आलेख

पाकिस्तानमा ‘मयूर क्रान्ति’ ?

विडम्बनापूर्ण कुरा के छ भने हालका वर्षमा भइरहेका सुधार जनआन्दोलन ‘पाकिस्तानी तालिवान’ प्रारूपका धार्मिक राजनीतिक आन्दोलनको नजिक छन् । यसमा यथास्थितिप्रतिको अस्वीकृति छ, तर सरिया कानुन लागू गर्नेजस्ता केही ठोस माग र वैकल्पिक दृष्टिकोणसमेत समावेश छन् ।

पाकिस्तानमा ‘मयूर क्रान्ति’ ?

जब राजनीतिक रोटेपिङको यो चक्र रोकिएला त्यतिखेर पनि एउटा तस्वीर बाँकी नै रहनेछ : नीलो सर्जिकल मास्क ओढेको एक युवाले छक्क परिरहेको मयूर च्यापेको तस्वीर ।

यो मयूर इमरान खानको गिरफ्तारीले उत्पन्न उत्तेजनाका क्रममा लाहोरका एक सैन्य कमान्डरको घरबाट लुटिएको थियो, जो जनतासँग सम्बन्धित हो भन्ने अधिकारपूर्ण पुनर्दाबीको बिमार–सोचको संकेत हो । कसैलाई लाग्छ कि, अब यो मयूरको के दशा होला र कोही डराउँछन् कि मयूरको भलो कसरी गर्ने ? मयूरको भाग्यलाई यतिखेर पाकिस्तानको आम राजनीतिक परिचालनको विम्बका रूपमा ग्रहण गर्न सकिन्छ।

पाकिस्तानमा पछिल्ला दिनका अभूतपूर्व घटनाहरूले फेरि एकपटक यो प्रश्न उब्जाएको छ– के कुनै क्रान्ति आउँदैछ ? सामाजिक सञ्जालमा ‘एंग्री यंगम्यान’ का त्यस्ता भिडियोको बाढी नै आएको छ, जो सैन्य कमान्डरको घरमा लुटपाट गर्ने, बत्ती तोडफोड गर्ने र फर्निचर जलाउने गर्दैछन् । खाद्य मुद्रास्फिति ४० प्रतिशतभन्दा माथि भएको र धेरैजसो मानिसलाई दुई छाक खानसमेत कठोर संघर्ष गरिरहनुपरेको देशको सम्भ्रान्त वर्गको भान्साकोठामा भने जमेको स्ट्रबेरी फेला पारिँदैछ ।

सर्वसाधारणले सैन्य जर्नेल हेडक्वार्टरको ढोका धकेलिरहेका अकल्पनीय र चिन्ताग्रस्त परिदृष्यले यथास्थितिलाई अझै चुनौती बढाइरहेको छ । यथार्थमा यसभित्र धेरै प्रकारका क्रान्तिकारी अवयव चर्को मुद्रास्फिति, विभाजित राजनीति, गुमाउनका लागि केही नभएको हतियारयुक्त समाज, छुनै नहुनेजस्तो बनेका सम्भ्रान्त संस्थाको पवित्रतालाई चकनाचुर पार्न सक्ने नयाँ क्षमता समिश्रित छन् ।

तर, अशान्ति र अश्रुग्यासको सेतो धुवाँको बाबजुद आम चाहनाको गणना गर्न सम्भव छैन । किनकि, जनआक्रोश कुनै नयाँ बनाउने दूरदृष्टिभन्दा पुरानोलाई ध्वंश गर्ने प्रतिक्रियावादी उद्देश्यले प्रेरित छ। नयाँ प्रतिमान, नयाँ समाज र नयाँ स्थिति सिर्जना गर्न सकेको देखिन्न ।

यदि, यसलाई जनान्दोलन नै भइरहेको छ भनेर मान्ने हो भने यो सबैको ‘विरोधी’ छ केहीको पनि पर्याप्त ‘पक्षधर’ छैन । र इतिहासले हामीलाई यो सिकाएको छ कि घृणाले मात्र केही चिज बनाउन सकिँदैन । यो नाजुक समयमा पनि सवालजनित जनपरिचालनको अभाव पाकिस्तानको सवालयुक्त राजनीतिको अभावको प्रतिबिम्ब हो । इतिहासका अधिकांश क्षण सैनिक शासनको अधिनस्थ रहेको एक अधिनायकवादी राज्यका रूपमा यसको राजनीति सधैं अस्तित्वका लागि संघर्षको बन्यो, जनसेवा हुन सकेन ।

पाकिस्तानी राजनीतिका सबै विमर्श विपक्षीलाई कमजोर पार्ने र आफूलाई अन्ध समर्थकको मालिक बनाउने विकृतिबाट उत्पन्न छ । ती विकृति अब जनपरिचालनमा प्रतिविम्बित भएका छन् । यहाँ क्रोध र नकारात्मकता पर्याप्त छ तर, भुइँतहमा गरिनुपर्ने सिर्जनशील सक्रियता थोरै छ ।

हामीलाई थाहा छ कि हामी के-के चाहँदैनौं तर, हामी के-के चाहन्छौं भनेर सोच्ने साहस भने कहिल्यै गरेका छैनौं । एक सफल क्रान्तिका लागि चाहिने धरै महत्त्वपूर्ण तत्व हामीसँग छैनन् । जस्तो कि, व्यक्तित्व पूजाभन्दा बाहिरको उत्तरदायी नेतृत्व, आन्दोलनको सन्देशलाई प्रसारित र समर्थन गर्न सक्ने निष्पक्ष सञ्चार जगत, संरचनात्मक परिवर्तनको आवश्यकतालाई बुझ्ने जनसंख्या र परिकल्पित लाभका लागि त्यसमा सहभागिता गर्न सक्ने तत्परता ।

एक सफल क्रान्तिका लागि हाम्रो युवा र शहरिया जनमतले यी पछिल्ला मापदण्ड पूरा गर्न सक्नु पर्ने हुन्छ । तर, गलत सूचनाको व्यापकता, षड्यन्त्र सिद्धान्त र सार्वजनिक शिक्षा क्षेत्रका गढबढीले आवश्यक आलोचनात्मक समझ सीमित छ ।

विडम्बनापूर्ण कुरा के छ भने हालका वर्षमा भइरहेका सुधार जनआन्दोलन ‘पाकिस्तानी तालिवान’ प्रारूपका धार्मिक राजनीतिक आन्दोलनको नजिक छन् । यसमा यथास्थितिप्रतिको अस्वीकृति छ, तर सरिया कानुन लागू गर्नेजस्ता केही ठोस माग र वैकल्पिक दृष्टिकोणसमेत समावेश छन् ।

दशौं हजार पाकिस्तानीलाई मारिसक्दा पनि ‘पाकिस्तानी तालिवान’ प्रारूपको राजनीतिले दशकौंदेखि जनतामा केही आकर्षण बनाइराख्नु कुनै अचम्मको कुरा हैन । यो आफैँमा पाकिस्तानीको मुद्दा–केन्द्रित राजनीतिको भोकको प्रमाण हो ।

नि:सन्देह, हालैका दिनमा यसभित्र हिंसा र अतिवादी झुकाव बिनाका जनान्दोलन प्रयास पनि समावेश छन् । ग्वादरका ‘पीटीएम’ र ‘हक दो तेहरिक’ लाई धन्यवाद छ, जसले प्रगतिशील राजनीति र विशिष्ठ जनमुखी एजेन्डालाई प्रस्तावित गरिरहेका छन् ।

दुर्भाग्यको कुराः पाकिस्तानमा यथास्थितिबाट लाभान्वितले एक अर्थपूर्ण जनान्दोलनको जोखिमलाई बेलैमा बुझ्न सक्दछन् । जब उनीहरूलाई यस्तो अनुभूति हुन्छ, उनीहरूले त्यस्ता आन्दोलनकारी समूहका नेतृत्वलाई निस्तेज पार्दछन् । चाहे त्यो जेल जीवन बढाएर होस वा उनीहरूलाई ‘मिडिया ब्लाक आउट’ गरेर होस ।

इमरान खान र अली बजिरको कारावास अवधिको तुलनाले कुन आन्दोलनले वास्तवमा प्रभाव पार्ने सम्भावना बढी छ भन्ने कुराको संकेत दिन्छ । पश्चिममा यो एक बढ्दो मान्यता छ कि जनआन्दोलनहरू यथास्थितिलाई चुनौती दिन र सफल हुन त्यतिखेर सम्भव हुन्छ, जब तिनले विशिष्ठ जनमुखी मागमा आधारित राजनीतिक विकल्प प्रस्तुत गर्न सक्दछन् ।

उदाहरणका लागि, जलवायु परिवर्तन सवालका अभियन्ता श्रम आन्दोलन, अल्पसंख्यकको अधिकारको आन्दोलन, समानता, मानव अधिकार र सामाजिक सुरक्षा आन्दोलनजस्ता प्रगतिशील आन्दोलनसँग पंक्तिबद्ध हुन खोजिरहेका हुन्छन्।

पाकिस्तानीहरू एकजुट हुनुपर्ने मुद्दाको संख्या अचम्मलाग्दो गरी धेरै छ । खाद्य सुरक्षा, कार्यसुरक्षा, कार्य गरिमा तथा श्रम गौरव, अभिव्यक्ति स्वतन्त्रता, अल्पसंख्यक अधिकार, कल्याणकारी योजनाको रक्षा, स्वास्थ्य सेवा प्रावधान, जलवायु अनुकूलन आदि ।

जबसम्म हामी आफ्ना अधिपतिका लागि एक-अर्काविरुद्ध लड्ने राजनीति गर्छौं, जनताको राजनीति गर्न सिपालु हुँदैनौं, तबसम्म हाम्रो भविष्य दंगा मात्र हुनेछ, सुधार हैन ।

डानबाट अनुदित 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved