गाजासम्बन्धमा पुनः वार्ता गर्ने सोचमा इजरायल

नेपालभ्युज

गाजासम्बन्धमा पुनः वार्ता गर्ने सोचमा इजरायल

जेरुसेलम । अमेरिका र इजरायली अधिकारीबीच पेरिसमा भएको बैठकपछि इजरायलका एक अधिकारीले गाजामा रहेका बन्धक मुक्त गर्ने सम्झौतामा पुग्ने उद्देश्यले ‘यसै हप्ता’ वार्ता लाई नवीकरण गर्ने सरकारको ‘मनसाय’ रहेको बताएका छन् ।

नाम नबताउने शर्तमा ती अधिकारीले एएफपीसँग भने, “यसै साता वार्ता नवीकरण गर्ने सोच छ र सोहीअनुसार सहमति भएको छ ।”

तर इजरायली सञ्चारमाध्यमले भने मोसादका प्रमुख डेभिड बार्नेयाले मध्यस्थकर्ता अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक बिल बन्र्स र कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग पेरिसमा भएको भेटमा रोकिएको वार्ताका लागि नयाँ ढाँचामा सहमति जनाएको उल्लेख गरेका छन् ।

वासिङ्टनका अनुसार शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले इजरायली युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जसँग पनि युद्धविराम र राफाह सीमा नाका पुनः खोल्नका लागि नयाँ प्रयासका बारेमा कुराकानी गरेका छन् ।

यसै महिना गाजा पट्टीमा बन्धक मुक्त गर्ने र युद्धविराम सम्झौता गर्ने उद्देश्यले गरिएको वार्ता इजरायलले गाजा पट्टीको सुदूर दक्षिणी शहर राफाहमा सैन्य अभियान चलाएपछि रोकिएको थियो ।

अक्टोबर ७ मा हमासको आक्रमणमा परी एक हजार १७० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि गाजायुद्ध सुरु भएको हो । हमास लडाकूहरूले २५२ जनालाई बन्धक बनाएका थिए, जसमध्ये १२१ जना गाजामा रहेका छन् भने ३७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

हमास आक्रमणको बदला लिन इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा अधिकांश महिला र बालबालिकासहित कम्तीमा ३५ हजार ९०३ जनाको मृत्यु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved