बालेन-हर्कले बुझ्न नचाहेको सत्य : ‘चर्चा’ नै ‘लोकप्रियता’ हैन

कुनै व्यक्तिको उदयमा निश्चित ऐतिहासिक कारण हुन्छ । व्यक्तिको निजी पराक्रम वा उन्नतिको रूपमा मात्र त्यो घटना घटित हुँदैन । बालेन र हर्कको उदय पनि निजी पराक्रम, अद्धितीय क्षमता र उन्नतिले भएको हैन । उनीहरुजस्ता युवा र अझ तेज प्रतिभा त कति छन् कति यो देशमा । उनीहरूको उदय एक खास अवस्थाको आम मनोविज्ञानको उपज हो । अर्को खास अवस्थामा त्यो मनोविज्ञान कायमै रहन्छ भन्ने छैन ।

बालेन-हर्कले बुझ्न नचाहेको सत्य : ‘चर्चा’ नै ‘लोकप्रियता’ हैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ यो वा त्यो विषय वा निहुँमा निरन्तर चर्चामा हुन्छन् । मिल्दो-नमिल्दो, उपयुक्त-अनुपयुक्त सन्दर्भसँग आफूलाई जबरजस्त जोडेर, विवादास्पद अभिव्यक्ति दिएर वा अन्य कुनै न कुनै तरिकाले उनीहरू सञ्चारमाध्यममा छाइरहने गर्दछन् ।

सञ्चारमाध्यममा छाउने, चर्चामा बस्ने वा सामाजिक सञ्जालबाट ‘एटेन्सन सिकिङ’ गर्ने एक प्रकारको मनोरोग नै देखिन्छ, यी दुई स्वतन्त्र र युवा मेयरमा । तर, उनीहरूले नबुझेको पाटो के हो भने ‘चर्चा’ नै ‘लोकप्रियता’ हैन । सबै ‘स्टन्ट’ र चर्चाले लोकप्रियता बढाउँछ भन्ने छैन । बदमासी र अलोकप्रियता पनि बढाउँछ, त्यो पाटोलाई उनीहरूले ध्यान दिइरहेका छैनन् ।

समाज वा सार्वजनिक जीवनमा पर्याप्त परिचय वा पहिचान स्थापित नभएको बेला, युवा उमेरमा मान्छेमा चर्चाको मोह वा लोभ स्वाभाविकरूपमा हुन्छ । तसर्थ, हिजो उनीहरूका लागि यस्तो प्रवृत्ति ठीकै थियो होला । कमैले चिनेको वा चुनाव नजितेको अवस्थामा स्वतन्त्र उम्मेदवारका रूपमा आफूलाई मतदाताबीच स्थापित गर्न कतिपय ‘स्टन्ट’ वा ‘एटेन्सन सिकिङ’ स्वाभाविक नै थियो । तर, आज उनीहरूले त्यो चरण पार गरिसकेका छन् ।

आज उनीहरूलाई न सार्वजनिक पहिचान वा परिचयको आवश्यकता छ न अनावश्यक वा निम्नकोटीको ‘स्टन्ट’ वा ‘एटेन्सन सिकिङ’ को । हिजो जे कुरा उनीहरूको व्यक्तित्व विकास र प्रभाव विस्तारका लागि फाइदाजनक थियो, ठीक त्यही कुरा अब नोक्सानदायक हुन सक्दछ ।

अहिले उनीहरू गम्भीर तथा महत्त्वपूर्ण सार्वजनिक पदमा छन् । हाम्रो संविधानले स्थानीय तहलाई एक भिन्नै सरकार मान्दछ । काठमाडौं र धरानजस्ता ठूला, महत्त्वपूर्ण र चर्चित शहरको मेयर हुनु कुनै चानचुने कुरा हैन । यो पद खेलाँची, आलोकाँचोपन र अराजकता प्रर्दशनका लागि हैन । यसका आफ्नै निश्चित दायित्व, कर्तव्य र मर्यादा छन्, त्यसको पालना गर्नु उनीहरूको नैतिक दायित्व हो ।

आफ्नी पत्नीलाई बिदाको दिन सरकारी गाडीमा हिँड्दा सडकमा कर्तव्य निभाइरहेको प्रहरीले सोधपुछ गरेको भन्दै बालेन शाहले ‘सिंहदरबारमा आगो लगाउने’ जुन धम्की दिए, त्यसले उनको स्तरहीनतालाई मात्र प्रदर्शन गर्‍यो । यद्यपि उनले त्यो स्टाटस हटाए तर ‘एक्सपोज’ त भए । त्यो अमर्यादित ‘स्टाटस’ ले उनको मनोवृत्ति प्रदर्शन गर्‍यो उनी कुनै न कुनै प्रकारले अग्राधिकार वा विशेषाधिकारको आकांक्षा राख्दछन् ।

बालेन्द्र शाहले यो बुझ्न जरुरी छ कि लोकतन्त्रमा कसैका लागि कुनै विशेषाधिकार वा अग्राधिकार हुँदैन । लोकतन्त्रले कुनै व्यक्तिलाई विशेष अधिकार दिँदैन । लोकतन्त्रले ‘बालेनकी श्रीमती’ हैन, सबैलाई एक ‘सार्वभौम नागरिक’का रूपमा चिन्छ । विधि सबैले पालना गर्नुपर्दछ । ट्राफिक प्रहरीले सोधपुछ गर्न पाउँछ भने सबैलाई पाउँछ । पाउँदैन भने कसैलाई पनि पाउँदैन । यसरी सोधपुछ गरेबापत् रिसले आगो भएर सिंहदरबार झोस्ने धम्की दिनुको साटो कर्तव्यनिष्ट प्रहरीलाई धन्यवाद पो दिन सक्नु पर्दथ्यो । धन्यवाद नै दिने हिम्मत नभए एक सामान्य घटना र प्रक्रियाका रूपमा बुझेर मौन बस्दा पनि हुन्थ्यो ।

ज्ञानेन्द्र शाहलाई कुनै विशेषाधिकार दिन राजी नभएको समाज बालेन्द्र शाहको अराजकतामा सती जाँदैन । पारस शाहलाई महाराजगञ्ज चोकमा ट्राफिक नियम उल्लंघन गरेको कारणले केरकार गर्ने प्रहरीले मेयरका श्रीमती चिन्न जरुरी थिएन ।

यो त एक उदाहरण मात्र हो— मेयर बालेन्द्र शाहका अभिव्यक्ति र कार्यशैलीमा अराजकता र अभद्रताका यस्ता थुप्रै दृष्टान्त बर्गेल्ती छन् ।

धरानका मेयर हर्क सम्पाङलाई सामाजिक सञ्जालमा यति ठूलो विश्वास छ कि उनी आफ्नो पार्टी, कार्यकर्ता, सञ्जाल र शक्ति नै त्यसैलाई ठान्दछन् । हर्क दैनिक एक दर्जनभन्दा बढी स्टाटस लेख्छन् । त्यसले उनलाई चर्चा त दिएकै होला तर उनको लोकप्रियता खस्कँदो छ ।

हिजो एक गुमनाम अभियन्ताका रूपमा उनलाई यो शैली ठीक थियो होला, आज छैन । समाजको सबै पक्षलाई गालीगलौज मात्र गरेर कर्क सधैँ पानीमाथिको ओभानो भइरहन सक्दैनन् । समाजले खासै नोटिस नगरेको एक अभियन्ता हुनु र मेयरको कुर्सीमा बस्नु फरक-फरक दायित्व हुन् । हर्क सम्पाङका कतिपय स्टाटसले संवैधानिक व्यवस्थाको धज्जी उडाएको देखिन्छ । साथै आलोचकमाथि भद्दा मजाक र आपत्तिजनक टिप्पणी गरेको पनि पाइन्छ ।

हर्कको दृष्टिकोणमा एउटा ठूलो भ्रम अन्तर्निहित छ । उनी जसरी उदाए त्यसरी नै सधै अघि बढ्न सकिन्छ भन्ने बुझाइमा छन् । उनले नबुझेको कुरा–सधैँ एउटै तरिकाले काम गर्दैन । हिजो उनी जुन तरिकाले उदाए, ठीक त्यही र त्यस्तै तरिकाले अघि बढ्न सक्दैनन् । उनले आफ्नो तरिका र शैली फेर्न आवश्यक छ ।

गत स्थानीय निर्वाचनमा यी दुई मेयरको उदयलाई नेपाली राजनीतिको एक सकारात्मक तथा जादुगरी मोड मानिएको थियो । दुवै मेयरप्रति देश र युवापुस्ताले ठूलो आशा गरेको थियो । यहाँसम्म कि प्रतिस्पर्धी दलका नेता, कार्यकर्ताले समेत उनीहरूको उदयलाई सकारात्मकरूपमा लिएका थिए । नयाँ पुस्ताको एउटापङ्क्तिले उनीहरूलाई ‘आइकन’ नै मान्न थालेको थियो ।

अहिले ठीक त्यही अवस्था बाँकी छैन । यी दुवै स्वतन्त्र र युवा मेयर पर्याप्त गम्भीर, संवेदनशील, मर्यादित र कामकाजी हुन नसकेको धारणा बढ्दो छ । हिजो उनीहरूको आलोचना गर्न संकोच मान्नेहरू आज खुलेर बोल्न थालेका छन् ।

यी दुई मेयर नयाँ पुस्तालाई जेजस्तो राजनीतिक संस्कार सिकाउन खोज्दैछन्, त्यसले देशको लोकतान्त्रिक गुणस्तर झनै खस्किने त हैन भन्ने चिन्ता बढेको छ । धेरैले उनीहरूलाई गम्भीर र जिम्मेवार बन्न नसकेको आरोप लगाउन थालेका छन् ।

मेयर आफैँमा कार्यकारी पद हो । त्यो पनि निश्चित नियम, विधि, पद्धति र संस्थागत प्रक्रियाभित्र बसेर काम गर्नु पर्ने पद । बालेन्द्र र हर्कले नयाँ पुस्तालाई दिन खोजेको संस्कार र कार्यशैली के हो ? तल्लो स्तरका शब्द र वाक्यमा अराजक अभिव्यक्ति दिने ? कि संस्कारित र सभ्य राजनीति सिकाउने ?

उनीहरूले के बुझ्न जरुरी छ भने कुनै राम्रो काम गरेर, कुनै संघर्ष र सार्वजनिक योगदानबाट स्थापित भएर ती पद जितेका हैनन् । पुराना दलसँग निराश भएका मतदाताले विकल्पका रूपमा उनीहरूलाई रोजेका हुन् । तर, उनीहरू पुराना दलका प्रतिनिधिभन्दा निम्नकोटीका र अराजक भएर निस्किए भने त्यो जित के अर्थ भयो ?

लोकतान्त्रिक संस्कार, संस्कृति, मर्यादा र विधिको शासनलाई कमजोर पार्न उनीहरूले भूमिका खेले भने त्यो देश र जनताका लागि दीर्घकालमा झनै घाटाको विषय बन्ने छ ।

बालेन–हर्कहरूको सान्दर्भिकता र औचित्य त्यतिखेर पुष्टि हुने हो जब उनीहरूले पुराना दलका नेता तथा प्रतिनिधिले भन्दा संस्कारित राजनीतिक सिकाउने छन् । सभ्य र सुसंस्कृत राजनीतिको दृष्टान्त प्रस्तुत गर्नेछन् । बालेन र हर्क दुवै लोकतन्त्रले दिएको स्पेशबाट जन्मिएका हुन् । तसर्थ लोकतान्त्रिक संस्कृतिलाई हानी पुग्ने काम नगर्नु उनीहरूको कर्तव्य हुन्छ । नैतिक दायित्व हुन्छ ।

कुनै व्यक्तिको उदयमा निश्चित ऐतिहासिक कारण हुन्छ । व्यक्तिको निजी पराक्रम वा उन्नतिको रूपमा मात्र त्यो घटना घटित हुँदैन । बालेन र हर्कको उदय पनि उनीहरूको निजी पराक्रम, अद्धितीय क्षमता र उन्नतिले भएको हैन । बालेन र हर्कजस्ता युवा र अझ तेज प्रतिभा त कति छन् कति यो देशमा । उनीहरूको उदय एक खास अवस्थाको आम मनोविज्ञानको उपज हो । अर्को खास अवस्थामा त्यस्तो मनोविज्ञान कायमै रहन्छ भन्ने छैन ।

उनीहरूले यो नठाने हुन्छ कि जनता बेबकुफ हुन्छन् । मतदाता बेबकुफ हुन्छन् । जनताले अवश्य सबैलाई मौका दिन्छन् । स्थिति हेरिकन । तर, मतदाता सधै कसैका अन्धसमर्थक हुँदैनन् ।

बालेन र हर्कले पछिल्लो समय देखाउन थालेको अहंकार र अराजकता राम्रो कुरा हैन । यसले उनीहरूलाई चर्चामा राख्छ तर, लोकप्रिय बनाइरहँदैन । राजनीतिमा चर्चामा हुनु मात्र ठूलो कुरा हैन । चर्चा र लोकप्रियता फरक हुन् । उनीहरूले त्यस्तो बेला चुनाव जितेका थिए, जुन बेला उनीहरूको खासै चर्चा थिएन । न त लोकप्रियता नै थियो ।

नयाँलाई अवसर दिने र पुरानालाई दण्डित गर्ने मतदाता मनोविज्ञान उनीहरूले भोट पाउनु र चुनाव जित्नुको मुख्य कारण थियो । यसलाई उनीहरूले निजी पराक्रम ठाने भने त्यो उनीहरूकै लागि घातक हुनेछ ।

चर्चामा हुँदैमा सधै भोट आउने भए पूर्वराजा ज्ञानेन्द्र शाहको चर्चाले राप्रपालाई दुईतिहाई भोट दिलाउनपर्थ्यो होला । दिलाएन ।

कुनै बेला केपी शर्मा ओली, प्रचण्ड र माधव नेपालजस्ता चर्चित पूर्वप्रधानमन्त्रीले पनि चुनाव हारेका थिए भन्ने हेक्का मनको एउटा कुनामा बालेन शाह र हर्क साम्पाङले सधै राख्न उचित हुन्छ ।

हर्क र बालेन राष्ट्रपति, प्रधानमन्त्री वा संघीय सांसद हैनन् । ७५३ स्थानीय तहमध्ये एक/एकका मेयर मात्र हुन् । उनीहरूको कार्यक्षेत्र त्यही हो । उनीहरूको सीमा त्यही हो । यो पाँच वर्ष उनीहरू त्यसैको सीमाभित्र बस्नुपर्दछ । एक नागरिकका रूपमा राष्ट्रिय बहसमा आफ्नो तर्क राख्न पाउँछन् । तर, राष्ट्रपति, सरकार र संसद् नै मै होजस्तो अमहत्याइँ उनीहरूले देखाउन मिल्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved