अन्तर्वार्ता

जसले हाम्रा माग पूरा गर्छ उसैसँग सहकार्य हुन्छ : रेशम चौधरी

टीकापुर घटना राजनीतिक हो, त्यहीअनुसार व्यवहार गरिनुपर्थ्यो, हालसम्म गरिएको छैन । फेरि पनि ती माग जसले सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ, उहाँहरूसँग सहकार्य हुन्छ । त्यो भनेको रिहाइ र सम्मानजनक क्षतिपूर्तिको व्यवस्था गरिनुपर्दछ ।

जसले हाम्रा माग पूरा गर्छ उसैसँग सहकार्य हुन्छ : रेशम चौधरी

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा चार सिट जितेको छ । पार्टीका संरक्षकमा रेशम चौधरी हाल डिल्लीबजार कारागारमा छन् । रेशमकी पत्नी एवं पार्टी अध्यक्ष रञ्जना श्रेष्ठ कैलालीबाट निर्वाचित भएकी छन् ।

कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको अभियोगमा दोषी ठहर भएर रेशमले जेल सजाय काटिरहेका छन् । सरकार गठनका लागि बहुमत जुटाउने कसरत भइरहेका बेला नागरिक उन्मुक्ति पार्टी कुन कित्तामा उभिन्छ भन्ने चासो देखिन्छ । सरकार गठनलगायत समसामयिक विषयमा राससका समाचारदाता टीकाराम सुनार र सिबी अधिकारीले रेशम चौधरीसँग गरेको कुराकानीको सारसंक्षेप ।

निर्वाचनमा पहिलोपटक भाग लिएको नागरिक उन्मुक्ति पार्टीले ल्याएको परिणामलाई कसरी समीक्षा गर्नुभएको छ ?

निर्वाचनबाट हाम्रो पार्टीको विचार र मुद्दा अनुमोदन भएको छ । जनताले हाम्रा मुद्दालाई २०७४ देखि नै समर्थन गरिरहेका छन् । हामीलाई न्याय देऊ भनेर तीनपटक हाम्रो पक्षमा मतदान भइसकेको छ । जनताको अदालतबाट त हामीले मुक्ति पाइसकेका छौँ ।

तर, राज्यले त्यसलाई सम्बोधन गरेको छैन । जहाँसम्म परिणामको कुरा छ, हामीले छोटो समयमा संघ र प्रदेशमा गरी १२ सांसद पाउँदै छौ । पाँच निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवार दुई सयभन्दा कम र नौ स्थानमा एक हजारभन्दा कम मतले पराजित हुनुभएको छ । स्थानीय तहमा करिब सय जना साथीहरू निर्वाचित भइसक्नुभएको छ ।

अरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

मैले पुराना दल तथा नेताबाट व्यक्त विचार हेरिरहेको र सुनिरहेको छु । उहाँहरूले हामीलाई बिलाएर जान्छन्, अस्तित्व छैन, दृष्टिकोण नै नभएका भन्नेखालका लाञ्छना लगाइरहनुभएको छ । तर, हामीलाई यस्तो आरोप लगाइरहँदा हाम्रो घोषणापत्र एकपटक अध्ययन गरेर मात्र बोलिदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।

मधेस केन्द्रित दल र पूर्वसहकर्मीप्रतिको बुझाइ के छ ?

उहाँहरूप्रति खास केही भन्नु छैन । मैले उहाँहरुलाई सडकमा गइदिनुस्, माइकमा मात्रै बोलेर हुँदैन भनेको थिए । तर, उहाँहरूले सहानुभूति बटुल्नका लागि मात्रै बोल्नुभयो । यसमा निकै दुःख लागेको छ । त्यहाँका जनताले पनि मतमार्फत उहाँहरुप्रतिको गुनासो व्यक्त गरिसकेका छन् । अर्को चन्द्रकान्त ‘सिके’ राउत मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य कुरा हो । उहाँको जनमत पार्टी मधेसमा वैकल्पिक शक्तिका रूपमा उदाएको छ । बाँकी त हेर्नु नै छ ।

निर्वाचनको अन्तिम परिणाम पनि आउने क्रममा छ, सरकार गठनका लागि छलफल पनि भइरहेको छ, यसबीचमा तपाईंसँग कसैको कुराकानी भएको छ ?

म आठ वर्षदेखि जेलमा छु । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सधैँ सरकारमै छन् । मधेस केन्द्रित दलका नेताहरू पनि कुनै न कुनै रूपमा सरकारमै हुनुहुन्छ । उहाँहरूबाट हेर्न केही बाँकी छैन । कुराकानी भए पनि नतिजा नदेखिएसम्म अर्थ रहन्न ।

सरकार गठनमा तपाईंहरूको भूमिका के हुन्छ ?

हामी सबैसँग सकारात्मक नै छौँ । जबसम्म हाम्रा मुद्दाहरू सम्बोधन हुँदैनन् तबसम्म कुनै विकल्पमा जाँदैनौं । कुरा प्रस्ट छ, जुन बाटोबाट मलगायत थुप्रै साथीहरू थुनियौँ, मुद्दा खेप्यौँ, त्यसबाट मुक्त गर्नुपर्‍यो ।

तपाईंहरूको मुख्य माग के हो त ?

हाम्रा माग पुरानै छन् । पटक–पटक उहाँहरूलाई भनिएकै हो । टीकापुर घटना राजनीतिक हो, त्यहीअनुसार व्यवहार गरिनुपर्थ्यो, हालसम्म गरिएको छैन । फेरि पनि ती माग जसले सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ, उहाँहरूसँग सहकार्य हुन्छ । त्यो भनेको रिहाइ र सम्मानजनक क्षतिपूर्तिको व्यवस्था गरिनुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved