आलेख

समय भ्रमबारे आइन्स्टाइनका सिद्धान्तले के भन्छन् ?

विगत, वर्तमान र भविष्य जसलाई सामान्यतः हामी समय भनेर बुझ्छौं, बीचको भिन्नतालाई भ्रमका रूपका बुझ्नुको अर्थ के होला ? हुन सक्दछ भविष्य पनि विगतजस्तै कुनै स्थानमा बन्द छ र हामी केही मनोवैज्ञानिक कारणले त्यससम्म पहुँच राख्न सक्दैनौं ।

समय भ्रमबारे आइन्स्टाइनका सिद्धान्तले के भन्छन् ?

आइन्स्टाइनले एक वाक्य यस्तो लेखेका थिए–समय भ्रम हो । तर, यसो भनेर उनले के भन्न खोजेका थिए भन्ने पूर्णतः प्रष्ट छैन । उनले के भनेका हुन सक्दछन् ? यो बुझ्न हामीले उनले कुन परिस्थितिमा यसो भनेका थिए भनेर खोजी गर्नुपर्दछ ।

एक निरन्तर जिद्दीवाल भ्रम

आइन्स्टाइनका एक नजिकका साथी मिसेल बेसोको सन् १९५५ मा निधन भयो । शोकमा परेको बेसो परिवारलाई आइन्स्टाइनले एक पत्र लेखे, स्वयं आफ्नो मृत्युभन्दा एक महिना अगाडि । उनको पत्रमा भनिएको थियो–‘उनी अब मभन्दा अलि अगाडि नै यो अनौठो संसारबाट बिदा भएका छन् । तर, यसको कुनै महत्त्व  छैन। भौतिकशास्त्रमा विश्वास गर्नेका लागि विगत, वर्तमान र भविष्यबीचको भिन्नता एक निरन्तर जिद्दीवाल भ्रम मात्र हो ।’

स्पष्ट छ कि, यो लेखिरहँदा आइन्स्टाइनले समयको प्रकृतिबारे केही गहिरा विचार गरेका थिए। दुर्भाग्यको कुरा– उनले हाम्रा लागि यसबारे कुनै थप व्याख्या गरेनन् । न त उनले आफ्ना अघिल्ला काममा यसबारे संकेत गरेका थिए । विगत, वर्तमान र भविष्य जसलाई सामान्यतः हामी समय भनेर बुझ्छौं, बीचको भिन्नतालाई भ्रमका रूपका बुझ्नुको अर्थ के होला ?

कतिपय दार्शनिक तथा भौतिकशास्त्री आइन्स्टाइनको उक्त वाक्यलाई सतही अर्थमा लिन्छन्। समय एक भ्रम हो कि भनेर सोच्ने आइन्स्टाइन पहिलो व्यक्ति थिएनन् । आइन्स्टाइनको आफ्नै विशेष सापेक्षताको सिद्धान्तले यो वाक्यलाई बढी प्रशंसनीय बनाउँछ ।

विशेष सापेक्षताको सिद्धान्त

उदाहरणका लागि सापेक्षताको एउटा मुख्य पक्ष ‘अब के हो ?’ भन्ने विषयमा देख्नेहरूबीच सहमति हुन जरुरी हुँदैन । यो दैनिक अन्तर्ज्ञान र न्युटनको भौतिक विज्ञानको विपरीत हो । जस्तो कि, हामी घडीलाई संसारभरि एउटै समय दिनेगरी मिलाउँछौं । यसको अर्थ हुन्छ– साथ–साथ देखिने वा हुने क्रिया (सिंक्रोनाइजेसन) ब्रह्माण्डीय चरित्रको छ । यदि, तपाईंले आफ्ना औँलाले चुट्की बजाउनुभयो भने यो ब्रह्माण्डमा भएका सबैले सहमत भएर भन्नुपर्ने हुन्छ कि, तपाईंले चुट्की बजाउनुभो, ठीक हो ? तर, सापेक्षताले यसलाई गलत बनाइदिन्छ ।

विभिन्न अवलोकनकर्ता ‘अब को हो, के भो’ भन्नेमा गतिका आधारमा असहमत हुनेछन् । संकेतहरूले प्रकाशको गतिभन्दा छिटो यात्रा गर्न सक्दैनन् । यसको अर्थ हुन्छ, एक-अर्काको नजिक भएका देख्नेहरू मात्र सहमत हुन्छन्।

यदि, तपाईंले पृथ्वीमा सबैले थाहा पाउनेगरी औलाको चुट्की बजाउँनु भयो भने पनि मंगलग्रहमा रहेको अन्तरिक्ष यात्रीले करिब ३ मिनेटसम्म त्यो पत्तो पाउँदैन । अर्थात् ‘अब’ को अर्थ मंगल ग्रहका बासिन्दाका लागि तपाईंको भन्दा फरक छ ।

समकालीन सापेक्षता भनेको के हो ?

तर, ‘अब’ को अवधारणा सापेक्षतामा जति अस्पष्ट हुन्छ– केही चिजहरू जस्तै कार्यकारण सम्बन्धमा संरक्षित हुन्छ । प्रकाशको गतिमा ढिलो वा चाँडो ती घटनालाई देख्नेहरू समय अवधिका बारेमा असहमत भए पनि घटना अनुक्रमबारे सहमत हुनेछन्। तसर्थ, सापेक्षतामा पनि कार्यकारण सम्बन्ध हुन्छ । कारणले प्रभाव निम्त्याउँछन् । अतित सधैं वर्तमानभन्दा पहिले हुन्छ । वर्तमान भविष्यभन्दा पहिले आउँछ । यसको अघिपछि हुने दर कति छिटो वा ढिलो हो भन्ने कुरामा हामी सहमत हुन सक्नेछैनौं । तर, विगत, वर्तमान र भविष्यको अनुक्रममा सहमत हुनेछौं ।

समकालिक सापेक्षताले भौतिकशास्त्रीहरूलाई दार्शनिक धारणा विस्तार गर्ने अनुमति दिन्छ । मानिसको सहज ज्ञान हुन्छ कि विगत पहिले नै आउँछ र कुनै स्थानमा बन्द हुन्छ । सम्झनाहरूमा बाहेक विगतमा पहुँच बनाउन सकिँदैन, जबकि हामी वर्तमानको निरन्तर अनुभव गर्दछौँ । भविष्य पनि दुर्गम र अज्ञात रहन्छ, जबसम्म हामी त्यहाँ पुग्दैनौँ र त्यो वर्तमान बन्दैन ।

तर, सायद समयबारेको यो धारणा एक अनुभव मात्र हो । हुन सक्दछ भविष्य पनि विगतजस्तै कुनै स्थानमा बन्द छ र हामी केही मनोवैज्ञानिक कारणले त्यससम्म पहुँच राख्न सक्दैनौं । हुन सक्दछ हाम्रो चेतनाले मात्र भूतबाट वर्तमान हुँदै भविष्यको प्रवाह माग्दछ । तर, वास्तविकतामा त्यहाँ कुनै यस्तो कठोर निर्देश वा नियम नै हुँदैन ।

ब्लक ब्रह्माण्ड भनेको के हो ?

एक यस्तो अवधारणा जसले सबै भएका र हुन बाँकी घटनाहरू कुनै स्थानमा पहिलेदेखि नै अवस्थित छन् भन्ने मान्दछ, त्यसलाई ‘ब्लक ब्रह्माण्ड’ भनिन्छ । यसमा स्थानका तीन र समयका एक सबै आयाम एउटै एकाइमा अवस्थित हुन्छन्।

हामी समय-रेखामा यात्रा गर्दछौं । घटनाको त्यस्तो प्रवाहलाई अनुभव गर्दछौं, जो वास्तवमा त्यहाँ छैनन् । घटनाबाट हामी श्रृंखलाबद्ध कथाहरू सिर्जना गर्दै अघि बढ्छौं, जुन जहिले पनि हुने गइरहेको हुन्छ । ती घटना ब्लक ब्रह्माण्डमा थिए, तर ती हामीलाई हाम्रो जीवनमा घटित भइरहेजस्तो लाग्दछ ।

आफ्नो मित्रको व्यथित परिवारलाई पत्र लेख्दै गर्दा सायद आइन्स्टाइनको दिमागमा यस्तै कुरा आएको थियो । यस दृष्टिकोणबाट भूत र भविष्यबीचको भिन्नता दायाँ र बायाँ, तल र माथिको भिन्नताजत्तिकै मनमानी र सरल छ ।

आइन्स्टाइन आफैँले पनि आफ्नो पत्रमा समयलाई स्वबोधक रूपमा उल्लेख गरे– ‘अब उनी मभन्दा अगाडि गए ।’ यसो भन्नुको मतलब आइन्स्टाइनले ब्लक ब्रह्माण्ड जस्तै केहीमा विश्वास गरेका हुन सक्दछन् । तर, ब्लक ब्रह्माण्ड आफैंले पनि समय समाप्त गर्दैन वा समयलाई भ्रम भन्दैन । यसको साटो, यसले हाम्रो समय प्रवाहको व्यक्तिपरक अनुभवमाथि प्रश्न गर्दछ । र यो निश्चय नै दार्शनिक बहसका लागि हो । ‘अब’ को लागि हो, नि:सन्देह ।

(डिस्कभर म्यागजिनबाट अनुदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved