मधेश प्रदेश : कुनै दलको स्पष्ट बहुमत प्राप्त नहुँदा सरकार बनाउन अन्योल

चुनावमा संघमा बनेको गठबन्धन अनुसार मधेश प्रदेशमा पनि कांग्रेस नेतृत्वको वाम-लोकतान्त्रिक गठबन्धन र एमाले र जसपाको गठबन्धन थियो। तर, सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने अवस्था देखिएको छ।

मधेश प्रदेश : कुनै दलको स्पष्ट बहुमत प्राप्त नहुँदा सरकार बनाउन अन्योल

जनकपुरधाम।  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ सबै ६४ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन्। संघमा बनेको गठबन्धन अनुसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम-लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धन थियो।

तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने अवस्था देखिएको छ।

प्रत्यक्ष र समानुपातिक गरी एक सय सात सदस्यीय मधेश प्रदेशसभामा प्रदेशसभामा प्रत्यक्षतर्फका ६४ क्षेत्रको नतिजा आउँदा वाम-लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले २८ र एमाले नेतृत्वको गठबन्धनले २४ सिट जितेको छ। वाम-लोकतान्त्रिक गठबन्धनका दलमध्ये कांग्रेसले १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सात, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले प्रदेशसभामा चार\चार सिट जितेका छन्।

यो गठबन्धनमा कांग्रेसले सप्तरी–३(१), धनुषा– ३(१), धनुषा–४(१), सर्लाही–२(१), सर्लाही–२ (२), सर्लाही–४(१), रौतहट–१(१), रौतहट–१(२), रौतहट–३(२), पर्सा–२(१), पर्सा–३(२), पर्सा–४(१) र धनुषा १(१) मा जितेको छ।

त्यसैगरी लोसपाले पर्सा–२(२), महोत्तरी–२(१), महोत्तरी–३(१), महोत्तरी–३(२), सर्लाही–१(१), सिराहा–४(२) र बारा–४(२) मा जितेको छ। माओवादी केन्द्रले सर्लाही–४(२), महोत्तरी–१(२), रौतहट–४(१) र पर्सा–१(१) मा जितेको छ भने एकीकृत समाजवादीले रौतहट–२(२), सर्लाही–१(२), सिराहा–३(२) र सप्तरी–४(१) मा जितेको हो।

एमाले–जसपा गठबन्धनमा एमालेले १४ र जसपाले नौ स्थानमा जितेको छ। एमालेले सप्तरी–१(१), सिराहा–१(१), सिराहा–२(२), सिराहा ३(१), धनुषा–१(१), धनुषा–२(१), धनुषा–३(२), धनुषा–४(२), रौतहट–२(१), बारा–१(१), बारा ३(१), बारा–४(१), बारा–३(२), महोत्तरी १(१) र महोत्तरी ४(१) मा जितेको छ। जसपाले धनुषा–२(२), पर्सा–१(२), पर्सा–४(२), बारा–१(२), रौतहट–४(२), सर्लाही–३(२), सिराहा–१(२), बारा–२(२) र महोत्तरी ४(२) मा जितेको हो।

य दुई गठबन्धनबाहेक जनमत पार्टीले ६ र स्वतन्त्र उम्मेदवारले ६ क्षेत्रमा जितेका छन्। जनमत पार्टीले सप्तरी–१(२), सप्तरी–२(१), सप्तरी–२(२), सप्तरी–३(२), सिराहा–४(१) र सिराहा–२(१) मा जितेको छ भने स्वतन्त्र उम्मेदवारले पर्सा–३(१), बारा–२(१), महोत्तरी–२(२), रौतहट–३(१), सर्लाही–३(१) र सप्तरी–४(२) मा जितेका हुन्।

समानुपातिकतर्फको अहिलेसम्मको मतअनुसार तीन लाख ७१ हजार ५ सय १५ मतसहित कांग्रेस पहिलो र ३ लाख ३५ हजार नौ सय ४३ मतसहित एमाले दोस्रो स्थानमा छ।

त्यसैगरी जसपाले २ लाख ६८ हजार ७ सय २४, जनमत पार्टीले दुई लाख ७८ हजार ५ सय ९७, माओवादीले एक लाख ७२ हजार २ सय ८५, एकीकृत समाजवादीले १ लाख ४ हजार ७ सय ४७ र लोसपाले १ लाख १ हजार ६ सय २७ मत प्राप्त गरेको छ।

दुई गठबन्धनसहित चुनावमा गए पनि कसैको बहुमत नआएपछि मधेश प्रदेशमा कसको र कसरी सरकार बन्ने विषयमा भन्ने अन्योल देखिएको छ।

सरकार बनाउन सङ्ख्या नपुगेको र केन्द्रको समीकरण पनि कसरी अगाडि बढ्छ भन्ने प्रस्ट भइनसकेकाले यहाँका नेताहरू समेत अन्योलमा परेका छन्। सत्ता गठबन्धनको मुख्य घटक कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा सरकार बनाउने विषयमा छलफल भइरहे पनि केन्द्रको निर्देशन र समानुपातिक तर्फको परिणाम आएपछि नै ठोस रूपमा अगाडि बढ्ने बताए।

उनले गठबन्धनका सबै दल र त्योभन्दा बाहिर रहेकासँग पनि कुराकानी भइरहेको बताए। ‘समानुपातिकको परिणाम आउँछ त्यसपछि सरकार बनाउने अवस्थाका बारेमा घनीभूत छलफल गर्छौँ’, यादवले भने ‘अहिलेकै अवस्थामा गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउनेमा हामी सबैको एक मत छ। त्यहीअनुसार अगाडि बढिरहेका छौँ।’

सत्तागठबन्धन कै अर्को घटक नेकपा माओवादी केन्द्रका नेता भरत साहले पनि गठबन्धनलाई नै अगाडि लिएर जाने बताए। ‘केन्द्रको निर्देशन आउला तर अहिले हामी गठबन्धनका नेताहरू छलफलमै छौँ। पुगनपुग सङ्ख्या स्पष्ट भएपछि त्यहीअनुसार थप रणनीति बनाउँछौँ’, साहले भने।

नेकपा एमाले–जनता समाजवादी पार्टी गठबन्धन पनि आफ्नो नेतृत्वमा सरकार बनाउने गरी छलफलमै छ। एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष रामअवतार यादवले प्रदेश कमिटीको बैठक आजै बसेर यस विषयमा पार्टीको धारणा बनाउने बताए।

उनले आफू पक्षीय गठबन्धन दल मिलेर सरकार बनाउने सम्भावना र अरू विकल्पका बारेमा केन्द्रको निर्देशन र प्रदेश कमिटीको निर्णयअनुसार अगाडि बढ्ने बताए।

त्यसैगरी जसपाका नेता एवं मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जसपा तेस्रो दलको हैसियतमा रहेकाले अरू दलको निर्णय र आवश्यकताका आधारमा अघि बढ्ने बताए।

उनले एमालेसँग उभिएर चुनावमा गएको तर दुई पार्टी मिलेर सरकार बन्ने अवस्था नरहेकाले राष्ट्रिय राजनीतिक समीकरण र जनताको ‘म्यान्डेट’ अनुसार प्रदेश सरकारबारे निर्णय हुने धारणा व्यक्त गरे।

‘हाम्रो सङ्ख्या पुग्दैन, अर्को गठबन्धनको अवस्था पनि त्यस्तै छ’, राउतले भने,‘केन्द्रको अवस्था के हुन्छ, अरूले पनि विकल्पका बारेमा कुरा गर्लान्। परिस्थितिअनुसार हामी अगाडि बढ्छौँ।’

दुवै गठबन्धनको सरकार बनाउन सङ्ख्या नपुगेको अवस्थामा जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरू निर्णायक हुने देखिएको छ। यी दुवै गठबन्धनका नेताहरूको ध्यान पनि जनमत पार्टी र स्वतन्त्र प्रतिनिधि मै छ।

कांग्रेस प्रदेश सभापति यादवले पनि जनमत पार्टी लगायत स्वतन्त्रहरूसँग छलफल गरेर अगाडि बढ्ने जनाए। तर जनमत पार्टीका प्रवक्ता बिपी साहले भने सकेसम्म आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने गरी छलफल भइरहेको बताए।

‘एक्लै चुनाव लडेको हिसाबले हामी सबैभन्दा ठूलो पार्टी हो, त्यसैले आफ्नै नेतृत्वमा सरकार बनाउन लाग्छौँ’ साहले भने, ‘अन्यथा शक्ति बाँडफाँट कसरी हुन्छ त्यहीअनुसार अगाडि बढ्छौँ।’

कुन गठबन्धनमा जाने गरी कुरा भइरहेको छ भन्ने जिज्ञासामा साह भन्छन्, ‘हामी खुला छौँ, अरू पार्टीले औपचारिक रूपमा संवाद सुरु गरेको अवस्था छैन।’

लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गर्दै समानुपातिकको नतिजापछि यस विषयमा गम्भीर छलफल गर्ने बताए।

उनले गठबन्धन बहुमतको नजिक रहेको र समानुपातिकको सङ्ख्या हेरेर रणनीति बनाउने बताए। ‘हामी छलफलमै छौँ। स्वतन्त्र रूपमा जित्नुभएका साथीहरू पनि सम्पर्कमै हुनुहुन्छ। त्यसैले चाँडै अन्यौलता चिर्छौँ’, सोनलको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved