनः बस्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved