राजनीतिक स्थिरता कायम गर्न कांग्रेस र एमालेको सरकार बनाउनुपर्छ : गच्छदार

राजनीतिक स्थिरता कायम गर्न कांग्रेस र एमालेको सरकार बनाउनुपर्छ : गच्छदार

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।

विराटनगरमा बिहिबार अपराह्न सञ्चारकर्मीसँग गच्छदारले विगतमा राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको प्रसङ्ग उल्लेख गर्दै स्थिर सरकारले मात्र देशमा समृद्धि आउने बताए ।  उनले २०४७ सालको उत्कृष्ट संविधान भएर पनि राजनीतिक अस्थिरताले गर्दा असफल भएको भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउनुपर्ने आफ्नो चाहना रहेको बताए ।

पाँच वर्ष सरकार निर्वाधरूपमा सञ्चालन भए हरेक समस्या समाधान हुँदै जाने भन्दै पूर्वउप्रधानमन्त्री गच्छदारले भने, ‘वर्तमान संविधान जारी गर्न मेरो पनि अहम भूमिका रहेकाले यो संविधानलाई दीगो र बलियो बनाउन स्थिर सरकार आवश्यक छ ।’

अहिले पनि गठबन्धनको नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको उनको भनाइ थियो । उनले भने, ‘निर्वाचनमा जित र हार स्वाभाविक हो, मैले सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्राविधिकरूपमा पराजित भए पनि जनताको मनमस्तिष्कबाट पराजित भएको छैन ।’ नेतृत्व हस्तान्तरण एवं परिवर्तन प्राकृतिक कुरा हो भन्दै नेता गच्छदारले जनताले आफूलाई न्याय गरेको टिप्पणी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved