फिल्म समीक्षा

उपेन्द्र सुब्बाको जारी : फिल्म कि जाँड ?

फिल्मलाई यदि जाँड मान्न मिल्छ भने, यसो भन्न सकिन्छ कि निर्देशक सुब्बा जाँडमा मर्चा मिलाउन असाध्यै सिपालु रहेछन्! आउनुस्, फिल्मलाई यति मादक बनाउन सुब्बाले हालेको मर्चा केलाएर हेरौँ।

उपेन्द्र सुब्बाको जारी : फिल्म कि जाँड ?

आफ्नो पहिलो चलचित्र जारीको प्रदर्शनसँगै कवि उपेन्द्र सुब्बाले आफूलाई फिल्म निर्देशकका रूपमा समेत स्थापित गराइसकेका छन्। दोस्रो हप्ता पूरा गरी हिजो शुक्रबारदेखि तेस्रो हप्तामा प्रवेश गरेको जारीको चर्चा अझै पनि चुलिँदो छ।

फिल्मलाई यदि जाँड मान्न मिल्छ भने, यसो भन्न सकिन्छ कि निर्देशक सुब्बा जाँडमा मर्चा मिलाउन असाध्यै सिपालु रहेछन्! आउनुस्, फिल्मलाई यति मादक बनाउन सुब्बाले हालेको मर्चा केलाएर हेरौँ।

ह्युमर

पहिलो नं मा यो एउटा प्रेम-वियोगको कथा हो जसले दर्शकलाई हँसाउन बिर्सिँदैन। के भनी यसले जस्तो मान्नुभयो होला। तर, म ठीक भन्दैछु। भलै जारीको कथा जहाँ पुगेर टुङ्गिन्छ त्यो सुखद छ तर, कथाले यात्राभर एक दम्पतीको वियोगलाई साथ लिएर हिँडेको छ। पात्रसँगसँगै यात्रा गरिरहँदा कतिपय मोड यस्ता आउँछन् जहाँ तपाईंको गलाभित्र केही चिज गाँठो परिदिन्छ भने कतिपय ठाउँ यस्ता पनि छन् जहाँ तपाईं दिल खोलेर हाँस्नुहुन्छ।

यसर्थमा, कथा वियोगको भए पनि दर्शकलाई चाहिने मनोरञ्जन जारीले मनग्ये दिएको छ। जारीमा प्रयोग भएका ह्युमरले वास्तवमै फिल्म सन्तुलित बन्न पुगेको छ।

जारी नामको जाँडमा मिलाइएको पहिलो मर्चा त ह्युमर नै पो होला! यसमा दुई मत नहोला!

मानिस सामाजिक प्राणी हो

आजभन्दा २३०० वर्षअघि अरस्तुले भनेका थिए कि मानिस एक सामाजिक प्राणी हो। लिम्बू समाज र संस्कृतिको सेरोफेरोमा रहेर एउटा जोडीको कथा भनेको छ फिल्मले। तर, यतिबेला म लिम्बू समाज र संस्कृतिभित्र छिरिहाल्दिनँ। त्यसको लागि म छुट्टै समय तल निकाल्ने नै छु। अहिले भने अलि माथिबाट तर दृश्यहरूलाई गहन ढंगले केलाएर हेरौँ।

लोग्ने र स्वास्नीको सम्बन्ध जोडिनु र तोडिनुमा समाजको कति र कस्तो भूमिका हुन्छ होला? जारी हेरिसकेपछि मलाई यो प्रश्नले चिमोटिरहेको छ। किन ? किनभने मैले देखेँ जारीभित्र नाम्साङ र हाङ्माको सम्बन्धमा समाजले पारेको प्रभाव- कतै नकारात्मक त कतै सकारात्मक!

बिहे भएको ५-५ वर्षसम्म बच्चा हुन नसकेको जुन अवस्था छ यसैबारे कुरा गरौँ। समाजलाई गायब नै पारिदिने हो र लोग्ने र स्वास्नीलाई मात्र अस्तित्वमा छोडिदिने हो भने दुईबीच यति नै विषयमा झगडा कदापि पर्ने थिएन। हो, यो दुवैको चिन्ताको विषय अवश्य हुन सक्थ्यो, एउटै चिन्ताले खाइरहँदा दुवैले एकअर्कालाई सान्त्वना र सहानुभूति दिने क्रियाकलाप पनि कल्पना गर्न सकिने विषय हो। तर, समाज भन्ने कुराको अस्तित्व हुन्नथ्यो भने यी दुईबीच यही विषयमा झगडा नै पर्थ्यो भन्नेमा कमसेकम मलाई त शंका छ।

राम्रो फिल्म त्यो हो जसले बहस र छलफलका लागि विषयवस्तु सिर्जना गरिदिन्छ। वास्तवमै, यस विषयमाथि बहस गर्न सकिन्छ।

जारीमा नाम्साङ र हाङ्माबीचको झगडा बच्चाकै विषयलाई लिएर परेको कुरा यथार्थ हो किनभने त्यो स्पष्ट छ। तर, यसै विषयमा समाजको भूमिका भने अनुमानित हो जुन फिल्ममा देखाइएको छैन। खैर, मलाई विश्वास गर्नुस् मैले समाजलाई यहाँ अनावश्यक घुसाएकी होइन। समाज त्यहाँ छ, बस् यो दृश्यमा देखिएन र मात्र। अब तपाईं सोध्नुहोला- अरू कुनचाहिँ दृश्यमा देखिएको छ त? लोग्ने-स्वास्नीको प्रेम र झगडामा समाज अन्त कहाँ आएको छ ?

सम्झिनुस् त, जब माइतीले जारी तिर्न नसकेपछि हाङ्मा पुनः नाम्साङको घर फर्किन्छे तब, पोइल गइसकेकी स्वास्नी फिर्ता ल्याएको भन्दै नाम्साङलाई नामर्द भन्ने को हो? तपाईं पात्रको नाम सम्झिन खोज्दैहुनुहुन्छ? बस् यति सम्झिनुस् त्यो पात्रको नाम समाज हो। ऊ नाम्साङको समाजको एक प्रतिनिधि पात्र हो। समाजले कुनै केटी नपाएर अर्कैसँग गइसकेकी स्वास्नीलाई नै फिर्ता ल्याएको भन्दै नामर्दको ट्याग लगाइदिएपछि नाम्साङ अर्को बिहे गर्न सुरिएर हिँडेको छ।

भलै, उसले केटी पाएन त्यो छुट्टै कुरा हो। तर, पाएको थियो भने ? नाम्साङले हाङ्मामाथि सौता हालेको थियो भने ? के उनीहरूको मिलाप कहिल्यै सम्भव हुन्थ्यो होला ? हुन्थ्यो नै भने पनि, के त्यो हाङ्माले हालेको जाँडजस्तै मीठो हुन्थ्यो होला ? अनि, के समाजले भूमिका खेलेको छैन त लोग्ने र स्वास्नीको सम्बन्धमा खेल्दोरहेनछ त ?

अँ त, तपाईं-हामी सबैले पनि आ-आफ्नै ठाउँबाट समाजको भूमिका निभाइरहेका हुन्छौँ। हामीले अरूका बारे बोल्ने एक-एक शब्दले उनीहरूको जीवनमा ठूलो प्रभाव पारिरहेको हुनसक्छ। जारी हेरेर मैले उहिल्यैदेखि जानिराखेको तर आजसम्म बेवास्ता गर्दै आइरहेको यो विषयमा गम्भीर हुने प्रण गरेकी छु।

यो यहीँनेर सकिएको छैन। समाजले नाम्साङलाई हाङ्मामाथि सौता हाल्न उक्साएको मात्र छैन। समाजले झगडा बिर्सिएर मिलेर बस्न पनि हौस्याएको छ। समाजको अर्को प्रतिनिधि पात्र उर्फ मङ्गलसेनले कथाको उत्तरार्द्धतिर नाम्साङलाई जिस्काएको छ, हाङ्मा (पूर्वस्वास्नी)सँग लभ परेछ भनेर। भलै, नाम्साङले यो कुरा मुखैले स्वीकारिहाल्न सकेको छैन तर, मङ्गलसेनले यति भनिदिँदा हाङ्मालाई पुन: स्वास्नी स्वीकार्न उसलाई हिम्मत भने मिलेको छ। उसले बुझेको हो त्यसैपछि, हाङ्मालाई नाम्साङकी स्वास्नी स्वीकार गर्न समाज पनि अब त तयार भइसकेछ । यो बुझेर उसले सन्तोषको श्वास फेरेको हो। हाङ्माको अंगालोमा रोइदिएरै सही! खुट्टामा चोट लाग्नु त खाली एउटा बहाना हो।

व्यक्ति, समाज र व्यक्ति र समाजबीचको मनोविज्ञानलाई राम्रोसँग बुझ्नु भनेको यदि जाँडमा मर्चा राम्रो मिलाउनु हो भने, उपेन्द्र सुब्बाले यसमा पनि दर्शकको स्याबासी पाएका छन्। अरस्तु सही थिए, मानिस साँच्चै नै सामाजिक प्राणी हो!

लिम्बू समाजका संस्कृति र नारी

भनेकै थिएँ, समय निकाल्छु यो विषयमा बोल्न पनि। अलिकति समय लिएरै समय निकालेँ। किनभने, मलाई संस्कृतिको कुरा मात्र गर्नु छैन। लिम्बू संस्कृतिले नारीलाई कुन स्थानमा राखेको छ त्यसको पनि कुरा गर्नु छ। नारीको कुरा अलि भारी नै हुन्छ, भन्नासाथ नउठ्न पनि सक्छ। तर उठेपछि केही छाप त बसाएरै छोड्छ। खैर, मुद्दातर्फ नै लागौँ।

१. युप्पारुङ

विवाह हुन्छ, नारी र पुरुष समाजलाई साक्षी राखेर एक-अर्का हुन्छन्। तर, जन्मेको घर छोडेर नारी जान्छे पुरुषको घर, पुरुष जाँदैन नारीको घर। किन ? यसपछाडिको कारण के होला ? यस्तो नै नियम किन बनाइयो होला ? यो एउटा राम्रो अनुसन्धानको विषय हो। मानव समाजको बृहत् विषय हो यो। अहिलेलाई हामी मानव समाजभित्रको पनि खाली एउटा सानो अंश लिम्बू समाजको कुरा गर्नेछौँ।

साँच्चै, नारी आफ्नो जन्मघर छोडेर पुरुषको घर जान्छे! यो विभेद होइन र ? सिङ्गो मानव समाज र सभ्यताको कुरा गर्दा यो कुरो पनि पक्कै समेटिएला। लिम्बू समाजले समेटेको विषयचाहिँ के देखियो भने त्यसरी छोरी-चेलीलाई पराइघर पठाउँदा ऊ त्यहाँ सुरक्षित हुन्छे त ? खुसी हुन्छे त ? स्वतन्त्र हुन्छे त ? हुन पनि सक्छे, नहुन पनि सक्छे! भई भने त बेसै भो, भइन भने के गर्नु हौ ? तब, लिम्बू समाजले जन्मायो- युप्पारुङ!

युप्पारुङ अर्थात् विवाह गर्दा लोग्नेले स्वास्नीलाई दिने चाँदीको सिक्का! यही सिक्का साथमा राखुन्जेल लिम्बू समाजका नारी पुरुषसँग बाँधिन्छन्। तर, जुन दिन उनीहरूलाई सकस हुनेगरी बाँधिएको महसुस हुन्छ त्यो दिनबाट उनीहरू चाँदीको त्यही सिक्का लोग्नेलाई फिर्ता गरिदिएर त्यो बन्धनबाट मर्जीले मुक्त हुनसक्छन्। यति सुविधाचाहिँ लिम्बू समाजले आफ्ना छोरी-चेलीलाई ढुक्कै दिएको छ।

नाम्साङले आफूलाई थारो भन्दै अपुष्ट आरोप लगाउँदा उसलाई पनि नामर्द भन्दै कति आत्मविश्वासका साथ सम्बन्ध तोडेर हिँड्न सकेकी छे हाङ्मा! र कति निर्धक्क फर्केकी छ माइत! यसर्थमा, लिम्बू समाजमा नारीको आफ्नो सत्वलाई पुरुष सत्ताले निल्न सक्दोरहेनछ।

मलाई लाग्छ, युप्पारुङपछाडिको यो नारीमैत्री दर्शन वास्तवमै हरेक जाति-सम्प्रदायले सिक्न र अवलम्बन गर्न आवश्यक मात्र होइन अत्यावश्यक नै छ। महिलामाथि हुने गरेको घरेलु हिंसाको दर ओराल्ने सबैभन्दा बलियो हतियार हुनसक्छ एउटा चाँदीको सिक्का- युप्पारुङ!

२. धान नाच

छोरोले केटी भगाएर ल्याउँदासमेत खर्च बचाएछ भनिदिएर पिठ्युँमा धापै मार्ने तर, छोरीलाई भने केटोसँग मस्किएर हिँडेको मात्र देख्दा पनि नाकै काटिस्, इज्जतै फ्याँकिस् भन्ने समाज र संस्कृतिको बाहुल्यता नेपालमा मात्र नभएर विश्वभर नै देखिन्छ।

तर, गज्जबको कुरो के हो भने यस्ता समाजको बाहुल्यताको बीचमा पनि लिम्बू समाज मस्तसँग जाँडको मज्जा लिँदै धान नाच्छ। हो, लिम्बू समाज धान नाच्छ। धान नाचमा छोरो-चेलो मात्रै होइन, छोरी-चेली पनि उत्तिकै सरिक हुन्छन्। यो नाचमा माइतीकै अघि छोरीचेली पनि मनले खाएको केटोसँग हात समाएर पालाम गाउँदै नृत्य गर्छन्। र उस्तै परे, नाच्दानाच्दै घरजम बसाउने निर्णयसमेत लिन सक्छन्।

फिल्ममा पनि नाम्साङलाई युप्पारुङ फिर्ता गरेर माइतीमा बस्दै आएकी हाङ्मा, सँगै धान नाचेको केटोसँग पोइल गइदिन्छे।

३. राजी कि बिराजी ?

फिल्ममा जति जाँड खाइएका दृश्य छन् लगभग उस्तै दरमा खुकुरी लिएर लिम्बू युवाहरू लड्न हिँडेका दृश्य छन्। नामर्दको ट्याग हटाउन नाम्साङले अर्को नामर्द काम गरेको छ, जबर्जस्ती केटी भगाउने। सोझै भन्ने हो भने नाम्साङले अरूकी छोरी-चेलीलाई फकाएर आफ्नो बनाउन नसकेपछि अपहरण गरेर आफ्नी बनाउन खोजेको छ।

तर, नाम्साङसँग जान आफू राजी नभएकी केटी भाग्न र उम्किन खोजेपछि उसका माइतीका युवाहरू खुकुरी नचाउँदै लखेट्दै लड्न पुग्छन्। आवाज सुनिने ठाउँसम्म पुगेपछि नाम्साङको टोलीलाई खेद्दै-पछ्याउँदै कुदिरहेको माइती पक्षले केटीलाई सोध्छ- राजी कि बिराजी ? केटीले बिराजी भनेकोले माइती पक्ष चेली छुटाउन कुदी नै रहन्छ।

यसरी राजी कि बिराजी ? भनेर सोधिनुले पनि लिम्बू समाजमा एउटी नारी आफ्नो व्यक्तिगत जीवनका लागि कति स्वतन्त्र हुन्छे भन्ने कुरालाई स्पष्ट चित्रित गरेको छ।

४. जारी

खैर, अरू त तपसिलका कुरा हुन् तर, फिल्मको केन्द्रमा देखाइएको संस्कृति भने जारी प्रथा नै हो। यहाँनेर आइपुगेर भने लिम्बू संस्कृतिबारे मीठो बोल्दै हिँडेको जिब्रोले खल्लो महसुस गरेको कुरा मैले स्वीकार्नै पर्छ।

युप्पारुङ फ्याँकी सम्बन्ध तोडिसकेर हिँडेकी हाङ्मा फेरि जारी प्रथाका कारण नाम्साङकै घरमा नोकर बनेर गई। एउटा संस्कारले उसलाई बल दियो तर अर्को संस्कृतिका कारण उसैले बलिको बोकोजस्तै हुनुपर्‍यो । विवाह नामक संस्थाको सन्दर्भमा नारीको सुरक्षा, स्वतन्त्रता र स्वाधीनताका बारेमा लिम्बू समाजले जति सोच्यो त्यो उल्लेखनीय र उदाहरणीय छ। तर, जारी प्रथाको हकमा भने लिम्बू समाजले सवाल-जवाफ अलि कम गरेको हो कि ? किनभने, जति पथिक सवाल उति सटिक जवाफ ! यहाँनेर जारी प्रथाका सन्दर्भमा लिम्बू समाजमा चिन्तन-मनन अपर्याप्त भएको हो कि ? जसको फलस्वरूप पुँजीपति वर्गको पक्षपोषण हुन पुगेको छ भने निम्न वर्ग क्रमशः मारमा परेको छ।

हाङ्माको माइती पनि उस्तै धनी हुन्थ्यो भने हाङ्माले नोकर बस्न जानुपर्ने थिएन। तर, त्यसो नहुँदा झण्डै घर-खेत बेचेर जारी तिर्नुपर्ने अवस्थासम्म आइसकेको थियो। यो व्यवस्थाले त धनीलाई अझै धनी र गरीबलाई अझै गरिब पो बनाउनेरहेछ। होइन र ?

यद्यपि, जारी तिर्नु भनेको क्षति हुनेको शिर उठाउनु हो भन्ने हिसाबले जाने हो भनेचाहिँ यो मनोसामाजिक स्वास्थ्यका दृष्टिबिन्दूबाट स्वागतयोग्य संस्कृति अवश्य हो। तर, यति हुँदाहुँदै पनि यस प्रथाले युप्पारुङको सशक्ततामाथि वा भनुँ युप्पारुङले लिम्बू नारीलाई दिएको स्वाधीनता र स्वतन्त्रतामाथि धावा बोलिरहेको छ र वर्गीय खाडललाई अझै बढावा दिइरहेको छ भने यसलाई कसरी ठीक गर्न सकिन्छ लिम्बू समाज (र अन्य जारी प्रथा विद्यमान समाज)ले त्यसतर्फ सोच्न जरुरी पो छ कि?

अथवा २८ वर्षयता आइपुग्दासम्म जारी प्रथामा आवश्यक परिवर्तन भइसकेको पो छ कि ? या फेरि प्रथा नै लोप भइसकेको पो छ कि ?

खैर, यो खल्लोपन र प्रश्न जारी प्रथाप्रति हो जारी फिल्मप्रति होइन। बरु फिल्मलाई त बधाई छ, प्रथाको खोट केलाउने साहस गरेकोमा। चुहुने गाग्रोको प्वाल पत्ता लगाउन पनि पहिला गाग्रामा पानी त भर्नैपर्छ। उपेन्द्र सुब्बाले त्यही गरे।

पात्रत्व : हक्की हाङ्मा, निम्छरो नाम्साङ

लिम्बू समाजमा नारीको स्थानको कुरा गरिरहँदा फिल्ममा पनि नारी पात्रको चरित्रलाई कस्तो स्थान दिइएको छ चर्चा गरिहालूँ न त।

फिल्मका दुई मुख्य पात्र हुन् हाङ्मा र नाम्साङ। हो, झट्ट हेर्दा नाम्साङले भन्दा दु:ख पाएकी छे हाङ्माले। जुन घरमा पहिला बुहारी भएर भित्रिएकी थिई उही घरमा ऊ नोकरको हैसियतले गोठमा बस्नसम्म पुगी। गाईवस्तुजस्तै भई। काम गर्ने मेसिनजस्तै भई। कसैले ऊसँग मीठो मुख, नम्र आँखा गरेनन्। पहिलेजस्तो जवाफ फर्काउन सक्ने स्थिति नहुँदा हेला गरेर कुकुरलाई दिएझैँ दिइएको भात खाएर बाँच्नसम्म ऊ बाध्य भई। तर, यति हुँदाहुँदै पनि पात्रत्वलाई गौर गरेर केलाउने हो भने नाम्साङ एक कमजोर र निम्छरो पात्र हो भने हाङ्मा एक बलियो र हक्की पात्र हो। कसरी ?

समाजले के भन्ला ? भन्ने नसोचेरै सम्बन्ध तोडेर माइत हिँड्नसक्ने हाङ्मा हक्की पात्र हो। प्रतिफल जे जस्तो प्राप्त भए तापनि हाङ्माले आफ्नो जीवनका अह्म निर्णयहरू आफैले गरेकी छ, हरेकपटक। धान नाचेर दोस्रोपटक घर बसाउने निर्णय पनि हाङ्माले निर्णयले ल्याउनसक्ने जटिल प्रतिफलको अन्दाज गर्दागर्दै पनि लिएकी हो। कसैको करकापमा परेर उसले दोस्रो विवाह गरेकी थिइन।

त्यसो त, नाम्साङ (पूर्वपति)को घरमा नोकर बस्न जाने निर्णय पनि हाङ्मा आफैँले गरेकी हो।

नोकर भएर नाम्साङकहाँ बसिरहँदा उसलाई मूलघरमा, भान्सामा प्रवेश निषेध थियो। उसकी सासूले त्यस्तो बिरामी अवस्थामा पनि आफ्नो सेवा गर्न उसलाई डाकिन। तर, त्यो ऐन मौकामा मूलघर प्रवेश गर्ने हाङ्माको निर्णय पनि एउटा हक्की निर्णय थियो। लोग्ने, सासू-ससुरा, भाइबन्धु, छिमेकी, समाजले के भन्ला भन्नेसँग ऊ डराएकी छैन।

यति मात्र नभएर फिल्मको अन्त्यमा पनि आफू नाम्साङसँग फर्किने/नफर्किने निर्णय ऊ आफैँले लिएकी छे। त्यो पनि शर्त राखेर! अनि नाम्साङ नि?

नाम्साङ त देख्दा मात्र खस्रो नत्र साह्रै निम्छरो। समाजले के भन्ला ? यो नै नाम्साङको कमजोरी हो। समाजले मलाई यसो गरी बाँच्दा स्वीकार्ला नस्वीकार्ला ? त्यसो गरी बाँच्दा इज्जत गर्ला कि नगर्ला ? यही डरमा जग हालेर नाम्साङको अह्म उभिएको छ। बाहिर हक्की, सनकी, सुरो देखिए पनि उसको भित्र भने डरले डेरा जमाएर बसेको छ।

नोकरको हैसियतमा फर्किएको पहिलो दिन जब हाङ्मा गोठमा सुत्छे नाम्साङलाई बिझेको हो त्यो यथार्थले। हाङ्मालाई त कोठैभित्र पनि जाडो लाग्थ्यो! बिचरी, गोठमा न ओढ्ने-ओछ्याउनेको व्यवस्था नै छ राम्रो ! नाम्साङलाई हाङ्माप्रति त्यतिबेलै माया पलाएको हो। तर, आमाले के भन्लिन् छिमेकीले के भन्लान्रु यही डरले उसलाई रोकेको छ।

समाजले पोइल गएकी स्वास्नी फिर्ता ल्याउने नामर्द भनिदिएपछि दोस्रो विवाह गर्न तम्सिनु पनि ऊभित्रको निरीहताको प्रतीक नै हो। स्वास्नी होइन नोकर राखेको हुँ !  यो भन्नसक्ने ठाउँ थियो तर भन्न सकेको छैन। खैर, तपाईंलाई लाग्छ, नोकरकै हैसियतमा फर्काउँदा पनि नाम्साङले हाङ्मालाई माया नभई फिर्ता लिएर गयो होला? तर, प्रेमको जिकिर गर्नसक्ने पात्र नै कहाँ हो र नाम्साङ ? ऊ त निम्छरो पात्र हो। प्रेममा चुर्लुम्म डुबिसक्दा पनि मेरो प्रेमलाई समाजले स्वीकार गर्ला कि नगर्ला भनेर सङ्केत पर्खिएर बसिरहने!

निम्छरो नाम्साङ, के गर्दो हो बाबुले पाडीलाई पाडो लगाउन लैजा भनी इसारा नदिएको भए ? धन्न ! मङलसेनले हाङ्मासँग फेरि लभ परिसकेछ भनेर जिस्काइदिएछ!

विम्ब र प्रतीक

१. पाडो र पाडी

पाडो र पाडीको कुरा माथि भर्खरै मात्र पनि आएकै हो। पाडोलाई पाडी लगाउनु भन्नुको सोझो अर्थ वा भनूँ सतही अर्थ हेर्दा यौन क्रियाकलापमा आबद्ध हुनु नै हो। तर, कथाको अघि र पछिको विकास र पृष्ठभूमिलाई समेत सँगसँगै राखेर केही गहिराइमा चिहाउने हो भने यहाँ पाडो र पाडीको संसर्गको माध्यमबाट यौनक्रिडा र यौनक्रिडाको माध्यमबाट लोग्नेस्वास्नीको सम्बन्धलाई जनाउन खोजिएको छ।

अझै स्पष्ट शब्दमा भन्नुपर्दा गोठबाट भान्सामा छिरिसकेकी हाङ्मा अब नोकर रहिन। ऊ अब भान्सामा मात्र पनि सीमित नरहेर पहिलेजस्तै नाम्साङकी स्वास्नी भएर बसोस्। एउटै बिछ्यौना बाँडेर नाम्साङ र हाङ्माले घर गरी खाऊन्!

२. दाग

नाम्साङसँग झगडा पर्दा हाङ्माले घरको भित्तामा फ्याँकेको रातो माटोको दागले उनीहरूको सम्बन्धको अवस्था जनाएको छ। झगडाका कारण घरको भित्ता मात्र होइन उनीहरूको सम्बन्ध र एक-अर्काका लागि मन पनि मैलिएको छ। उनीहरू दुवैले एक-अर्काको मनमा हिलो छ्यापे र दुवैको मनमा दाग बस्यो।

तर, मनको मैलो पखालिएर जाँदै गर्दा उनीहरू दुवै मिलेर घरको भित्तामा लागेको दाग पनि मेटाउन खोजेका छन्। घरलाई पुनः सिँगारेर चिटिक्क बनाउन खोजेका छन्।

३. पैताला

फिल्ममा हाङ्माले पटक-पटक आफ्नो जीवनमा ठूलाठूला निर्णय लिएकी छ। र हरेकपटक निर्णय गर्दा उसले अप्रत्याशित र जोखिमपूर्ण कदम चालेकी छ। दोस्रो विवाह गरेर गइसक्दा पनि पूर्वपतिको घरमा नोकर बस्न जाने निर्णय गर्नु हाङ्माले उठाएको जटिल कदम हो। जसले कथाको दिशा नै मोड्ने ल्याकत राखेको छ।

फिल्ममा नोकर बस्न जाँदा नाम्साङको आँगन टेक्दै गर्दा हाङ्माका पैतालाहरूलाई क्यामराले विशेष फोकससहित खिचेका छन्। र फेरि नोकर बस्दाबस्दै मूलघर प्रवेश गर्नु हाङ्माले उठाएको अर्को जटिल कदम हो। यही कदम उठाउनुले कथाले एउटा पूर्ण ‘यू टर्न’ लिन सकेको छ। यतिबेला पनि, क्यामराले उसका पैतालालाई विशेष केन्द्रमा राखेर खिचेको छ।

फिल्ममा पटक-पटक देखिएका पैताला हाङ्माले उठाएको जटिल कदम अर्थात् उसले मोलेको जोखिमका रूपमा विम्बित छन्।

जारी, पैतालाले पालामको धुनमा गरेको एउटा सुन्दर नृत्य हो।

४. पालाम

पालामको कुरा त ननिस्किएको भए पनि गरेरै छाड्ने थिएँ। तपाईंलाई याद छ, नाम्साङ पालाम गाउन भनेपछि मरेजत्तिकै हुन्थ्यो नि? तर, अन्तिममा उसले पालाम भट्याएर मात्र हाङ्मालाई जित्यो।

लिम्बू समाजको एउटा अभिन्न संस्कृतिको रूपमा त आएको हो नै तर यहाँनेर पालाम एउटा विम्बको रूपमा समेत आएको छ। कसरी ?

नुहुन नजानेको धूपीको हाँगोजस्तै नाम्साङ अनि लहराजस्तै थाङ्ग्रा खोज्दै फैलिनुपर्ने हाङ्माको कथा हो, जारी। लोग्ने-स्वास्नीको झगडा परालको आगो भनिन्छ। नाम्साङ र हाङ्माको पराल अलि अबेरसम्मै सल्किरहन्छ। लहरे मुनाजस्तै पिटिक्क भाँचिएर माइत पुगेकी हाङ्मालाई पुरुष दम्भले चुलिँदै ठिङ्गिएको नाम्साङ न फकाउन जान्छ न फर्काउन।

पालामै गाउन नजान्ने नाम्साङले हाङ्मालाई फकाउनु? कस्तो कल्पना गर्न पनि असम्भवजस्तो! हाँस्दा पनि पुरुष हुनुको अह्म खलबलिएलाजस्तो ठान्ने नाम्साङलाई उसकी आमाले ससुराली पुगेर बुहारीलाई लिएर आउन नभनेकी होइन। तर, नाम्साङ त धूपीको हाँगो हो, आकाशको ठाडो-सोझो बाटोबाहेक उसले दाँया-बाँया जानेको छैन। निहुरेर जानुपर्ने ससुरालीको बाटो नाम्साङले चिन्दै चिनेन। तब, पराल सल्किरह्यो।

हुन त, जहाँ अहंले छाती फुलाएको हुन्छ त्यहाँ प्रेम टिकिरहन सक्दैन र जहाँ प्रेमले लहरा हाल्छ त्यहाँ अह्मले भाँचिनै पर्छ। नाम्साङको अह्मले पनि अन्ततः हाङ्माको प्रेमको अगाडि घुँडा टेकेरै छाड्यो। प्रेमको लहराले न्याकेपछि उसको अहंको पर्खाल भत्किएरै छाड्यो।

पकडिन्छ जराले जग, तगडिन्छ घरको खाँबो,

फैलन्छ वृक्ष सम्बन्धको, नुहे अहंको हाँगो !

फिल्ममा पालाम गाउनु नम्र हुनु, प्रेमिल हुनु अर्थात् अह्म सकिनु, अहंकार गल्नुको संकेत हो।

यस्ता बिम्ब र प्रतीकको प्रयोगले पनि जारी नामको जाँडमा पक्कै मर्चाको काम गरेको हुनुपर्छ।

पुनश्च:

विम्बको समेत काम गरेको बहुउपयोगी ‘पालाम’को प्रयोगले कविले हालेको यो फिल्मी जाँडले काव्यिक फ्लेवर पाएको छ।

त्यसो त, यो फिल्म जाँडजस्तो हुनुको पछाडि पूर्वी नेपालको प्राकृतिक सौन्दर्यलाई कुनै चित्रकारको मायावी पेन्टिङजसरी खिच्न सक्नु पनि धेरै कारणमध्येको एउटा कारण पक्कै हो। झन् ती सूर्यास्तका दृश्य त? ओहो! कोदोकै जाँडजस्तो, पानी थप्दै तानिरहूँजस्तै!

अनि दिनमा पटक-पटक आई लभ यू नभने, घण्टौँ फोन र च्याटमा नबोले प्रेम धरापमा पर्ने आजको (हाम्रो) युवा पुस्तालाई प्रेमको अभिव्यक्ति संवादबिना पनि त गर्न सकिनेरहेछ भन्ने कुरा पनि जारीले सिकाएको छ।

अहो, कति धेरै मादकता! उपेन्द्र सुब्बाको जारी साँच्चै फिल्म हो कि जाँड ? कहाँ कहाँ मात्र लठ्ठ हुनु ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved