त्रिताल प्रतिवेदनले नखुलाएको पाटो-गुठी र मोही लुकाई यसरी भएको थियो जग्गा दर्ता
बालुवाटारको ललिता निवास जग्गा अपचलन प्रकरणका धेरै पाटा खुलेका छन्, केही खुल्न बाँकी छन्। पुराना सरकारी लिखत र दस्तावेजका आधारमा सुवर्णशमसेर राणा र उनको परिवारका नाममा जग्गा आउनुपूर्वको अवस्था बारे यो सामग्री केन्द्रित छ ।
काठमाडौं। बालुवाटारको ललिता निवास जग्गा अपचलन प्रकरणका धेरै पाटा खुलेका छन्, केही खुल्न बाँकी छन्। यस प्रकरणमा सुरूदेखि (२०१५ पछि) अहिलेसम्म भएका घटनाको ‘एक्सप्लेनर’ नेपाल भ्युजमा प्रकाशन भइसकेको छ। तर, पुराना सरकारी लिखत र दस्तावेजका आधारमा सुवर्णशमसेर राणा र उनको परिवारका नाममा जग्गा आउनुपूर्वको अवस्था बारे यो सामग्री केन्द्रित छ।
नेपाली कांग्रेसका नेता सुवर्णशमसेर राणा र उनको परिवारका नाममा रहेको २९९ रोपनी ९ आना जग्गालाई ‘ललिता निवास’ परिसर भन्ने गरिन्थ्यो। त्यहीबाट जग्गा अपलचन सुरु भयो भनेर अहिलेसम्म चर्चा भइरहेको छ । तर, केही सरकारी दस्ताबेज यस्ता भेटिएका छन्, सुवर्णशमसेर राणापछाडिका हकदारले जग्गा आफ्नो नाममा लैजाँदा गडबड गरेको पाइएको छ। जहाँ लालमोहर (गुठी र मोही) लुकाई जग्गा दर्ता गरिएको पाइएको छ।
०००
पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वको समितिका अनुसार सुवर्णशमसेरका नाममा रहेको १४ रोपनी ११ आना जग्गा पञ्चायतले २०१८ सालमा जफत गरेको थियो। बाँकी २८५ रोपनी १४ आना जग्गा भूमिसुधार ऐन लागू भएपछि २०२१ सालमा अधिग्रहण गरियो। समितिका अनुसार त्यही बिन्दूबाट बालुवाटार जग्गा प्रकरणको विषयमा बहस हुँदैगर्दा जानकारले भने यो प्रकरण टुङ्गोमा पुर्याउन अझै अगाडीबाट अध्ययन हुनुपर्ने बताएका छन्।
त्रिताल समितिले पनि सुवर्णशमसेरका नाममा जग्गा कसरी ल्याइयो भन्ने विषय प्रतिवेदनमा स्पष्ट राख्न नसकेको जानकारले औँल्याएका छन्। विसं १९५८ को लगत अनुसार गुठीको कतिपय जग्गालाई सुवर्णशमसेरको नाममा पारिएको तथ्य फेला परेको छ। तर, त्रिताल समितिले भने गुठीबारे थप अनुसन्धान गर्नुपर्ने सिफारिस गरेको छ।
अहिले त्रिताल समितिकै प्रतिवेदनकै आधारमा अख्तियार र सीआइबीले छानबिन अघि बढाए पनि सोही समितिले नै सुझाएको गुठीबारे थप अनुसन्धान गर्न दिएको सुझाव कार्यान्वयन भएको छैन। न त भूमिसुधार मन्त्रालय वा गुठी संस्थानले यकिनका साथ यसबारे बोलेका छन्।
२०१७ सालमा सुवर्णशमशेरले सन्तानको नाममा गरिदिएको बकसपत्रमा ‘फलानो गुठीको नाममा रहेको’ भन्ने विवरण उल्लेख नगरी सारिदिएको पुराना दस्ताबेज अध्ययन गर्दैआएकाहरूको तर्क छ। उनीहरू भन्छन् ‘‘त्यो जग्गा गुठीकै थियो । जोताहा मोही पनि थिए। सोझा सिधा मोही भएकाले उनीहरूले जग्गा कमाउँदै आए। तर जग्गाको धनीपुर्जामा ककस्ले के के मिलाए उनीहरूलाई थाहा भएन।’’
पुराना सरकारी लिखत र दस्तावेजका आधारमा बालुवाटारजग्गामा अहिलेसम्म थाहा भएका गुठीको जग्गाको पाटा समेटेर यो सामग्री तयार पारेका छौँ।
गुठी र मोही लुकाई यसरी भयो जग्गा दर्ता
१९५८ मा भीम समशेरलाई दरबार बनाउन आवश्यक परेकोले उक्त लगत किनेका थिए। त्यो लगतअनुसार किनिएका जग्गामध्ये राजगुठी, नेपाल सरकार गुठी, श्री ५ को सरकार गुठी, श्री ३ सरकार गुठी थिए। ती गुठी तथा अन्य जग्गामा (जोताहा) मोहीको नाम समेत थियो। यस्तो जग्गा ५२ रोपनी विभिन्न गुठीको नाममा थियो।
भीम समशेरले ती किनिएका जग्गा ३० वर्षपछि १९८८ सालमा श्री ५ त्रिभुवनबाट लालमोहर लगाउँदै प्रमाणित गरे। १९८६ मा भीम शमशेर प्रधानमन्त्री भए। यस्ता प्रकृतिको जग्गा गुठी संस्थानबाट राजगुठीमा दर्ता गर्न मिति ३० भदौ २०५२ को गुठी संस्थान सञ्चालक समितिको निर्णय बमोजिम सम्बन्धित कार्यालयमा गुठी संस्थानबाट परिपत्र जारी गरिएको थियो।
त्रिभुवनको २०११ सालमा देहावसान भयो। महेन्द्रले राजकाज सम्हाले। त्रिभुवनको पालामा राज्यले मनलागि हिसाबमा जग्गाको वितरण अपारदर्शी अवैज्ञानिक ढङ्गले गरेको थियो। महेन्द्रले भने २०१६ सालमा बिर्ता उन्मुलन ऐन लागु गर्दै व्यवस्थित बनाउने प्रयास गरे।
जुन जग्गा साबिकमा (मोही) किसानले खनजोत गरी उत्पादन गरेर आधाआधा वितरण गर्दै आएका थिए, बिर्ता उन्मुलन भयो। अब जग्गाको कर तिर्नुपर्ने भयो। ऐनको दफा ७ अनुसार १२० दिनभित्र मोहीका ती जग्गा अनिवार्य रैकरमा परिणत गर्नुपर्ने भयो। ती जग्गा बिर्ता नरहेपछि कर पनि तिर्नुपर्ने भयो।
कानुन लागू भएपछि सम्पूर्ण गुठीको जग्गा सुवर्ण शमशेरको नाममा आयो। केही जग्गा पछि गुठीको नाममा स्रेस्ता कायम भयो। सुवर्ण शमशेरको नाममा आएका जग्गा भने उनका हकदारमा जाँदा गडबड भएको विभिन्न कागजातमा देखिन्छ। सुवर्ण शमशेरबाट हकदारमा जग्गा जाँदा साबिक लालमोहर (गुठी र मोही) लुकाई दर्ता गरिएको जानकारको तर्क छ।
यसरी जग्गाको लगत मिति ३० असार २०२१ मा सुवर्ण शमशेरको हकदारको नाममा नामसारी गरियो। जग्गाको क्षेत्रफल समेत २९९ रोपनीबाट २७२ रोपनी कायम गरिएको त्यतिबेलाको कागजातबाट देखिन्छ।
(हाल साबिक नं. ४५६ मा २९९ रोपनी भई पछि २७२ रोपनी गराएको साबिक मुख्य स्रोत लालमोहर लुकाई रैकर हा.नं. ४५६ लाई मात्र मुख्य स्रोत भनी २९९ रोपनीलाई २७२ रोपनी मात्र उल्लेख भएको हुँदा, बाँकी जग्गा कता हरायो ? यो पनि त्रिताल प्रतिवेदनले प्रस्ट उल्लेख गरेको छैन ।)
०००
त्रिताल समितिको प्रतिवेदनमा ललिता निवासले चर्चेको जग्गा गुठीको भए/ नभएको त्यसको खोजबिन गर्नुपर्ने भने पनि पछिल्ला विभिन्न अभिलेख अनुसार त्यहाँ गुठीको जग्गा रहेको पाइन्छ। सो प्रतिवेदन अपुरो रहेकाले गुठीको जग्गा पुन: छानबिन हुनुपर्ने सरकारी सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिका अध्यक्ष अर्जुन बासु बताउँछन्।
उनी भन्छन्,‘‘सुवर्ण शमसेरको भनिएको जग्गा पहिला गुठीका हुन्। यो जग्गा १९५८ लालमोहरबाट गुठीको भनिएको छ। तर, अहिले छानबिन हुँदा, सुवर्ण शमसेरको परिवारमा नामसारी भएपछिको अवस्थाबाट मात्रै अनुसन्धान भएको छ।’’ तर, त्रिताल प्रतिवेदनमा २०६९ मा गुठी बनाइएको आधारमा कतिपयमाथि अहिले मुद्दा चलाइएको भन्दै पर्याप्त अध्ययन बिनै काम कारबाही थालिएको आरोप लागेको छ।
सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिका सचिव गणेश गणेश दवाडी भन्छन्, ‘‘त्रितालको प्रतिवेदनमा सरकारी सार्वजनिक गुठी जग्गा व्यक्ति विशेषको नाममा जान सक्ने हुँदा रोक्का राखीगर्नु भन्ने निर्देशन दिइएको थियो।
यसको मतलब बालुवाटार जग्गामा गुठीको जग्गा पनि छ है भन्ने देखियो। तर यतिचाँही गुठीको जग्गा छ है भनेर भनिएन। त्रिताल समितिको प्रतिवेदनमा हाम्रो मुख्य असहमति भनेको यहीनेर हो।’’
०००
मोहिले गुठीमै वाली बुझाउने गुठी जग्गालाई अद्यावधिक गर्न गुठी संस्थान ऐन २०३३ बन्यो। यसमा लालमोहर भई पहिलो संशोधन २४ मंसिर २०४१ पछि वास्तविक गुठीका जग्गा कायम गराउने प्रक्रिया सुरु भयो।
गुठी लगत तथा तहशील कार्यालय भद्रकाली काठमाडौंबाट चलानी नम्बर २४२२ १८ वैशाख २०४२ को पत्रबमोजिम काठमाडौं जिल्लाका ६४ पञ्चायत भित्रको विभिन्न नाममा गुठी जनिएका जग्गा राज गुठीमा दर्ता कायम गर्न मालपोत कार्यालयलाई पत्राचार गरियो।
सोही अनुसार १६ असार २०४२ मा ललिता निवासको जग्गामध्ये ३३ कित्ताको ५१ रोपनी १४ आना जति गुठीको जग्गा यकिन भयो। जुन विवरण मालपोत कार्यालय डिल्लीबजार तथा गुठी संस्थानमा समेत छ।
यसरी मुछिए बाबुराम भट्टराई
माथिकै विवरण अनुसार १८ असोज २०६९ मा भूमिसुधार मन्त्रालयबाट ‘पशुपति टिकिन्छा गुठी’ का नाममा जग्गा दर्ता गर्न मन्त्रीपरिषद्मा प्रस्ताव आएको थियो। जुनबेला बाबुराम भट्टराई प्रधानमन्त्री थिए। यही प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो।
मन्त्रिपरिषद्को उक्त निर्णयले सुवर्ण शमशेरबाट नेपाल सरकार समरजङ्ग कम्पनीका नाममा आएको ३ रोपनी १२ आना जग्गा ‘पशुपति टिकिन्छा गुठी’ का नाममा दर्ता गर्न शैद्धान्तिक स्वीकृति दिएको थियो।
पहिला गुठीकै नाममा रहेको जग्गा पुन गुठीमै लैजाने भनेर प्रस्ताव आएको र गुठी संस्थानले समेत स्वीकृति जनाइसकेकाले मन्त्रीपरिषदले निर्णय गर्नु स्वभाविक थियो । तर, यहाँनिर जग्गा दलालले गुठी नै नक्कली खडा गरेको पाइएपछि भने समस्या भयो । जसले गर्दा त्यतिबेला शैद्धान्तिक स्वीकृति दिने मन्त्रिपरिषद पनि छानबिनको दायरमा आएको हो ।
पहिल्लै गुठीको जग्गा कसरी सुवर्ण शमसेरबाट हकदारले आफ्नो नाममा ल्याएका थिए भन्ने बारे अहिले धेरै चर्चा भएको पाइँदैन । यो प्रकरणको छानबिन त्यहीबाट सुरु गर्नुपर्ने गुठी जग्गा संरक्षण समितिको माग छ ।
Facebook Comment
Comment