नरहरिनाथ- विद्वान जन्मिएको गुमनाम गाउँ

नरहरिनाथ- विद्वान जन्मिएको गुमनाम गाउँ

सुर्खेत । धेरैलाई थाहा नहुन सक्छ कि, अध्यात्मिक विद्वान नरहरिनाथ जन्मिएको गाउँबाट अहिले तीनजना सांसद निर्वाचित छन् । तर विडम्बना यहाँको पूर्वाधार विकासको स्थिति र जनताको जीवनस्तर भने दयनीय छ ।

विद्वान नरहरिनाथकै नामबाट गाउँपालिकाको नाम राखिएको छ । नरहरिनाथ गाउँपालिकाकै वडा नम्बर ८ का तीनजना अहिले बहालवाला सांसद छन् ।

राष्ट्रियसभाका सांसद नरबहादुर विष्ट, कर्णाली प्रदेशसभाका सांसद हिक्मतबहादुर विष्ट र विन्दमान विष्ट यहीं गाउँपालिकाको लालुमा जन्मिएका हुन् । नरबहादुर र विन्दमान सुर्खेतबाट र हिक्मतबहादुर कालिकोटबाट प्रतिनिधित्व गर्दै सांसद भए ।

हिक्मतबहादुर, नरबहादुर र विन्दमानका राजनीतिक गुरु मानिन्छन् । नरबहादुर र विन्दमानलाई कम्युनिस्टबाट राजनीति सिकाउने हिक्मतबहादुर अहिले कांग्रेसबाट विजयी सांसद हुन् । नरबहादुर र विन्दमान भने माओवादीबाट सांसद भएका हुन् ।

२०४८ सालमा कांग्रेस उम्मेदवार तिलकप्रसाद न्यौपानेसँग पराजित भएका विष्ट ३१ वर्षपछि कालिकोटमा कांग्रेसबाटै प्रदेशसभा सदस्य जित्न सफल भए । उनी कांग्रेसका न्यौपानेबाट २८६ मतले पराजित भएका थिए । न्यौपानेले आठ हजार आठ मत ल्याउँदा विष्टले सात हजार सात सय १७ मत ल्याएका थिए ।

गत मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा विष्टले कालिकोट प्रदेशसभा ‘ख’मा सदस्यमा १३ हजार ७८३ मत प्राप्त गरेका थिए ।

लालुमै जन्मिएका नरबहादुर विष्ट २०६४ सालमा माओवादी केन्द्रबाट संविधानसभा सदस्य सुर्खेत निर्वाचन क्षेत्र नं. ३ बाट विजयी भएका थिए । त्यसपछि २०७८ साल पुसमा भएको निर्वाचनमा उनी राष्ट्रियसभा सदस्य भएका हुन् ।

अर्का कर्णाली प्रदेशसभा सदस्य रहेका रहेका विन्दमान विष्ट सुर्खेत निर्वाचन क्षेत्र २ को ‘ख’बाट २०७४ र २०७९ सालमा भएको प्रदेशसभामा निर्वाचित भएका छन् । विष्ट कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्री समेत भइसकेका छन् ।

नरहरिनाथ योगी १९७१ फागुन १७ गते लालु गाउँमै जन्मिएका हुन् । उको २०५९ साल फागुन १३ गते काठमाडौंको मृगस्थलीमा निधन भएको थियो ।

योगी नेपालका एक अध्यात्मिक विद्वानका रुपमा चिनिन्छन् । वेद, वेदान्त, इतिहास, पुरातत्व, पुराण जस्ता अतिगहन विषयको अन्वेषकका रुपमा परिचित नरहरिनाथलाई यस क्षेत्रकै विद्वान मानिन्छ ।

यसरी ऐतिहासिक विद्वान जन्मिएको गाउँबाट अहिले तीनजना सांसह हुनु सुखद पक्ष भए पनि अपेक्षाकृत विकास नभएको भन्दै गाउँलेले दुःख व्यक्त गरेका छन् । स्थानीय मकरसिंह भन्छन्, ‘गाउँबाट नेतामात्रै भए, विकास भएन ।’


Comment

One thought on “नरहरिनाथ- विद्वान जन्मिएको गुमनाम गाउँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved