विश्वासको मतका लागि नाउपाको शर्त- पहिले जेलको ढोका खोल

नेपालभ्युज

विश्वासको मतका लागि नाउपाको शर्त- पहिले जेलको ढोका खोल

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सात प्रदेश सांसदसँग आज रेशम चौधरीले डिल्लीबजार कारागारमा छलफल गरेका छन् । छलफलपछि नाउपाले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत नदिने सङ्केत गरेको छ ।

नाउपाको यो निर्णयसँगै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत पाउने सम्भावना क्षीण बनेको छ । रावलले भोलि बुधबार विश्वासको मत लिँदैछन् ।

आज नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सात जना सांसद रेशम चौधरीलाई भेट्न डिल्लीबजार स्थित कारागार पुगेका थिए । उनी भन्दा केही समय अघि पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ पनि कारागार पुगेकी थिइन् ।

सात सांसदलाई रेशम चौधरीले तत्काल सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएका थिए । उनले पहिले पहिले जेलको ढोका खुल्ला त्यसपछि सरकारको ढोका खुल्ला हुनुपर्ने धारणा प्रदेश सभा सदस्यहरूसँग राखेका पार्टी प्रवक्ता दामोदर पण्डितले जानकार दिए ।

११ बजेदेखि सुरु भएको छलफल करिब ५ बजे सम्म चलेको थियो । उक्त छलफलमा नागरिक उन्मुक्तिका केही सांसदहरूले तत्काल विश्वासको मत दिएर सरकारमा जान मतदाताको दबाब रहेको बताएका थिए ।

जवाफमा रेशम चौधरीले माग र मुद्दाभन्दा बाहिर जान नसकिने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । भोलि बिहान ११ बजे सुदूरपश्चिम सरकारका मुख्यमन्त्री रावलले विश्वासको मत मत दिने संसद् बैठक आह्वान गर्न भनेका थिए । तर, केही ढिलो हुने भन्दै भोलिको बैठक १ बजेको लागि सारिएको छ ।

२७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले २६ गतेसम्म विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ ।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सरकारले बहुमत गुमाउने छ । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । माओवादीका सभामुख बाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत छ । सात सिट रहेको नागरिक उन्मुक्तिले साथ दिए मात्र सत्ता पक्षको बहुमत पुग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved