विश्वकप फुटबल : नकआउट चरण पुग्न पोल्यान्ड र अर्जेन्टिना भिड्दै

नेपालभ्युज

विश्वकप फुटबल : नकआउट चरण पुग्न पोल्यान्ड र अर्जेन्टिना भिड्दै

काठमाडौं। विश्वकप फुटबलमा आज बुधबार पोल्यान्ड र अर्जेन्टिना भिड्दै छन्। कतारको स्टेडियम ९७४ मा हुने खेलमा पोल्यान्ड र अर्जेन्टिना नेपाली समयअनुसार राति पौने १२ बजे आमने सामने हुनेछन्।

यसअघि, ११ पटक पोल्यान्ड र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भइसकेको छ। जसमा ३ मा पोल्यान्ड र ६ मा अर्जेन्टिना विजयी भएको छ। २ खेल भने बराबरीमा सकिएको छ।

विश्वकपमा नवौँ पटक सहभागी भएकोे पोल्यान्ड सन् १९८६ पश्चात् पहिलोपटक नकआउट चरणमा पुग्ने योजनामा रहेको छ। १८ औँ पटक सहभागी भएको अर्जेन्टिना भने तेस्रो उपाधि जित्ने योजनामा छ । यसअघि, सन् १९३४ मा अर्जेन्टिना समूह चरणबाट नै बहिरिएको थियो।

पोर्चुगल र अर्जेन्टिना नकआउट चरणमा पुग्नको लागि जित्नै पर्ने दबाबमा छन्। पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले स्तब्ध भएको अर्जेन्टिनाले दोस्रो खेलमा भने मेक्सिकोलाई २–० ले पराजित गर्‍यो। पोल्यान्ड र मेक्सिकोबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिँदा दोस्रो खेलमा भने साउदी अरेबियालाई पोल्यान्डले २–० ले पराजित गरेको थियो।

साउदीसँग पराजित हुँदा अर्जेन्टिनाको समस्त खेलाडीहरूलाई ठूलो झट्का लागेको थियो। गोलरक्षक इमिलियानो मार्टिनेजले मनोवैज्ञानिकसँग नै परामर्श लिनुपरेको थियो।

लाउटारो मार्टिनेजले भने मेक्सिकोविरुद्धको खेललाई अर्जेन्टिनाको फाइनलको रूपमा नै लिएका थिए। मेक्सिकोविरुद्धको खेलको पहिलो एक घण्टामा अर्जेन्टिनाले राम्रो प्रस्तुति गर्न सकेन। मिडफिल्डर रोड्रिगो डे पल पनि पास दिन चुकिरहेका थिए। ६५औँ मिनेटमा लियोनेल मेस्सीले अर्जेन्टिनाको लागि खाता खोले। यसले अर्जेन्टिनाको समर्थकहरूलाई राहत दिएको थियो।

पोल्यान्डविरुद्धको खेलमा पनि अर्जेन्टिना गर या मरको अवस्थामा हुने देखिन्छ। अर्जेन्टिना आजको खेलमा पराजित भए, नकआउट चरण पुग्न साउदी अरेबिया र मेक्सिकोको खेलमा निर्भर पर्नुपर्ने हुन्छ।

यता, पोल्यान्ड भने लयमा नै देखिन्छ। साउदीविरुद्धको खेलमा २–० ले जित निकालेको पोल्यान्ड उच्च मनोबलको साथ अर्जेन्टिनाविरुद्ध मैदानमा प्रतिस्पर्धा गर्नेछ। सो जितमा गोलकर्ता रोबर्ट लेवान्डोस्की र पिटर जिलेन्सकीको साथै गोलरक्षक वेन्जे सेज्नीको पनि महत्त्वपूर्ण भूमिका थियो।

पहिलो हफामा सेज्नी साउदीको आक्रमणलाई कडा चुनौती दिँदै सलेम अल्डवासारीको पेनाल्टी रोक्न सफल भएका थिए। जारी विश्वकपमा २ क्लिन सिट भएको सेज्नी एक मात्र गोलरक्षक हुन्। अर्जेन्टिनाविरुद्धको खेलमा पनि सेज्नीको यस्तै प्रस्तुतिको अपेक्षा गरिएको छ। अर्जेन्टिना र पोल्यान्डले एक-अर्कालाई बराबरको टक्कर दिने देखिन्छ ।

४ अंकसहित पोल्यान्ड समूह ‘सी’को शीर्ष स्थानमा रहेको छ। ३ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ। साउदी अरेबिया ३ अंकसहित दोस्रो र अंकविहीन मेक्सिको पुछारमा छ।

समूह ‘सी’को अर्को खेलमा साउदी अरेबिया र मेक्सिको राति पौने १ बजे नै आमने-सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved