माओवादीले भन्यो- वर्तमान सत्ता गठबन्धनको विकल्प खोजेका छैनौँ

नेपालभ्युज

माओवादीले भन्यो- वर्तमान सत्ता गठबन्धनको विकल्प खोजेका छैनौँ

काठमाडौं ।    नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनका लागि वर्तमान सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारेको छ । आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनको विकल्प खोज्न नहुने निस्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नयाँ सरकार बनाउन गठबन्धनमा आधारित भएर सोच्नुपर्ने बताए । गठबन्धनमा कुनै विमति वा असहमति पैदा नभएको भन्दै उनले आफूहरु गठबन्धन फेर्नुपर्छ भन्ने अवस्थामा नपुगेको उल्लेख गरे ।

उनले पार्टीले गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारे । सोमवार गठबन्धनको बैठक बस्नेबारे जानकारी दिदैँ उनले सो बैठकमा निर्वाचनको समिक्षा गर्ने र अगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा छलफल हुने बताए।

उनले भने, ‘सरकार गठनका बारेमा उल्लेखनिय रुपमा विषय प्रवेश भएको छैन । पहिलो कुरा अहिले गठबन्धनमा भएको हुनाले गठबन्धनका घटकहरु बीचमा कुराकानी हुने कुरा स्वतः भइहाल्यो । गठबन्धनका घटकहरुले कसरी सोचिराखेको छ भन्नेकुरा पनि हुने भयो । त्यसकारणले गर्दाखेरी अहिले गठबन्धन नै मुख्य रुपमा रहेको हुनाले गठबन्धनकै प्रक्रियाबाट निर्वाचन सम्पन्न भएको हुनाले गठबन्धनमै रहेर सोच्न कुरा त स्वभाविक प्रक्रिया नै भयो । त्यसकारणले छिट्टै गठबन्धनको बैठक बस्नुपर्छ भन्ने कुरा भएको छ ।’

‘भोलि नै गठबन्धनको बैठक बस्नुपर्छ । र, गठबन्धनको बैठक बसेर निर्वाचनसँग जोडिएका कतिपय सीमाहरुको, कतिपय कमीकमजोरीहरु पनि हुनसक्छ । त्यसको पनि समिक्षा गरौँ र त्यसपछि कसरी अगाडी बढ्ने सोचहरु बनेको छ भन्ने विषयमा पनि मोटामोटी रुपले छलफल गरौं भनेर भोलि गठबन्धनको पनि आयोजना भएको छ । सरकार गठनको विकल्पहरुको बारेमा कुराकानी शुरु भएकै छैन । त्यस्तो कुराकानी भएकै छैन । हामी गठबन्धनमा भएको हुनाले पहिलो कुरा त गठबन्धनमा आधारित भएर सोच्ने कुरा भयो नि, उनले भने ।’

‘अहिले गठबन्धनमै भएको हुनाले गठबन्धनमा कुनै विमति पैदा भएर, कुनै असहमति पैदा भइसकेको अवस्था त होइन । गठबन्धन तोड्नुपर्छ । फेर्नुपर्छ भन्ने कुरामा पुगेको अवस्था होइन अहिले । पहिलो कुरा गठबन्धनमा रहुँ । गठबन्धनबाट को–कोसँग वार्ता गर्ने, को कोसँग कुरा गर्ने, गठबन्धनमा अझ बलियो कसरी बनाउने, कति कुरा मिल्छन्, कति कुरा मिल्दैनन् । त्यो त गठबन्धनमा निर्भर रहने विषय भयो । त्यसो भएको हुनाले अहिले पार्टीले गठबन्धनको विकल्प तुरुन्तै सोचिसकेको अवस्था होइन, उनले भने  ।’

महासचिव गुरुङले निर्वाचन परिणाम अपेक्षा गरे अनुरुप नआएपनि सफल र परिणाममुखि नै भएको बताए । निर्वाचन परिणामलाई स्वीकार्दै र कमी, कमजोरीहरुलाई सुधार्दै पार्टीलाई सुदृढ बनाउँदै अघि बढाउने बैठकको निस्कर्ष रहेको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved