आलेख

स्टालिन पथमा पुटिन : कता जाँदैछ रुस ?

सोभियत झण्डामा पुटिनले जोड दिनुको अर्थ साम्यवाद नभएर नाजी जर्मनमाथि सोभियत संघको विजय हो, जुन समयमा स्टालिनको विचार मार्क्सवादको साटो राष्ट्रवाद थियो । आज पुटिनको अवस्था धेरै दृष्टिकोणबाट स्टालिनको अन्तिम चरण सन् १९४०–१९५० बीचको जस्तो देखिन्छ ।

स्टालिन पथमा पुटिन : कता जाँदैछ रुस ?

जुन १७ सन् २०२३, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेन्ट पिटर्सबर्गमा तीनवटा झण्डाको साझा वार्षिक उत्सव समारोह आयोजना गरे । वाटरफ्रन्टमा ती झण्डा फरफराएको उनले डुंगाबाट नियालेका थिए । राष्ट्रिय गानको धुन स्टालिन युगको धुनसँग मिल्दोजुल्दो थियो।

पहिलो–सन् १६९३ मा पहिलोपटक लहराएको पिटर द ग्रेटको भनेर चिनिने रुसी महासंघको झण्डा । दोस्रो –सन् १८५८ मा जार अलेक्जेन्डर द्वितीयले अघि सारेको रुसी साम्राज्यको झण्डा र तेस्रो–करिब सय वर्षअघि बनेको र स्टालिनले प्रयोग गरेको हँसिया–हथौडा भएको लालझण्डा ।

कतिपय सन्दर्भबाट यी झण्डाको छनोट अनौठोचाहिँ हैन । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि विशेष सैन्य कारबाही सुरु गरेपछि पुटिनको वास्तविक विचारधारा स्टालिनवादी राष्ट्रवादी साम्राज्यवाद भइसकेको थियो ।

पिटर प्रथम सन् १७२१ को उत्तरी महान युद्धमा विजयपछि आफूलाई समग्र रुसी साम्राज्यको पहिलो सम्राटका रूपमा प्रस्तुत गर्ने जार थिए ।

अलेक्जेन्डर द्वितीय रुसका सम्राट, पोल्यान्डका राजा र फिनल्यान्डका ड्युक थिए । यी तीन वटै झण्डाका आकांक्षा रुसी साम्राज्यवादसँग घनिष्ठरूपमा सम्बिन्धत छन्।

सोभियत झण्डामा पुटिनले जोड दिनुको अर्थ साम्यवाद नभएर नाजी जर्मनमाथि सोभियत संघको विजय हो, जुन समयमा स्टालिनको विचार मार्क्सवादको साटो राष्ट्रवाद थियो । आज पुटिनको अवस्था धेरै दृष्टिकोणबाट स्टालिनको अन्तिम चरण सन् १९४०–१९५० बीचको जस्तो देखिन्छ ।

सन् २०१४ मा क्रिमिया रुसमा गाभेदेखि नै पुटिनले रुसी साम्राज्यवादको अवधारणा पुनर्स्थापित गर्दैछन् भन्ने प्रष्ट थियो । त्यसको ८ वर्षपछिको युक्रेन आक्रमणले त त्यसलाई झनै पुष्टि गर्‍यो । यस्तो विचारधाराको स्रोत रुसी अर्थोडक्स चर्चको अमूर्त शिक्षा हो, जसले पश्चिमलाई पतनशील र रुसको सदावहार शत्रु शक्तिका रूपमा हेर्दछ। रुसी साम्राज्यलाई एक पवित्र साम्राज्यका रूपमा जयगान गर्दछ।

पिटर प्रथमका बारेमा पुस्किनले एकपटक भनेका थिए–पश्चिमले झ्याल फोडेको ३०० वर्षपछि क्रेमलिन बस्ने मान्छे त्यही झ्यालबाट भित्र पस्छन् । सन् १९९० को दशकमा साम्यवाद ढल्दा र बोरिस यल्तसिनले पश्चिमा प्रकारको राज्य र प्रणालीको कुरा गर्दा त्यो झ्याल बन्द भएजस्तो देखिएको थियो । तर, पुटिनले फेरि रुसलाई पुरानै लयमा फर्काए ।

सोभियत शासनकालको ७० वर्षमा तीनपटक निस्टालिनीकरणका प्रयत्न भए । सन् १९५० र ६० को दशकमा निकिता ख्रुश्चेभले, सन् १९८० मा मिखायल गोर्भाचेवले र सन् १९९० मा बोरिस यल्तसिनले यस्तो प्रयत्न गरेका थिए । रुसी राजनीतिको विगत शताब्दी उदार र सर्वसत्तावादी प्रवृत्ति बीचको संघर्षमा वितेको थियो जसलाई निस्टालिनीकरण र पुनर्स्टालिनीकरण भन्न सकिन्छ ।

पुटिनवाद प्रारम्भमा निस्टालिनीकरण हो कि जस्तो देखिएको थियो, तर, अहिलेसम्म आइपुग्दा यसले पुन स्टालिनीकरणको बाटो रोज्यो।

पवित्र रुसी साम्राज्यको सोच

रुसी इतिहासमा राज्यका मुख्य दुई स्तम्भ देखिन्छन् । रुसी अर्थोडक्स चर्च र रुसी सेना । प्राचीनकालमा रुसी जीवनलाई चर्चको घण्टीले हिँडाउँथ्यो । अठारौं शताब्दीतिर आइपुग्दा रुसी राज्यको प्राथमिकता सीमा विस्तार र रक्षा बन्यो । सेना शक्तिको मूल स्रोतका रूपमा अघि आयो।

रुस र पश्चिमबीचको आधुनिक भिन्नता प्रबोधनकालमा गहिरो भयो । सन् १८१२ मा नेपोलियनमाथिको विजयले रुसमा राष्ट्रवाद र राष्ट्रिय एकताको नयाँ लहर चल्यो । राष्ट्रवादी विचारधारका धेरै राम्रा कुरा पनि हुन्छन् तर, सबैभन्दा नराम्रो पक्ष यसले निरंकुशतालाई वैधता दिन्छ । राज्य र शासकलाई कठोर र सर्वसत्तावादी हुँदै जान प्रेरित गर्दछ ।

सन् १८२५ को असफल डिसेम्बरवादी आन्दोलन नयाँ जार निकोलस प्रथम विरुद्धको एक विद्रोह थियो, जसले पश्चिमा प्रकारको आधुनिकीकरणको आवश्यकता उजागर गर्थ्यो । तर, निकोलस राज्य र शासनको सुधारभन्दा अझ कठोर भए । त्यो परम्परा अझै कायम छ। पश्चिमा प्रकारको शासन प्रणाली रुसका लागि जोखिमपूर्ण हुन्छ भन्ने विमर्शको यहाँ कहिल्यै अन्त्य भएन।

यसको अर्थ यो हैन कि रुसीहरू जारसँग सन्तुष्ट थिए । रुसी चिन्तनको अनौठोपन कहाँनेर हो भने उनीहरू जार विरोधी नै भए पनि रुसले पश्चिमा मूल्यप्रणाली अपनाउनुहुँदैन भन्ने धारणा राख्थे । रुसी मूल्यप्रणाली पश्चिमा मूल्य प्रणालीभन्दा उत्कृष्ट हो भन्ने धारणा बलियो थियो, अझै छ।

निरंकुशता कमजोर हुँदा रुसी मूल्यप्रणाली पनि कमजोर हुने हो कि भन्ने डर यहाँ सधैँ हुन्छ । यो सोचले युद्धलाई पवित्रताको लेप लगाइदिन्छ र साम्राज्यवादी अवधारणाले वैधानिकता हासिल गर्दछ।

स्टालिन भर्सेज पुटिन

२३ वर्ष अघि पुटिन सत्तामा आउँदा यो विचारधारा सबैभन्दा कमजोर भएको थियो । त्यतिखेर सोभियत संघ र मस्कोमा पश्चिमा विचारधाराको वलियो प्रभाव थियो । सन् १९८० को दशकमा गोर्भाचेबले खुल्लापन र पुनर्निर्माणमार्फत उदारवादी विचारधारा अघि बढाएका थिए।

सन् १९९१ मा सोभियत संघको विघटनपछि राष्ट्रपति बोरिस यल्तसीनलाई अर्थशास्त्री प्रधानमन्त्री योगोर गैदारको समर्थन थियो, जसले ७० वर्ष लामो मार्क्सवादी–लेनिनवादी साम्राज्यलाई बजार अर्थतन्त्र र पश्चिमा ढाँचाका राजनीतिक संस्थातिर प्रवृत्त गराएका थिए। गैदारको सोच थियो कि साम्राज्यको स्तरमा उदारवादी सुधार र संरचना निर्माण गर्न सम्भव हुँदैन । त्यसका लागि रुसले पहिले आफूलाई एक आधुनिक राष्ट्रिय–राज्यका रूपमा पुन:परिभाषित गर्नुपर्दछ।

प्रारम्भमा पुटिन आधुनिक बजार सिद्धान्तका विरोधी थिएनन्। बरु उनी आफ्ना भाषणमा सोभियत संघको विघटनप्रति पश्चाताप गर्थे र कुनै न कुनै तबरले रुसी साम्राज्य पुनर्स्थापित गर्नुपर्ने तर्क गर्थे । तर, आर्थिक उदारीकरणको लोभलाग्दो फाइदा उठाउन भने उनले कहिल्यै छोडेनन्। खासमा उनलाई राजनीतिक तथा आर्थिक संरचनामा कब्जा जमाउन यही रणनीतिले मद्दत गर्‍यो ।

तर, सन् २०१२ पछि जब दिमित्री मेदभेदेभको एक कार्यकालपछि पुन: राष्ट्रपति भए, उनले उदारवादी आर्थिक सुधारमाथिसमेत हमला गर्न थाले । यही विन्दुबाट उनको विचारधाराले अधिनायकवादी, प्रतिक्रियावादी, दमनकारी र रुढीवादी धार पक्रियो । पश्चिमले रुसलाई एक सम्मानजनक साझेदारका रूपमा स्वीकार नगरेको गुनासो र चिढचिढाहट उनी बारम्बार व्यक्त गरिरहन्थे ।  सन् २०१४ मा क्रिमिया गाभ्ने उनको निर्णय त्यही सोचको प्रतिफल थियो ।

अब पुटिनले राज्यको पुरानो र पवित्रतावादी सोचलाई पुनर्स्थापित गर्न थाले । उनले चर्चलाई ‘रुसी भावनाको आत्मा’ भन्न थाले । रुस, बेलारुस र युक्रेनको नैतिक तथा आध्यात्मिक मूल्य प्रणाली एउटै हो भन्न थाले । सन् २०२२ को नोभेम्बरमा पुटिनका सहकर्मी मेदभेदेभले लेखेका थिए– ‘यो आक्रमण सैतानको काखमा बसेको युक्रेनविरुद्ध एक पवित्र युद्ध हो, जसले रुसका सबै शत्रुलाई नर्क पठाउनेछ।’

नाङ्गिएको बादशाह

स्टालिनले सन् १९२९ लाई ‘एक महान् मोडको विन्दु’ भनेका थिए। यसको अर्थ एक जबर्जस्त औद्योगिकीकरण थियो, जसलाई जबर्जस्त सामूहिकता र औद्योगिक श्रम शक्ति चाहिएको थियो। आज पुटिनलाई उत्तिकै जबर्जस्त युद्ध जनशक्ति चाहिएको छ।

स्टालिन र पुटिनको उद्देश्यको भिन्नताले उनीहरूको अधिनायकवादी शैलीमा भने भिन्नता देखाउन्न। आज स्वतन्त्र मिडिया, नागरिक समाज र सिर्जनशील बौद्धिक वर्गमाथिको दमन उस्तै छ, जुन स्टालिनको पालमा थियो । आफ्नो विरोध गर्नेलाई स्टालिनले अमेरिकी साम्राज्यवादका एजेन्ट र सोभियत समाजवादका शत्रु भन्थे । आज पुटिनले भने तिनलाई ‘देशद्रोही तथा विश्वासघाती गद्दार’ भन्छन् । सन् २०२१ पछि पुटिनको शासन स्टालिन युगको जत्तिकै कठोर, क्रुर र दमनकारी हुँदै गएको छ।

स्टालिन तानाशाहीको आधार नग्न राष्ट्रवादी साम्राज्यवाद थियो, मार्क्सवाद –लेनिनवाद त त्यसको मुखौटो मात्र थियो । त्यसले पनि पश्चिमलाई शत्रुका रूपमा चित्रण गर्दथ्यो । स्टालिनको शासकीय नग्नताले रुसको आर्थिक विकासलाई दशकौं ढिलो बनाएको थियो । लाखौं मानिसको ज्यान गएको थियो । पुटिनको अधिनायकवाद पनि उत्तिकै नग्न छ । युक्रेन युद्धको दुस्प्रभावले रुसी अर्थतन्त्रमा गम्भीर धक्का लागेको छ । यी सबैको कारण पनि पश्चिमप्रतिको भय नै हो।

निरंकुशतापछिको परिदृष्य

नग्न शक्तिको प्रयोगद्वारा रुसी साम्राज्यको पुनरुत्थान गर्ने पुटिनको प्रयत्न असफल हुँदैछ । यो चरण अब धेरै लामो जाँदैन, तर प्रश्न छ अझै कति समय ? पुटिनवाद र उनको मसिहागिरीलाई रुसी जनताले अझै कति समय ग्रहण गर्लान् ?

सर्वसाधारण रुसीहरू अझै पनि यो ठान्दछन् कि पुटिनले युद्ध जित्नेछन् । पुटिनले यो विश्वास दिलाउन खोजेका छन् कि युद्धमोर्चामा जानु नपरेकालाई युद्धको कुनै प्रभाव परेको छैन । रुसी जनता यस्तो आश्वासनमा खासै विश्वास त गर्दैनन्, तर युद्धको बेला आफ्नो देश र सरकारलाई समर्थन गर्नु कर्तव्य ठान्दछन्।

पुटिन शासनका प्रारम्भिक दिनमा रुसी समाजमा उदारवादी चिन्तन राम्ररी फष्टाएको थियो । मानिस विभिन्न कोणबाट बहस गर्थे । हरेक समस्याका वैकल्पिक सोच, नीति र उपाय अघि सारिन्थे । आज त्यही उदारवाद पुटिनको सबैभन्दा ठूलो शत्रु भएको छ ।

रुसको इतिहास हेर्दा जब अधिनायकवादी चरणको अन्त्य हुन्छ, देश उल्टो बाटो हिँड्ने गर्दछ । जस्तो कि, सन् १८६१ मा अलेक्जेन्डर द्वितीयको महान् सुधार, सन् १९५६ मा ख्रुश्चेभको निस्टालिनीकरण, सन् १९८५ मा गोर्भाचेभको पुनर्निर्माण र सन् १९९२ मा बोरिस यल्तसीनका सुधारहरू ।

तर, युक्रेनमा पुटिनको पराजय नै भयो भने पनि रुसमा अधिनायकवादको विचार सजिलै पराजित हुने छैन । ‘रुसी विचार’ को एक लामो परम्परा छ, जो हरेक कालखण्डमा नयाँ-नयाँ तरिकाले ब्युँतिने गरेको छ। पुटिनले युद्धोत्तर स्थितिको प्रतिरक्षा गर्न नयाँ शब्दहरू खोज्न सक्दछन् ।

वैयक्तिक तानाशाहीमा तानाशाह आफैँ एकै ठाउँमा रहँदैन । ऊ पेन्डुलमझैं यताउता हुन सक्दछ। तर, स्टालिन युगको अनुभवबाट हामी भन्न सक्छौं कि, जब तानशाही कमजोर हुन्छ, उदारीकरणको नयाँ युग सुरु हुन्छ । स्टालिनपछि कम्तीमा जनताले सोच्न, बोल्न र सास फेर्न पाएका थिए, यद्यपि कम्युनिस्ट शासन कायमै थियो ।

ठीक, त्यसैगरी पुटिनवादको अन्त्यपछि निपुटिनकीकरण पक्का सुरुवात हुन्छ, तर राज्यको संरचना केही समय कायमै रहन सक्दछ । रुसमा अधिकांश राजनीतिक रूपान्तरण माथि बाटै आएका छन्। अहिलेको सरकारकै राजनीतिक तथा कर्मचारीतन्त्रमा काम गरिरहेका शक्तिसम्भ्रान्तको वृत्तभित्र नयाँ सुधारवादी समूहको जन्म हुन सक्दछ । सायद त्यही नयाँ समूहले निर्धारण गर्ने छ कि, देशमा कतिसम्म आमूल परिवर्तन गर्नुपर्दछ ।

त्यो नयाँ समूहले पश्चिमसँग सहकार्य गर्ने बाटो लियो भने समूह–समूहबीच कठोर संघर्ष हुन सक्दछ र ती जेल पनि पर्न सक्नेछन् । तर, कुनै बीचको बाटो निकाल्ने सम्भावना हुन्छ । यसबारे यकिन अनुमान अहिले नै गर्न सकिँदैन । तर, रुसी राज्यको पवित्रतावादी विचार नमरुन्जेलसम्म राज्य रचनात्मक हुने कल्पना भने गर्न सकिन्न।

(फोरेन अफेयर्सबाट संक्षेपीकरणसहितको अनुवाद)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved