जो मुख्यमन्त्री बन्ने उद्देश्य राखेर कांग्रेसबाट प्रदेशमा उम्मेदवार बनेका छन्

सातवटा प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार यस्ता छन्

दुई गठबन्धनको प्रतिस्पर्धामा मुख्यमन्त्रीको चर्चा पनि चलिरहेको छ । कांग्रेसका केही त्यस्ता उम्मेदवार छन् जसले मुख्यमन्त्री बन्ने आकांक्षा राखेर प्रदेशमा उम्मेदवारी दिएका छन् । केहीलाई शीर्ष नेताले नै मुख्यमन्त्री बनाइदिने आश्वासन दिएर प्रदेशमा पठाएका छन् । यसपटक सत्ता गठबन्धनले धेरै प्रदेशमा सरकार बनाउने सम्भावना भएकाले मुख्यमन्त्रीको चाहना राख्नेको लर्को पनि लामै छ ।

जो मुख्यमन्त्री बन्ने उद्देश्य राखेर कांग्रेसबाट प्रदेशमा उम्मेदवार बनेका छन्

काठमाडौं। मंसिर चार गते हुने निर्वाचनपछि प्रदेशको नेतृत्व कसले गर्ला ? सरकार कसको बन्ला भन्ने चर्चा भइरहेको छ । दुई गठबन्धनको प्रतिस्पर्धामा मुख्यमन्त्रीको चर्चा पनि चलिरहेको छ । कांग्रेसका केही त्यस्ता उम्मेदवार छन् जसले मुख्यमन्त्री बन्ने आकांक्षा राखेर प्रदेशमा उम्मेदवारी दिएका छन् । केहीलाई शीर्ष नेताले नै मुख्यमन्त्री बनाइदिने आश्वासन दिएर प्रदेशमा पठाएका छन् ।

यसपटक सत्ता गठबन्धनले धेरै प्रदेशमा सरकार बनाउने सम्भावना भएकाले मुख्यमन्त्रीको चाहना राख्नेको लर्को पनि लामै छ । कांग्रेसबाट कुन प्रदेशमा को-को दाबेदार छन् त ?

प्रदेश–१ मा ६ जना दाबेदार  

प्रदेश एकमा चौथो मुख्यमन्त्री को बन्ला भन्ने धेरैको चासो छ । पहिलो कार्यकालमै तीनजना मुख्यमन्त्री पाएको प्रदेश एकमा कांग्रेसबाट धेरैको दौड छ । कांग्रेसबाट ६ जना नेताले मुख्यमन्त्री बन्ने आकांक्षा सहित प्रदेशसभाका लागि उम्मेदवारी दिएका छन् ।

मोरङ क्षेत्र नम्बर ५ को ‘ख’ बाट सत्ता गठबन्धनबाट उम्मेदवार बनेका अमृत अर्याललाई मुख्य दाबेदारका रूपमा हेरिएको छ । संविधानसभा सदस्य भइसकेका केन्द्रीय सदस्य अमृत अर्याल मुख्यमन्त्री बन्ने सर्तमा प्रदेशमा उठेको चर्चा कांग्रेसीबीच छ ।

यस्तै, विराटनगरका पूर्वमेयर भीम पराजुली पनि मुख्यमन्त्रीको दौडमा छन् । उनी मोरङ ४ को ख बाट उम्मेदवार बनेका छन् । यस्तै, कांग्रेस नेता गुरु घिमिरेलाई पनि भावि मुख्यमन्त्रीको रूपमा हेरिएको छ । उनी २०६२–०६३ को जनआन्दोलनका चर्चित नेता थिए । संस्थापनइतर समुहमा सक्रिय घिमिरे यसपटक प्रदेशमा उठेका छन् ।

कांग्रेसबाट राजीव कोइराला, उद्धव थापा र केदार कार्कीको पनि मुख्यमन्त्रीमा दाबी छ । कुल ९३ सदस्यीय प्रदेशसभामा अघिल्लोपटक एमालेले ५१ सिट जितेको थियो । त्यहाँ माओवादीको १५, कांग्रेसको २१, संघीय समाजवादी फोरमको ३, राप्रपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्रको १–१ सिट आएको थियो ।

मधेस प्रदेशमा को ?

मधेस प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने मुख्यत दुईजना नेतालाई दाबेदारका रूपमा हेरिएको छ । मधेसवादी दलको प्रभाव रहे पनि यो प्रदेशमा कांग्रेस नै ठूलो दल हो । गठबन्धनका कारण उसले प्रदेशमा धेरै सिट जित्ने अनुमान गरिएको छ ।

धनुषा ३ ‘क’ बाट उम्मेदवार बनेका रामसरोज यादवलाई कांग्रेसबाट मुख्यमन्त्रीको मुख्य दाबेदारका रूपमा हेरिएको छ । उनी २०७४ सालमा यहि क्षेत्रबाट निर्वाचित भएका थिए । कांग्रेस संसदीय दलको नेता समेत रहिसकेकाले पनि उनको सम्भावना बढी भएको हो ।

यस्तै, रौतहट १ ‘ख’ बाट उम्मेदवार बनेका कृष्ण यादव पनि मुख्यमन्त्रीको दौडमा छन् । २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा रौतहट १ मा लोसपाका नेता अनिल झासँग पराजित भएका यादव कांग्रेसभित्र निष्ठावान् नेताका रूपमा चिनिन्छन् । यादवले मुख्यमन्त्री बन्नेगरी प्रदेशमा उम्मेदवारी दिएको भन्दै चुनावी प्रचार सुरु गरेका छन् ।

कुल एक सय ७ सिट रहेको मधेस प्रदेशका ६४ सिटमा प्रत्यक्ष निर्वाचन हुँदैछ ।

बागमतीमा दुईजना दाबेदार

बागमती प्रदेशको मुख्यमन्त्रीकालागि कांग्रेसबाट दुई नेताले दाबी गरेका छन् । आफूले जितेमा मुख्यमन्त्री बन्ने दाबीसहित उनीहरू चुनावी प्रचारमा लागेका छन् । मकवानपुर २ को प्रदेशसभा–२ मा उम्मेदवारी दिएका इन्द्र बानियाँ मुख्यमन्त्रीको दौडमा सबैभन्दा अघि छन् ।

यसअघि, सत्ता गठबन्धनमा भागबण्डा गर्दा बानियाँ मुख्यमन्त्री बन्ने लगभग पक्कापक्की जस्तै भएको थियो । तर, अन्तिममा माथिबाटै नेताहरूले रोकेका थिए । मुख्यमन्त्री बन्न उनले हस्ताक्षर अभियान नै चलाइसकेका थिए । तर, गठबन्धनमा गडबडी हुने भन्दै सभापति शेरबहादुर देउवाले बानियाँलाई रोकेका थिए । उनी कांग्रेसको बागमती प्रदेश समिति सभापति पनि हुन् ।

यस्तै, कांग्रेस केन्द्रीय सदस्य एवं निवर्तमान सांसद बहादुरसिंह लामा यसपटक प्रदेशसभामा उठेका छन् । नुवाकोट २ को प्रदेशसभा ख मा उम्मेदवारी दिएका लामा कांग्रेसमा जनजातितर्फ सिनियर नेता मानिन्छन् ।सभापति शेरबहादुर देउवा निकट लामाले अन्तिममा संघको टिकट अर्जुननरसिंह केसीलाई छाडेर प्रदेश रोजेका थिए ।

उनलाई पार्टी सभापति देउवा र प्रवक्ता डा. प्रकाशशरण महतले मुख्यमन्त्री बनाउने आश्वासन दिएको चर्चा छ । संघीय राजधानीसमेत रहेको यो प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिट छ भने समानुपातिकबाट ४४ जना छानिनेछन् ।

गण्डकीमा प्रदेश सभापतिको दाबी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसबाट दुई जनाको नाम चर्चामा छ । कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा पार्टीभित्र बलियो छन् । तर कास्कीको संसदीय राजनीतिमा भने उनलाई सफलता मिलेको छैन । २०४८, २०५१ र २०७४ मा चुनाव उठे पनि शर्माले जितेनन् । तर, पार्टीभित्र भने उनको राम्रै पकड छ ।

शर्माले यसपटक उम्मेदवारी दिएका छैनन् । तर, गण्डकी प्रदेशसभाको दोस्रो कार्यकालमा सांसद हुने भने पक्का छ । कांग्रेस गण्डकी प्रदेशसभा सभापति शर्माको नाम प्रदेशसभा सदस्यको समानुपातिक सूचीको पहिलो नम्बरमा छ । कांग्रेसको सरकार बनेमा शर्मा मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।

कांग्रेसबाट शर्मासहित गण्डकी प्रदेशका बहालवाला कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापालाई पनि मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको छ । मन्त्री थापाले आफूलाई मुख्यमन्त्रीको दौडमा सभापति शर्मासँगै उभ्याउन कास्की २ (ख) बाट प्रदेशसभा सदस्य जित्नुपर्ने हुन्छ । कांग्रेसभित्र सभापति शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । बहालवाला मन्त्री थापा सभापति देउवानिकट हुन् ।

लुम्बिनी प्रदेशमा चारजनाको दाबी

लुम्बिनी प्रदेशको भावि मुख्यमन्त्रीका लागि कांग्रेसबाट चार जनाको दाबी छ । संस्थापन र इतर समूहका नेताको दाबेदारी रहेकाले कांग्रेसबाट मुख्यमन्त्री बन्ने अवस्थामा केन्द्रको निर्णयमा धेरै निर्भर हुनेछ ।

मुख्यमन्त्रीमा प्रदेश सभापति अमरसिंह पुनको प्रमुख दाबेदारी देखिएको छ । तर, कांग्रेसभित्रको संस्थापन इतर पक्षका भएकाले पुनलाई रोक्ने संस्थापन पक्षको रणनीति छ । पुनले रोल्पाको प्रदेशसभा २ मा उम्मेदवारी दिएका छन् ।

रुपन्देहीका अब्दुल रज्जाकलाई पनि अन्तिम समयमा प्रदेशमा अघि सारिएको छ । संस्थापन पक्षले रज्जाकलाई मुख्यमन्त्रीका रूपमा प्रचार गरेको छ । प्रतिनिधि सभा सदस्य र संघीय सरकारको राज्यमन्त्री समेत भएका रज्जाकलाई उम्मेदवारी दर्ताको अन्तिम समयमा टिकट दिएर प्रदेशमा ल्याइएको हो ।

संस्थापन पक्षकै नेता एवं अघिल्लो प्रदेश सभा संसदीय दलका नेता वीरेन्द्र कनौडिया पनि मुख्यमन्त्रीको दौडमा छन् । यस्तै, कांग्रेस नेता एवं पूर्वमन्त्री दिल्ली चौधरी पनि मुख्यमन्त्रीका आकांक्षी हुन् ।

कुल ८७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४४ सिट आवश्यक पर्छ । ५२ जना सांसद प्रत्यक्ष निर्वाचित हुने यो प्रदेशमा समानुपातिबाट ३५ जना छानिनेछन् ।

जीवनबहादुरको दोहोरीने इच्छा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई कांग्रेस हुम्लाले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ एकल उम्मेदवार सिफारिस गरेको थियो । तर, उनले फेरि प्रदेश रोजेका छन्  । एकपटक मुख्यमन्त्री बनिसकेका शाही फेरि पनि उक्त पदमा पुग्ने दौडमा छन् ।

अघिल्लो कार्यकाल कम समयको भएको भन्दै उनले पूरै कार्यकाल चलाउने गरी फेरि मुख्यमन्त्री बन्न प्रदेशसभा रोजेको बताइरहेका छन् ।

कांग्रेसबाट प्रदेश सभापति जुम्लाका ललितजंग शाही र जाजरकोटका राजीवविक्रम शाह पनि मुख्यमन्त्रीका आकांक्षी हुन् ।  कर्णालीमा प्रत्यक्षतर्फ २४ सिट र समानुपातिकतर्फ १६ गरी ४० सिटका लागि चुनाव हुँदैछ  ।

सुदूरपश्चिममा तीन जनाको चर्चा

सुदूरपश्चिममा कांग्रेसबाट मुख्यमन्त्री बन्ने आकांक्षा राखेका तीन नेता चुनावी प्रतिस्पर्धामा छन् । रणबहादुर रावल कांग्रेसबाट मुख्यमन्त्रीका मुख्य दाबेदार हुन् । प्रदेश सभामा कांग्रेस संसदीय दलको नेतृत्व गरिसकेका रावल कैलाली १ ‘ख’ बाट उम्मेदवार बनेका छन्।

यदि प्रदेशको नेतृत्व कांग्रेसले पाउने अवस्थामा रावल नै मुख्यमन्त्री बन्न सक्ने स्थानीय नेता कार्यकर्ता बताउँछन् ।

यस्तै गोविन्द बोहरा र बहादुर थापा पनि मुख्यमन्त्रीका आकांक्षी छन्। बोहराले डडेल्धुरा १ ‘ख’ बाट उम्मेदवारी दिएका छन् भने थापा कञ्चनपुर २ बाट उठेका छन् ।

सातै प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदारको संख्या उल्लेख्य छ । तर कति प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने जनमत पाउँछ भन्ने स्पष्ट छैन । यी दाबेदारमध्ये को-को मुख्यमन्त्री बन्न सफल होलान ? चुनावी परिणाम र शीर्ष नेतृत्वमा निर्भर छ ।

 

यो पनि पढ्नुहोस

एमालेबाट सातवटै प्रदेशमा यस्ता छन् मुख्यमन्त्रीका दाबेदार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved