पूर्व मिस नेपालले पाइनन् न्याय, सम्पत्ति नदिई पूर्वपतिले अर्की भित्र्याएपछि थप तनाव

‘‘सम्बन्धबिच्छेद गरिसकेर पनि एउटै घरमा बस्न असहज हुन्छ। हामी दुईमध्ये एक जनाले घर छाड्नुपर्ने हुन्छ।  न उनले छाडेर गए। न त मलाई सम्पत्ति दिएर पठाए। उल्टै यही घरमा दोस्रो बिहे गरेर ल्याएपछि असहज भएको छ।’’

पूर्व मिस नेपालले पाइनन् न्याय, सम्पत्ति नदिई पूर्वपतिले अर्की भित्र्याएपछि थप तनाव

काठमाडौं। सातौँ मिस नेपाल हुन् ‘उषा खड्गी’। कला क्षेत्रमा प्रवेश गरेपछि उनलाई पछाडि फर्किएर हेर्नुपरेन। दर्जनौँ म्युजिक भिडिओदेखि विज्ञापनसम्म अभिनय गरेर सबैको मन जित्न सफल भइन्।

टेलिभिजन कार्यक्रमदेखि स्टेज शोसम्म चलाइन्। आफैँले व्यवसाय समेत सञ्चालन गरिरहेकी छिन्। कामको सिलसिलामा दर्जनौँ  देशका कार्यक्रमहरूमा सहभागिता जनाइन्। कला क्षेत्रमा बलियो उपस्थिति जनाउन सक्षम भइन्।

महिला सशक्तीकरणको समेत आवाज उठाउँदै कैयौँ पीडित नारीलाई न्याय दिलाएकी उनी अहिले भने आफैँ पीडित छिन्। कारण हो सम्बन्ध विच्छेदपछि अदालतको फैसला अनुसार अंश नपाउनु। सम्बन्ध विच्छेदको ६ महिनासम्म उषालाई सम्पत्ति नदिएर उनका पूर्व पति जीपी तिमल्सिनाले दोस्रो बिहे गरेका छन्।

२६ जेठमा भक्तपुर जिल्ला अदालतले उषा र पति जीपी (गणेशप्रसाद) तिमल्सिनाको सम्बन्धबिच्छेद तथा अंश मुद्दामा फैसला गरेको थियो। दुवै जनाको नाममा आधा-आधा सम्पत्ति  कानुनी रूपमा छुट्टिइसकेको छ। ८ आना जग्गामा २०७० सालमा घर बनाएका थिए। उनीहरू एउटै घरमा बस्ने गरेका छन्। चार तला रहेको घरको दोस्रो तलामा बस्छन्, उषा र उनका छोराछोरी।

आफू बस्ने घरमै पूर्वपतिले दोस्रो बिहे गरेर भित्र्याएपछि मानसिक तनावमा छिन् उषा। सम्पत्ति बाँडफाँटमा अदालतको फैसला चित्त नबुझेपछि जीपीले उच्च अदालतमा पुनरावेदन गरेका थिए। अहिलेसम्म यो मुद्दाको छिनोफानो नभएपछि उषालाई त्यही घरमा बस्नुपर्ने बाध्यता छ।

अंश मुद्दाको फैसला नआउँदै जीपीले अर्को विवाह गरेपछि उषाले आफूमाथि अन्याय भएको बताएकी छन्। उनी भन्छिन् ‘‘मैले एक पैसा पनि अंश पाएकी छैन। म अन्यायमा परेँ। उहाँले कानुन मिचेर बढ्नुभयो। अंशबन्डा नहुँदै अर्को विवाह गरेर थप अन्यायमा पार्नुभयो।’’

अदालतको फैसलाको अंश

जीपीको दोस्रो विवाह उनको निजी मामिला भए पनि आफूलाई सम्पत्ति नदिएरै त्यही घरमा अर्की भित्र्याउँदा भने आफूलाई पीडा भएको उषाले बताएकी छिन्। आफू बस्ने घरमै नयाँ दुलही भित्राएपछि उषाका छोराछोरी अलमलमा छन्। एउटै सिँढीबाट ओहोरदोहोर गर्नुपर्ने भएकाले उनीहरूको जम्काभेट भइरहन्छ।

‘‘सम्बन्धबिच्छेद गरिसकेर पनि एउटै घरमा बस्न असहज हुन्छ। हामी दुईमध्ये एक जनाले घर छाड्नुपर्ने हुन्छ।  न उनले छाडेर गए। न त मलाई सम्पत्ति दिएर पठाए। उल्टै यही घरमा दोस्रो बिहे गरेर ल्याएपछि असहज भएको छ ’’ उषाको गुनासो छ।

अदालतले जीपीको नाममा रहेको घर–जग्गा (त्यसबेला एक करोड मूल्यको) लाई चार भाग लगाउन आदेश दिएको थियो। त्यसको एक भाग उषाले पाउने थिइन्।

साथै, जीपीले सञ्चालन गरेको प्रमोटर्स नेपाल र उषाले सञ्चालन गरेको स्टाइलिस कलेक्सन (बुटिक) आफूले नै पाउने भनिएको छ। तर सो सम्पत्ति नपाएको भन्दै उषाले विभिन्न मिडियाहरूलाई अन्तरवार्ता दिएर आफू अन्यायमा परेको बताइरहेकी छिन्।

अदालतको फैसलाको अंश

मिस नेपालदेखि सम्बन्ध विच्छेदसम्म

सन् २००० मा उषा मिस नेपाल बनेकी थिइन्। त्यही साल एनटिभी प्लस कार्यक्रममा उषाले भेटिन् जीपी (गणेशप्रसाद) लाई। सोही कार्यक्रममा सहकार्य गर्ने क्रममा उनीहरू नजिक भए। भ्यालेन्टाइन डेकै दिनमा जीपीले उषालाई औपचारिक प्रेम प्रस्ताव राखे। उषाले स्विकारिन्। उनीहरू प्रेममा बाँधिए।

आत्मनिर्भर छोरीको जिन्दगी सधैँ आफूहरूको नियन्त्रणमा नहुने बुझे उनका उषाका आमाबुबाले। २००३ मा उषाका बाबुआमाले उनले रोजेकै केटा जीपीसँग विवाह गराइदिए। दुवैले प्रेमका लागि गरेको सङ्घर्ष, त्याग र पर्खाइको तारिफ गर्नेहरू उत्तिकै थिए। उषा र जीपी खुशी थिए। कलाकारिता क्षेत्रमै क्रियाशील थिए दुवै जोडी। जीपीको आफ्नो प्रोडक्सन हाउस, फेसन डिजाइनिङमा स्नातक गरेकी उषाले बुटिक चलाइन्।

उषाले थुप्रै विज्ञापन र म्युजिक भिडियामा अभिनय अभिनय गर्थिन्। आफ्नै प्रोडक्सन हाउस भएका जीपी स्टेज कार्यक्रम होस्ट पनि थिए। भाडाको कोठामा बसेर सङ्घर्ष गर्दै गर्दै उनीहरूले जडीबुटीमा आठ आना जग्गामा घर बनाए।
समय बित्दै गयो। उनीहरूको पहिलो सन्तान छोरी र दोस्रो सन्तान छोरा भयो। समयसँगै सम्बन्ध पनि चिसिँदै गयो।

महिला अधिकार र समानताका कुरा गर्थिन्। अन्ततः घर फर्किएपछि उनैलाई थियो ठूलो स्वरमा बोल्न निषेध। कहिलेकाहीँ हिंसाको प्रतिकार गर्दा सहनुपर्ने शारीरिक यातना कम्ता डरलाग्दो थिएन।

जीपीले उषालाई हातसमेत उठाउन थाले। सुरुमा त उषाले पतिको क्षणिक आवेग मानेर चुप बसिन्। पटक-पटक त्यो हिंसा दोहोरिइरह्यो। जीपीको आवेगको शृङ्खला टुङ्गिएन। हरेक महिना, हरेक साता अनि हरेक दिन झन्झन् बढ्यो। आफूमाथिको हिंसा उषाले सक्दो रोकिन्। सक्दो छेकिन्, सहिन्। जे भोग्दै थिइन् त्यसलाई आफ्नो घरको दैलोभन्दा बाहिर कहिल्यै निकालिनन्।

किनकि, उनलाई समाजको डर थियो। माइतीमा पनि कुरा सुनाइनन्। उमेर ढल्केका आमाबुबालाई तनाव दिन चाहिनन्। त्यसैले, चुपचाप सहेरै बसिन्। उनी दिनभर बाहिर काममा जान्थिन्। महिला अधिकार र समानताका कुरा गर्थिन्। अन्ततः घर फर्किएपछि उनैलाई थियो ठूलो स्वरमा बोल्न निषेध।

कहिलेकाहीँ हिंसाको प्रतिकार गर्दा सहनुपर्ने शारीरिक यातना कम्ता डरलाग्दो थिएन। विवाहको केही वर्ष जीवन सुखमय चले पनि त्यसपछि उनको पति, पीडकमा बदलिए। तैपनि, समाजमा श्रीमती दबिएर बस्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गरेर बसिन्। त्यही क्रममा दुई जना छोराछोरी हुर्काइन्।

श्रीमानको बिवाहेत्तर सम्बन्धबारे थाहा पाउँदापाउँदै चुप रहिन् उनी। आफ्नै सीप क्षमता भएकी उनलाई हस्तक्षेप गर्न थालियो। श्रीमानले पहरेदारीमा राख्न थाले। घुमफिर गर्नु, साथीभाइ र माइती भेट्नु रमाउनु परको कुरा, फोन र म्यासेजका कुरा पनि निगरानी हुन थाल्यो।

‘डिभोर्स’ दाम्पत्य जीवनमाथि लाग्ने दाग हो, जीवनमा कहिल्यै मेटिँदैन’ भन्दै कसैले साथ दिएनन्। आफूले साथ खोजेकाहरू सबैले उषालाई प्रश्न थोपर्थे ‘‘विवाह भएपछि सम्बन्ध तोड्न हुँदैन। एक्लो जीवन कसरी बिताउँछौ ? ’’

तमाम समस्यासँग एक्लै लडिरहेकी उनले अन्तत मुक्तिको खोजी गरिन्। उत्तम विकल्प देखिन सम्बन्ध विच्छेद। उनले माइतीमा कुरा राखिन्। ‘डिभोर्स’ दाम्पत्य जीवनमाथि लाग्ने दाग हो, जीवनमा कहिल्यै मेटिँदैन’ भन्दै कसैले साथ दिएनन्। आफूले साथ खोजेकाहरू सबैले उषालाई प्रश्न थोपर्थे ‘‘विवाह भएपछि सम्बन्ध तोड्न हुँदैन। एक्लो जीवन कसरी बिताउँछौ ?’’

आफूमाथि भएको अत्याचारलाई चुपचाप सहनका लागि मात्रै सुझाव आउँथे। तर, उषा उनीहरूलाई सम्झाउँथिन् ‘सम्बन्ध विच्छेद गर्नु कुनै अपराध होइन। हिंसा र अन्यायविरुद्धको विद्रोह हो। त्यसबाट मुक्त हुने बाटो हो। यसपछि जिन्दगी अन्त्य हुँदैन। बरु नयाँ बाटो हिँडेर अनन्त सम्भावनाहरूको खोजी गर्न सकिन्छ।’’ कसैको साथ नपाएपछि उनले अत्याचारविरुद्ध एक्लै लडिन्।

उनले सम्बन्ध जोगाउन पनि भरमग्दुर प्रयास नगरेकी होइनन्। लामो समयसम्म आफूमाथिका दुर्व्यवहारलाई लुकाइन्। अझ उनले त आफैँले रोजेको मान्छेसँग विवाह गरेकी थिइन्। यसकारण पनि आफन्तलाई भन्न सकेकी थिइन्। ‘आफैँले त रोजेकी होस् नि !’ भन्ने खालको जवाफ पाउँथिन्।

अनि थालिन् छोटो सम्बन्धलाई सकेर लामो यात्रा …

अन्ततः उषाले हिम्मत हारिनन्। १७ वर्ष लामो सम्बन्ध तोड्ने उनले निर्णय गरिन्। २०७६ सालको असार ११ गते अंशवण्डासहित सम्बन्ध विच्छेद गरीपाऊँ भनेर मुद्दा हालिन्। अन्तिम फैसला आउन लगभग तीन वर्ष लाग्यो।

२६ जेठ २०७९ मा औपचारिकरूपमा अलग भए उनीहरु सम्बन्ध विच्छेदको औपचारिक ‘ताम्रपत्र’मा हस्ताक्षर गरेर। भक्तपुर जिल्ला अदालतमा ११ असार २०७६ मा दर्ता भएको मुद्दा तीन वर्षपछि टुङ्गियो।

यद्यपि, उनले हात कमाइनन्। एउटा छोटो सम्बन्धलाई समाप्त पारेर लामो जीवनयात्रा सुरु गरेको भान भो उनलाई। २१ वर्ष लामो प्रेम जीवन र १९ वर्ष लामो वैवाहिक जीवनबाट जोडी एक–अर्काबाट अलग भए।

डिभोर्सीलाई सहानुभूति होइन, सम्मान गर

उषा खुसी छिन्, आफ्नो निर्णयमा सन्तुष्ट पनि। उनको बुझाइमा जुन सम्बन्धले आफूलाई सुख र शान्ति दिँदैन, त्यो सम्बन्ध बोझिलो हुन्छ। जीवनभर बोझ बोकेर कसरी बाँच्न सकिन्छ र?

उनी भन्छिन् ‘‘हाम्रो समाजमा डिर्भाेस भएपछि खत्तम भयो। सिद्धियो भन्ने चलन छ। कसैले पनि राम्रो भन्दैनन्। नेगेटिभ कुरा मात्र गर्छन्। पोजेटिभ कुरा गर्दैनन्। यस कारण धेरै महिलाहरू पीडा खपेरै बस्छन्। उनीहरू आफ्नो जीवन सकिए पनि बच्चाबच्चीको केही नहोस् भन्ने सोच्छन्। कतिपय महिलाले यसैले आत्महत्या गर्छन्। बच्चाहरू बिजोग हुन्छन्। तर, मेरो जुन डिसिजन थियो मलाई सही थियो। अरूको लागि गलत थियो।’’

श्रीमानबाट अलग भएका महिलालाई झुटो सहानुभूति होइन, उनको निर्णयप्रति सम्मानको भावना चाहिन्छ। जसले उनलाई अगाडिको जीवन बाँच्न र सङ्घर्ष गर्न ऊर्जा मिलोस्।

दाम्पत्य सम्बन्ध टुट्नमा महिला दोषी हुन् वा निर्दोष, तर समाजले दोषी ठहर गर्छ। पुरुषको तुलनामा महिलालाई फरक दृष्टिले हेर्ने चलनप्रति उषाको विमति छ।

महिलाले एकातर्फ टुटेको दाम्पत्यको चोट झेलिरहेका हुन्छन्। अर्कोतर्फ मान्छेहरू उनीमाथि अनेक प्रश्न राख्दै मनोबल कमजोर बनाइरहेका हुन्छन्। कतिपयले देखावटी रूपमै मात्र सहानुभूति राख्छन्।

यसैले सम्बन्ध विच्छेद गरेका महिलालाई सहानुभूति आवश्यक नभएको उषाको तर्क छ। उषा भन्छिन् ‘‘बरु समाजले उनको निर्णयलाई सम्मान गरोस्। श्रीमानबाट अलग भएका महिलालाई झुटो सहानुभूति होइन, उनको निर्णयप्रति सम्मानको भावना चाहिन्छ। जसले उनलाई अगाडिको जीवन बाँच्न र सङ्घर्ष गर्न ऊर्जा मिलोस्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved