आलेख

चीनको पछिल्लो समस्या : पर्यटक आउनै छोडे

मान्छेहरू अहिले चीनलाई टाढा, विरानो र अलग महशुस गर्न थालेका छन् । ठीक ४ वर्षअघि यो उल्टो थियो । चीनलाई जीवन्त र जानैपर्ने ठाउँ मानिन्थ्यो।

चीनको पछिल्लो समस्या : पर्यटक आउनै छोडे

चीनले कोभिड–१९ व्यवधान हटाएको र सीमानाका पुनः खोलेको आधा वर्षभन्दा बढी भयो तर, थोरै अन्तर्राष्ट्रिय यात्री मात्रै चीन आइरहेका छन् । अर्को नराम्रो संकेत चीन र पश्चिमबीचको सम्बन्धविच्छेद हो, जसले लामो समय नकारात्मक असर पार्न सक्दछ।

चीनमा विदेशी भ्रमणकर्ताको अभावको प्रमाण बेइजिङ र सांघाईजस्ता ठूला शहरको तथ्यांकबाट लिन सकिन्छ । सीमा पुन: खोलेपछिको संख्या कोभिड–१९ अघिसँग तुलना गर्दा आधा वर्षको संख्या ३ महिनाको भन्दा पनि कम छ। राष्ट्रिय तथ्यांकको कुरा गर्दा यो आधा वर्षको पहिलो तीन महिनामा चीन मूल भूमिमा ५२ हजार मात्र विदेशी ट्राभल एजेन्सीमार्फत् आएका छन्, जबकि कोभिड–१९ अघिको तीन महिनामा ३७ लाख आएका थिए।

तीमध्ये पनि अधिकांश अमेरिका, युरोपको साटो चीनकै स्वशासित टापु ताइवान तथा भूभाग हङकङ र मकाउका छन्। चिनियाँ अर्धसरकारी पर्यटन संघका निर्देशक सिआयो क्यानहुईले मे महिनाको एक भाषणमा भनेका थिए–‘युरोप, अमेरिका, जापान र कोरियाबाट आउने आगन्तुकको संख्यामा उल्लेखनीय मात्रामा कमी आएको छ ।’

विदेशबाट कम पर्यटक र कमै व्यावसायिक व्यक्ति आउनुको अर्थ विदेशीको आफ्नै आँखाले चीन हेर्ने अवसर कम हुनु हो । यसबाट विदेशीहरूको चीनका स्थानीयसँगको अन्तर्क्रिया पनि कम हुन्छ, जसले भूराजनीतिक तनाव कम गर्दथ्यो । आगन्तुकको कमीले चीनमा लगानी कम हुन सक्दछ। गत वर्षको पहिलो तीन महिनामा चीनमा प्रत्यक्ष वैदेशिक लगानी १ खर्ब डलर थियो । यस वर्षको तीन महिनामा २० अर्बमा झरेको छ।

विदेशी आगन्तुक र प्रत्यक्ष वैदेशिक लगानीको कमीले चिनियाँ अर्थतन्त्रमा गतिरोध आएको छ। यसबाट हाउजिङ बजार मन्दीमा फसेको छ । युवा बेरोजगारी दरले कीर्तिमान छोएको छ। देशमा मुद्रास्फीति बढ्दै जाने भय बढेको छ । पहिलो तीन महिनाको तुलनामा दोस्रो तीन महिनाको वृद्धि कम छ ।

चीनमा आगन्तुकको संख्या कम हुनुको एउटा कारण पर्याप्त उडान नभएर पनि हो । हवाई सेवा अझै कोभिड अघिको अवस्थामा पुगेको छैन। तर, चीन र पश्चिमा देशबीचको बिग्रिँदो सम्बन्धले पनि पर्यटक चीन जान अनुत्सुक भएको विज्ञहरू बताउँछन्। जुन महिनामा अमेरिकी सरकारले आफ्नो देशका पर्यटकका लागि एक ‘ट्राभल एडभाइजरी’ जारी गरेको थियो, जसको अर्थ चीन मूलभूमि यात्राबारे पुनर्विचार गर्न चेतावनीसमेत हुन्थ्यो । त्यसको कारण अमेरिकी सरकारले ‘स्थानीय कानुनको स्वेच्छाचारी कार्यान्यवन’ बताएको थियो । यसभित्र फिर्ती प्रतिबन्ध र सम्भावित गलत नजरबन्दको सम्भावनासमेत छन्।

बोस्टनका एक व्यावसायिक परामर्शदाता म्याट केली भन्छन् कि, उनीसँग १५ वर्ष अघि दक्षिणी चीनको रमणीय पहाडी शहर गुइलिनको वरिपरि साइकल यात्रा गरेको मनमोहन सम्झना छ । त्यसपछि पनि उनले थप दुईपटक चीनको भ्रमण गरे । तर, उनी भन्छन् कि, अब उनलाई चीन जाने रहर छैन । उनी भन्छन्–‘मलाई फेरि एकपटक चीन जान पाए हुन्थ्यो जस्तो त लाग्छ, तर हिजोकै चीन मैले त्यहाँ पाउँला र ? चीनले यसबीच असाध्यै पश्चिमा विरोधी, विशेषतः अमेरिका विरोधीको छवि बनायो । त्यसैले चीन जान मलाई असजिलो लाग्छ ।’

पेन्सिल्भेनियाको प्लानेट ट्राभलले प्रतिवर्ष १५०० पर्यटक चीन पठाउँथ्यो। तर, कोभिडपछि १ जना पनि पठाएको छैन । यसका संस्थापक तथा अध्यक्ष पेगी गोल्डम्यान भन्छिन्–‘कोही चीन जानै चाहँदैनन् ।’ उनी थप्छिन्–‘पर्यटकको छनोट सूचीमा चीन यतिखेर सबैभन्दा तल छ। चीनको विषयमा मान्छेमा शत्रुतापूर्ण सोच बढ्दैछ । तर, आशा गरौं कि सधैँ त्यस्तो नरहला ।’

अमेरिकाको लिजर ट्राभलले सन् २०२३ को पहिलो ६ महिनामा सन् २०१९ को सोही अवधिको ४० प्रतिशत मात्र पर्यटक चीन पठाउन सक्यो । अस्टिन पर्यटन प्रविधि कम्पनीका मोन्डी होल्डिङका अनुसार यतिखेर उत्तर अमेरिका र चीनबीच कोभिड अघिको २० प्रतिशत पनि उडान छैनन् ।

जब ट्राभल एजेन्सीमा व्यवसायी ग्राहक खोज्दै हिँड्छन, अधिकांशले ‘चीनमा जोखिम छ’ भन्ने उत्तर दिन्छन्। सियाटलका डेन ह्यारिस भन्छन्–‘हिजो मान्छेले जोखिमको कुरै गर्दैनथे, लागत र भिसा प्रक्रियाको मात्र कुरा गर्थे । भिसा थप्ने विधिबारे सोध्थे ।’ उनी अगाडि भन्छन्–‘हिजो ल फर्मले चीनमा लागनीको प्रावधानबारे सल्लाह दिन्थे । आज कम्पनीहरू आफ्ना मान्छे चीन पठाउनुअघि धेरै चिन्तित हुन्छन् । नहुन पनि किन ?’ त्यसपछि उनले ड्यु– डिलिजेन्सलगायत केही पश्चिमा कम्पनीमाथि भर्खरै चीन सरकारले छापा मारेको प्रसंग उठाए । भने–‘जानै पर्ने अत्यावश्यक काम नपरी अब मान्छे चीन नै जान चाहँदैनन् ।’

ह्यारिस आफैँ बारम्बार बेइजिङ जान्थे । क्विङदाओमा बियर र सामुद्रिक खाना खान केही दिन रोकिन्थे । उनले अन्य अधिकारीहरूलाई त्यहाँ त्यस्तो जोखिम केही छैन भनेर बताउँथे । तर, उनी अहिले आफैँ चीन जान छोडेका छन् । कारण हो–चीन सरकारका केही नीतिको उनले खुलेर आलोचना गरे । त्यसपछि उनी चीन जान चाहँदैनन्। चीनको पर्यटन तथा संस्कृति मन्त्रालयलाई यसबारे सोध्दा कुनै उत्तर दिन चाहेन ।

चिनियाँ अधिकारीहरूले यसबीच अमेरिका, युरोप र जापानका व्यापार तथा वाणिज्य संघसँग भेटघाट र कुराकानी गरेका छन् । उनीहरू यो विश्वास दिलाउन चाहन्छन् कि चीनले अझै पनि विदेशी लगानीको स्वागत गरिरहेको छ । चीनमा प्रत्यक्ष वैदेशिक लगानीका लागि डराउनुपर्ने त्यस्तो केही कुरा छैन ।

चीनका लागि अमेरिकी राजदूत साई फेङले जुलाईको एक भाषणमा दुई देशबीच पर्यटन हुनुपर्ने बताएका थिए । उनले उडान बढाउने र पर्यटन आतिथ्यता वृद्धि गर्ने कुरा गरे । उनले वासिङगटनलाई आफ्नो ट्राभल एडभाइजरी समायोजन गर्नसमेत आग्रह गरे।

चीनमा आगन्तुकहरूको अभाव देखिइरहेको बेला थाइल्यान्ड र आइसल्यान्डमा भने कुनै हानी पुगेको छैन, जसको अर्थतन्त्र धेरै हदसम्म पर्यटन आधारित छ । चिनियाँ पर्यटक अहिले सन् २०१९ मा भन्दा बढी नै आन्तरिक पर्यटनमा खर्च गरिरहेका छन्। चीनमा त्यस्ता धेरै व्यवसाय छन् जो मूलतः पर्यटकमा भर पर्दछन्। पर्यटकको अभावले चीनका लागि विदेशीलाई त्यस्ता सकारात्मक प्रयास देखाउने अवसर गुम्दछ । मध्य चीनको झ्याङजंगजे राष्ट्रिय निकुञ्ज त्यस्तो क्षेत्र हो, जहाँ फिल्मी शैलीमा तैरिरहने चट्टानी संरचना छायांकन गरिएको छ । त्यहाँ मध्य मेसम्म २५, ६०० मात्र विदेशी पर्यटक आएका थिए, जो रेकर्ड कोभिड अघिको ५ महिनामा ५ लाखभन्दा बढी थियो ।

महामारीको बेला सबै सीमा बन्द थिए । थुप्रै टुरिस्ट गाइडले रोजगार गुमाएका थिए। एक चिनियाँ टुरिस्ट गाइड युले त्यो बेला विद्यार्थीलाई अंग्रेजी ट्युसन पढाउने गरेका थिए । अहिले उनी फेरि आफ्नो पेशामा फर्किएका छन् । तर, उनले स्थानीय पर्यटकमै भर पर्नुपरेको छ । विदेशी पर्यटक पाइरहेका छैनन् । उनी भन्छन् कि त्यसले गर्दा उनको आम्दानी महामारी अघिसँग तुलना गर्दा आधाभन्दा कम भएको छ ।

उनी भन्छन्–‘यो विश्वलाई एक-अर्कामा जोडीराख्न आवश्यक छ ।’ अंग्रेजी बोल्ने पर्यटकहरू मुख्यतः अमेरिका, युरोप र अन्य छिमेकी देशबाटै आउने हुन् । पश्चिमा देश र मध्य एसियाबाट पर्यटक घटे पनि रुसी पर्यटक भने चीनमा बढेको बताइन्छ। तर, चिनियाँ पर्यटन उद्योगका जानकार भन्छन्–‘रुसी पर्यटकले असाध्यै कम खर्च गर्दछन्।’

जुनमा राष्ट्रिय निकुञ्जले ८० भन्दा बढी अन्तर्राष्ट्रिय पयर्टन एजेन्टलाई बोलाएको थियो । तीमध्ये अधिकांश रुसबाट आएका थिए । चिनियाँ अधिकारीहरूले उत्तरी छिमेकी देशसँग उडान थप्ने वाचा गरेका थिए । त्यो भेलामा एक चिनियाँ पर्यटन अधिकारीले भनेका थिए पर्यटन उद्योगको लागि भूराजनीतिक तनाव अन्त्य हुनुपर्दछ । यसका लागि उनले चीनको केन्द्रीय सरकारसँग अनुरोध पनि गरे ।

सन् १९७० को दशकमा टेबल टेनिस खेलाडीको आदान-प्रदानलाई चीनमा ‘पिङपोङ कुटनीति’ भनिन्थ्यो । यसबाट चीन–अमेरिका सम्बन्ध सुधार गर्न मद्दत पुगेको थियो । ती अधिकारीले यस्तै केही नयाँ तरिका अपनाउन भनेका थिए । साथै, उनले भर्खरैको एलन मस्क कि आमाको चीन भ्रमणको पनि चर्चा गरेका थिए, जसले आफ्ना अनुभूतिसहित सकारात्मक सन्देश इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्।

एउटा अर्को समूह छ– जसले चीनलाई बाँकी विश्वबीच स्पष्ट पार्न चाहेको छ। ती त्यस्ता आप्रवासी हुन् जसले चिनियाँ समाज र उनीहरूको सम्बन्धित गृहदेश बीच पुलको काम गरिरहेका थिए । उनीहरूले आफ्ना परिवार र साथीभाइलाई भेटघाटका लागि चीन आउन निम्तो दिए । सन् २०२३ अगष्ट ४ को एक छापामा यस्तो शीर्षक देखिएको थियो– दुर्लभ विदेशी आगन्तुक चीनमा बढ्दै । तर, यो प्रयासले पनि पर्याप्त परिणाम दिएको छैन ।

३७ वर्षीय लगानी परामर्शदाता अलेक्जेन्डर सिराकोभ गत अगस्टमा सांघाईबाट आफ्नो देश बुल्गेरिया फर्किए । उनी भन्छन् कि, चीनबाट त्यस्ता धेरै प्रवासी फर्किएका छन् । उनका अनुसार उनीहरूको कम्पाउन्डमा त्यस्ता १० परिवार बस्थे, तीमध्ये ८ परिवार आफ्नो गृहदेश फर्किएका छन् । सिराकोभ भन्छन्–‘मान्छेहरू अहिले चीनलाई टाढा, विरानो र अलग महशुस गर्न थालेका छन् । ठीक ४ वर्षअघि यो उल्टो थियो । चीनलाई जीवन्त र जानैपर्ने ठाउँ मानिन्थ्यो।’

(वालस्ट्रिट जर्नलबाट अनुदित )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved