जाजरकोट भूकम्प : चिसोले चार जनाको ज्यान गयो, सयौं बिरामी

जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जना दीर्घरोगीको ज्यान गएको छ ।

जाजरकोट भूकम्प : चिसोले चार जनाको ज्यान गयो, सयौं बिरामी

जाजरकोट । जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जना दीर्घरोगीको ज्यान गएको छ ।

गएको कात्तिक १७ गतेको भूकम्पपछि दुई हप्तामा तीन जना वृद्ध र एक महिलाको ज्यान गएको हो । घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको मङ्गलबार र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको अस्ति बुधवार ज्यान गएको स्थानीयवासीले बताएका छन् ।

कार्की र सिंह दमका बिरामी थिए । यसअघि कात्तिक २४ गते शुक्रवार नलगाड नगरपालिका–४ का ८४ वर्षका गोपालबहादुर रावल र ४८ वर्षकी पम्फा रावलको ज्यान गएको थियो । गोपालबहादुर दम र पम्फा निमोनियाबाट पीडित थिए ।

भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा धेरै परिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिन थालेको छ । ओढ्ने कपडा सबै घरमा पुरिएर काम नलाग्ने भएको र नयाँ किन्न र जोहो गर्न नसकेको बारेकोटका निमबहादुर नेपालीले गुनासो गरे ।

भूकम्प पीडितलाई तत्कालै पाल÷टेन्टको व्यवस्थापन भए पनि अब न्यानो कपडा, खाद्यान्न र अस्थायी भए पनि बसोबासको व्यवस्थापन महत्त्वपूर्ण भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार चिसो बढ्न थालेसँगै पीडितमा स्वास्थ्य समस्या देखिने जोखिम भएकाले आवश्यक तयारीको काम थालिएको छ । उनका अनुसार यो महिनाभित्र अस्थायी आवास बनाएर पीडितको व्यवस्थापन गर्न प्रक्रिया अगाडि बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved