धनकुटामा त्रिपक्षीय प्रतिस्पर्धा : सुनील र राजेन्द्रलाई हेमराजको चुनौती

धनकुटाको प्रतिनिधि सभा निर्वाचन फरकखाले देखिएको छ । त्यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसहमहामन्त्री सुनीलबहादुर थापा र नेकपा (एमाले) का तर्फबाट केन्द्रीय सदस्य राजेन्द्र राई दलीयरूपमा भिड्दैछन् । उनीहरूलाई स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले चुनौती दिएका छन् ।

धनकुटामा त्रिपक्षीय प्रतिस्पर्धा : सुनील र राजेन्द्रलाई हेमराजको चुनौती

काठमाडौं । धनकुटाको प्रतिनिधि सभा निर्वाचन फरकखाले देखिएको छ । त्यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसहमहामन्त्री सुनीलबहादुर थापा र नेकपा (एमाले) का तर्फबाट केन्द्रीय सदस्य राजेन्द्र राई दलीयरूपमा भिड्दैछन् । उनीहरूलाई स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले चुनौती दिएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट धनकुटा नेकपा (माओवादी केन्द्र) ले नपाउने पक्का भएपछि हेमराजले गत असोज ९ गते पार्टीबाट राजीनामा दिएका थिए । यसपछि उनी माछा चुनाव चिह्न लिएर स्वतन्त्ररूपमा उठेका छन् ।

२०७४ सालको निर्वाचनमा एमालेका राजेन्द्र राई विजय भएका थिए । उनले हालका प्रतिस्पर्धी सुनीलबहादुर थापालाई झन्डै १० हजार मतान्तरले पराजित गरेका थिए । त्यसबेला माओवादी केन्द्रले एमालेलाई समर्थन गरेको थियो, किनकी त्यसबेला वाम गठबन्धन थियो । थापा र राईबीचको यो तेस्रो चुनावी भेट हो भने हेमराज भण्डारी यसअघि सभासद बनिसकेका नेता हुन् । २०७० सालको संविधान सभामा उनले प्रतिनिधित्व गरेका थिए । यी ३ ‘हेभिवेट’ नेताबीचको त्रिपक्षीय प्रतिस्पर्धा रोचक बन्ने आकलन गरिएको छ ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनअनुसार धनकुटामा सबैभन्दा ठूलो पार्टी एमाले हो । ७ मध्ये ३ पालिका जितेको एमालेसँग ३६ हजार ३५ मत छ । ४ स्थानीय तहमा जित निकालेको सत्ता गठबन्धनआवद्ध दलले ३७ हजार ६ सय ८२ मत पाएका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादीले सुनीलबहादुर थापालाई समर्थन गरेका छन् । यसो हुँदा सुनीलबहादुर थापा र राजेन्द्र राईबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

तर, माओवादी केन्द्रबाट विद्रोह गरेका नेता हेमराज भण्डारी पनि आफू कमजोर नरहेको बताउँछन् । उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि समर्थन जनाएको छ । यसअघि गत असोज ९ गते माओवादी धनकुटाका सबै पार्टी समितिहरूले सामूहिक राजीनामा दिएका थिए । त्यसपछि जिल्ला नै माओवादी केन्द्रविहीन भएको दाबी भण्डारी पक्षले गरिरहेको छ ।

यसर्थ पनि उनलाई चुनौती दिन सक्ने उम्मेदवारका रूपमा हेरिएको छ । यी तीनैजना उम्मेदवार सबैले आफूले नै जित्ने दाबी गरिरहेका छन् । नेपालभ्युज सँग उनीहरुले गरेको दाबी जस्ताको त्यस्तैः

राजेन्द्र राई, उम्मेदवार, नेकपा (एमाले)

धनकुटामा मेरो जित घामजस्तै छर्लङ्ग छ । मसँग प्रतिस्पर्धा गर्न सक्ने कोही छैनन् । त्यसका धेरै आधार छन्, गत ५ वर्ष मैले जनताको सेवामै बिताएँ । मैले शासक होइन सेवक भएर काम गरेँ । मैले धनकुटेली जनताको प्रतिव्यक्ति आए बढाउनेदेखि सबै पालिकामा समानरूपमा बाटो पुर्‍याउनेसम्मको काम गरेको छु । जुन काम जनताले देखेका छन्, यसपटक पनि पुनः राजेन्द्र राई नै ल्याउनुपर्छ भनेर लागिरहेका छन् ।

सत्ता गठबन्धनका साथीहरूले सपनाको लड्डु खाइरहेका छन् । तर, जनताको फैसला मेरो पक्षमा आउँछ । धनुकटामा सत्ता गठबन्धनले जित्छ भन्दा कसले पत्याउँछ र ?

२०७४ सालमा मैले त्यहाँबाट ‘क्लिन स्वीप’ गरेको हुँ । यसपटक पनि त्यो विरासत यथावत् नै छ । मैले फेरि पनि यहाँबाट ठूलो मतान्तरका साथ विजय यात्रा तय गर्नेछु । यो समृद्धि सपनामा जनताले मलाई साथ दिइरहेका छन् । यसर्थ जनताको नेता मै हुँ, जनताको पार्टी एमाले नै हो । म ढुक्क छु, जनताले मलाई चुन्छन् ।

सुनीलबहादुर थापा, उम्मेदवार, सत्ता गठबन्धन

धनकुटामा म एक्लो उम्मेदवार भन्दापनि हुन्छ । मेरो प्रतिस्पर्धी कोही छैनन् । सबैले राजेन्द्रजीको कुरा गर्छन्, मैले भनेको छु— मेरो प्रतिस्पर्धी कोही पनि छैनन् । उहाँले गत ५ वर्षमा केही गर्नुभएन । यसैबाट जनताले उहाँलाई चिनिसकेका छन् ।

म सांसद बनिनँ, तर मैले धेरै काम गरेँ । यसबीचमा कोभिडकालमा मैले धनकुटाका लागि काम गर्दा उहाँ कहाँ जानुभयो, थाहा छैन । मैले अक्सिजनदेखि भेन्टिलेटर र क्वारेन्टिन बनाएँ । त्यसबेला उहाँले केही गर्नुभएन । त्यही कुराचाहिँ अहिले जनताले उठाइरहनुभएको छ । उहाँहरूले सुनीलले चाहिँ गर्छ भनेर भनिरहनुभएको छ । मैले जितिसकेँ भन्दा पनि फरक पर्दैन ।

अर्को त हामीले उम्मेदवार समावेशी रुपमा छानेका छौँ । माथि म छु, प्रदेशमा जनजाति र महिला साथी हुनुहुन्छ । यो पनि हामीले जित्छौँ भन्ने कुराको पुष्ट्याइँ हो । यसपटक धनकुटाको प्रतिनिधित्व मैले नै गर्छु । यसमा कुनै द्विविधा छैन ।

हेमराज भण्डारी, स्वतन्त्र उम्मेदवार

मलाई नौलो खालको महसुस भइरहेको छ । मैले जनतालाई नेता छाडेर तपाईंहरूसँग आएँ भन्ने गरेको छु । र, वास्तविकता पनि यही हो । मैले नेता छाडेर जनतासँग गठबन्धन गरेको छु ।

हिजो पार्टीको नेता थिएँ, आज जनताको नेता भएको छु जस्तो लागेको छ । जनतामा पार्टीहरूप्रतिको वितृष्णा यत्ति धेरै रहेछ कि मैले बाहिरिएपछि मात्रै थाहा पाएँ । यसपछि झनै मेरो ‘कन्फिडेन्ट’ बढेको छ ।

म जता–जता पुगेको छु, ज–जसलाई भेटेको छु । उहाँहरू सबैले नै राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । मसँग अहिले संगठन छैन, पार्टीका साथीहरू हुनुहुन्न, तर पनि जनताको समस्या उठाउने कुरामा जनताकै साथ मलाई छ । त्यसैले मैले यसपटक बाजी मार्छु भन्ने लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved