बीपी र पुष्पलालमा के-के समानता थियो, के-के भिन्नता ?

बीपीलाई ‘सान्दाजु’ भनिन्थ्यो भने पुष्पलाललाई ‘माल्दाइ’

बीपी आफूलाई अहिंसावादी भन्थे । तर, २००७ र २०१८ मा गरी उनले दुईपटक शसस्त्र क्रान्तिको नेतृत्व गरे । पुष्पलाल मार्क्सवादी सिद्धान्त र क्रान्तिकारी हिंसाका पक्षधर थिए । तर, उनले कहिल्यै कुनै शसस्त्र क्रान्तिको नेतृत्व गरेनन् ।

बीपी र पुष्पलालमा के-के समानता थियो, के-के भिन्नता ?

काठमाडौं। देशका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका एक महानायक बीपी कोइराला र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा वाम–लोकतान्त्रिक आन्दोलनका चिन्तक तथा योद्धा पुष्पलाल श्रेष्ठको स्मृति दिवस एक दिन मात्र अघिपछि छ ।

बीपी स्मृति दिवस– श्रावण ६ गते पर्छ र पुष्पलाल स्मृति दिवस श्रावण ७ गते । बीपी कोइरालाको जन्म वि.सं. १९७१ भाद्र २४ गते बनारसमा भएको थियो । उनको मृत्यु वि.सं.२०३९ साल श्रावण ६ गते काठमाडौंमा भयो । वि.सं. १९८१ आषाढ १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलाल श्रेष्ठको मृत्यु २०३५ साल श्रावण ७ गते भारतको नयाँदिल्लीमा भएको थियो ।

उनीहरूको जन्म महिना पनि अघिपछि छ-श्रावण र भाद्र । दुवैको पुर्ख्यौली जिल्ला देशको मध्यपूर्व भागमा थियो । तत्कालीन जनकपुर अञ्चल र अहिलेको बागमती प्रदेशमा । कोइरालाहरूको पुर्ख्यौली गाउँ सिन्धुली जिल्लाको दुम्जा हो । दुम्जाबाट विराटनगर बसाइ सरी कोइराला परिवार भारत निर्वासनमा गएको थियो ।

पुष्पलाल रामेछापबाट काठमाडौं हुँदै लामो समय भारत निर्वासनमा रहे । सिन्धुली र रामेछाप सीमा जोडिने जिल्ला हुन् । सुनकोसी वारि र पारि । राजनीतिमा आउनु अघि नै दुवैको राजनीतिक परिवार भइसकेको थियो । बीपीका पिताजी कृष्णप्रसाद कोइराला राणशासन विरोधी आन्दोलनमा सक्रिय थिए । आफ्नो समयमा उनले राम्रै ख्याति कमाएका थिए । उनी समाज सुधार आन्दोलनमा समेत सक्रिय थिए । बीपीको व्यक्तित्वमा पिताजीको प्रभाव र प्रेरणा थियो ।

पुष्पलाल भने १९९७ सालको शहीद पर्वका ४ शहीदमध्ये एक गंगालाल श्रेष्ठका भाइ थिए । उनी दाजुको व्यक्तित्व र बलिदानबाट प्रभावित थिए । विश्व कम्युनिस्ट आन्दोलनमा ठीक यस्तै संयोग रुसी अक्टोबर क्रान्तिका नेता लेनिन र उनका दाजु अलेक्सेन्द्रबीच थियो ।

अलेक्सेन्द्र नरोदनिक पार्टीका नेता थिए । उनलाई रुसी जारशाहीले फाँसी दिएको थियो । गंगालाल प्रजा परिषदका समर्थक थिए । उनलाई राणाशासनले फाँसी दियो । पुष्पलाललाई ‘नेपालको लेनिन’ समेत भनिन्थ्यो ।

बीपी र पुष्पलाल दुवै अध्ययनशील व्यक्ति र राम्रा लेखक थिए । तर, बीपीले राजनीतिको तुलनामा साहित्यमा धेरै लेखे । उनी मूलतः उपन्यास र कथा लेख्थे । वीपीले सुम्निमा, मोदीआइन, बाबु आमा र छोरा तीन घुम्ती, नरेन्द्र दाइ, हिटलर र यहुदी उपन्यास लेखे। ‘दोषी चश्मा’ र ‘श्वेत भैरवी’ उनको कथा संग्रह हो । आफ्नै कथा र आत्मकथा उनका अटोवायोग्राफी हुन् । उनको जेल जर्नल पनि प्रकाशित छ ।

पुृष्पलाल भने ‘ननफिक्सन’ लेखक र अनुवादक थिए । उनले मार्क्स र एंगेल्सको कम्युनिष्ट घोषणापत्र र माओ च तुङको ‘नयाँ जनवादबारे’ नेपालीमा अनुवाद गरेका थिए । त्यसका अतिरिक्त उनले कम्युनिष्ट आन्दोलन, इतिहासबारे थुप्रै किताब लेखेका छन् । पार्टीका दस्तावेज लेखेका छन्। उनका राजनीतिक लेख, दस्तावेज र सोधपत्रहरू ‘पुष्पलालका संकलित रचना’का रूपमा संग्रहित छन् ।

दुवैको निर्वासित जीवनको ठूलो हिस्सा भारतको बनारसमा वितेको थियो । निर्वासित जीवनको दु:ख, कष्ट र अभाव दुवैले भोगेका थिए । तर, भारतमा कोइराला परिवारको आफ्नै सम्पर्क र प्रतिष्ठा थियो । भारतीय शासक वर्गबाट समेत उनीहरूले कुनै न कुनै प्रकारको सहयोग पाउँथे । तर, पुष्पलाल एक सामान्य निर्वासित नेताको जीवन बाँच्थे । उनलाई भारतीय कम्युनिस्टहरूको पनि खासै सहयोग थिएन ।

२०१५ सालको पहिलो आम निर्वाचनमा बीपीले मोरङ–सुनसरी क्षेत्रबाट चुनाव जिते र प्रधानमन्त्री भए । पुष्पलाल काठमाडौंबाट कांग्रेसका गणेशमान सिंहसँग चुनाव हारे । पुष्पलाल श्रेष्ठ कहिल्यै कुनै राजकीय पदमा निर्वाचित वा नियुक्त भएनन् ।

बीपी राजनीतिक जीवनको प्रारम्भमा कम्युनिस्ट विचारबाट प्रभावित थिए । तर, भारतीय स्वतन्त्रता संग्राममा भाग लिने भारतीय गान्धीवादी तथा समाजवादी नेताको संगतले उनी प्रजातान्त्रिक समाजवादी बन्न पुगे । पुष्पलालको प्रारम्भिक राजनीतिक रुझान प्रजा परिषद् र नेपाली कांग्रेसप्रति थियो । उनी नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सचिवसम्म भएका थिए । लोकतान्त्रिक विचार र पार्टी परित्याग गरी उनी कम्युनिस्ट पार्टीको गठनतिर लागे । २००६ सालमा नेपाली कांग्रेस परित्याग गरेर २५ वर्षको उमेरमा उनी कम्युनिस्ट पार्टीको संस्थापक महासचिव भएका थिए।

दुवै पार्टीको गठन भारतमा भएको थियो– नेपाली कांग्रेसको गठन बनारसमा र नेपाल कम्युनिस्ट पार्टीको गठन कलकत्तामा ।

बीपी कोइरालाको नेतृत्व नेपाली कांग्रेसभित्र चुनौतिहीन र एकछत्रजस्तो थियो तर पुष्पलाल संस्थापक महासचिवबाहेक एकीकृत कम्युुनिष्ट पार्टीको महासचिव वा पार्टी प्रमुृख कहिल्यै भएनन् । नेकपाको पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी, दोस्रोबाट डा. केशरजंग रायमाझी र तेस्रो महाधिवेशनबाट तुल्सीलाल अमात्य महासचिव भएका थिए । तेस्रो महाधिवेशनपछि नेकपा दर्जनौं टुक्रामा विभावित भयो । त्यसमध्ये एक टुक्राको महासचिव पुष्पलाल भए।

दुवैले राणाशासन विरोधी आन्दोलनमा महत्त्वपूर्ण योगदान गरे । तर, २००७ सालको क्रान्तिमा पुष्पलालको तुलनामा बीपीको योगदान र भूमिका बढी थियो । बीपी राणाशासनको अन्त्यपछि पहिले मोहनशमशेर नेतृत्वको अन्तरिम सरकारमा गृहमन्त्री भए ।

बीपी आफूलाई अहिंसावादी भन्थे । तर, २००७ र २०१८ मा गरी उनले दुईपटक सशस्त्र क्रान्तिको नेतृत्व गरे । पुष्पलाल मार्क्सवादी सिद्धान्त र क्रान्तिकारी हिंसाका पक्षधर थिए । तर, उनले कहिल्यै कुनै सशस्त्र क्रान्तिको नेतृत्व गरेनन् । उनले कम्युनिस्ट आन्दोलनलाई शान्तिपूर्ण जनविद्रोहका रूपमा विकास गर्न खोजे ।

बीपी लोकतन्त्रवादी भएर पनि ‘संवैधानिक राजतन्त्र’ पक्षधर थिए । उनी कम्युनिस्टभन्दा राजतन्त्रसँग नजिक हुन रुचाउँथे । उनी बेलायती मोडेलको प्रजातन्त्रमा विश्वास गर्थे । पुष्पलालको राजनीतिक विचार भने मार्क्सवाद–लेनिनवाद–माओवादबाट प्रभावित थियो । उनी नयाँ जनवादी गणतन्त्र नेपाल स्थापना गर्न चाहन्थे तर, राजतन्त्रसँग भन्दा कांग्रेस र लोकतन्त्रवादीसँग नजिक हुन रुचाउँथे ।

२०१७ सालको राजा महेन्द्रको सैनिक ‘कु’ पछि पुृष्पलालले संयुक्त जनान्दोलन र विघटित संसद्को पुनर्स्थापनाको नारा दिए । तर, बीपी यसमा सहमत भएनन् । दुवैको मृत्यु ३० वर्षे निर्दलीय पञ्चायती शासनकालमा भयो । पुष्पलालको निधन २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहभन्दा अघि भयो र बीपीको पछि । जबकि, उमेरले बीपी पुष्पलालभन्दा १० वर्ष जेठा थिए ।

बीपीलाई ‘सान्दाजु’ भनिन्थ्यो भने पुष्पलाललाई ‘माल्दाइ’। दुवै नेताबीच प्रेम र घृणाको सम्बन्ध थियो । यी एक-अर्काको विचारको चर्को आलोचना पनि गर्थे र सहकार्यको प्रयत्न र अपेक्षा पनि गर्थे । देशको लोकतान्त्रिकीकरण र आधुनिकीकरणमा दुवैको अद्वितीय योगदान रह्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved