आज इलाम–२ र बझाङ १ (क) मा उपनिर्वाचन, दलहरूका लागि प्रतिष्ठाको लडाइँ

पहिचानवादीका लागि अन्तिम परीक्षा 

यो उपनिर्वाचनले संसद्को सत्तागणितमा खास फरक नपरे पनि बाँकी तीन वर्षको लागि यो परिणामले दलको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिको भूमिकाबारे नयाँ मनोविज्ञानका लागि माहौल खडा गर्नेछ । पहिचानवादीका लागि अन्तिम परीक्षा भएकोसमेत विश्लेषण  छ ।

नेपालभ्युज

आज इलाम–२ र बझाङ १ (क) मा उपनिर्वाचन, दलहरूका लागि प्रतिष्ठाको लडाइँ

काठमाडौं । आज इलाम–२ र बझाङ १ को ‘क’ मा उपनिर्वाचन हुँदैछ । बिहान ७ बजेबाट मतदान सुरु हुने छ । मतदान हुने क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

राष्ट्रिय राजनीतिको ध्यान आकर्षित गरेको इलाममा सुवास नेम्वाङको अवसानपछि रिक्त हुन गएको स्थानमा हुन लागेको हो ।

सत्ता गठबन्धनका सत्ता साझेदारहरू फेरेर तेस्रोपटक विश्वासको मत लिएपछि हुन लागेको यो निर्वाचनले २०८४ को आम निर्वाचनका लागि आफ्नो भाष्य खडा गर्नका लागि प्रमुख तीन दलले आफ्नो वर्चस्व देखाउने प्रतिष्ठाको लडाइँ बनाएका छन् ।

यो उपनिर्वाचनले संसद्को सत्तागणितमा खास फरक नपरे पनि बाँकी तीन वर्षको लागि यो परिणामले दलको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिको भूमिकाबारे नयाँ मनोविज्ञानका लागि माहौल खडा गर्नेछ ।

यसमा पहिचानको राजनीतिले कोशी प्रदेशको नामकरणपछि नयाँ कोल्टे फेरेको पहिचान पक्षधरको पनि उत्साहजनक उपस्थितिले उपनिर्वाचनको सरगर्मी अझ रोचक बनेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनका लागि तीन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानसहित तीन हजार बढी प्रहरी परिचालन गरिएको हो ।

निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने छन् । सार्वजनिक सवारी समेत चलेका छन् ।

इलाममा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू मूख्य प्रतिस्पर्धी मानिएका छन् ।

इलाम–२ र बझाङ–१ मा चुनाव भए पनि धेरैको ध्यान इलाममै केन्द्रित छ । किनभने इलाम पहिचानवादी र गैरपहिचानवादीसँगै नेपाली राजनीतिको समूल रूपान्तरको मुद्दासँग जोडिन पुगेको छ ।

पछिल्लो चरण आन्दोलनको केन्द्र बनेको पूर्वी नेपालको यो चुनावलाई कतिपयले पहिचानवादीका लागि अन्तिम परीक्षा भएकोसमेत बताएका छन् । एउटा सिटको हारजितले खासै अर्थ नराखे पनि पहिचानविरोधी र पहिचान पक्षधरका लागि जुँगाको लडाइँ बने विश्लेषण छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved