द्वन्द्वपीडितको कर्णाली यात्रा : ‘फेरि युद्ध कहिल्यै नहोस्’

द्वन्द्वपीडितको कर्णाली यात्रा : ‘फेरि युद्ध कहिल्यै नहोस्’

कर्णाली । म्याग्दी बेनीका ६७ वर्षीय कृष्णलाल श्रेष्ठको खुट्टाको आधा भाग छैन । कृत्रिम खुट्टाको सहायताले उनि हिँड्डुल गर्छन् । तत्कालीन विद्रोही पक्षले २०६० चैत ७ गते बेनी आक्रमण गरेपछि उनको जिन्दगीले नयाँ मोड लियो । उक्त दिन रातभर सुरक्षाकर्मी र माओवादीबीच दोहोरी भिडन्त भइरहेको थियो ।

जिल्ला अदालतमा कार्यालय सहायकका रूपमा कार्यरत कृष्णलाललाई बिहानपख शौचालय जाने क्रममा सुरक्षाकर्मीले माओवादी भन्ठानेर गोली बर्साए । ‘तीन वटा गोली लागेपछि म कार्यालयको मूल ढोकानिर ढलेँ, ढलेको केही बेरमै छेउमा बम पड्कियो, त्यो विष्फोटले खुट्टा क्षतविक्षत बनायो, त्यहाँ उपचार नहुने भएपछि हेलिकोप्टरमार्फत काठमाडौं लगियो, उपचारमा लापरबाही हुँदा उल्टै खुट्टा कुहिएछ, कुहिएको भाग काट्नुपर्‍यो, खुट्टा हालेर तीन महिनापछि घर फर्किएँ’, अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालको आयोजनामा सुर्खेतको घण्टाघर चोकमा आयोजित तस्बिर प्रर्दशनीमा उनले विगत सम्झिँदै भने, ‘दुःखको भूमरीका बीच पनि हिम्मत कहिल्यै हारिनँ, लौ हेर्नुस् जीवन त जसोतसो चल्दो रहेछ नि !’

कृष्णलालको घटनापछि अदालतमा उहाँकी श्रीमतीको जागिर छ । श्रीमतीकै जागिरको सहारामा परिवारको खर्च चलेको छ । उनको शब्द–चित्रको शीर्षकमा लेखिएको छ– ‘फेरि युद्ध कहिल्यै नहोस् ।’

मुलुकमा १० वर्षे सशस्त्र द्वन्द्व समाप्ति भएर शान्ति प्रक्रियामा आइसकेपछि २०६३ असार १२ गते म्याग्दी बेनीका सुरेन्द्र खत्री बाख्रा गोठाला गएका थिए । जङ्गलमा एउटा प्लाष्टिकमा बेरेर छाडिएको वस्तुलाई खेलौना सम्झेर चलाउन खोज्दा पड्कियो । उनि आफ्नो विगतलाई सम्झन्छन्, ‘विस्फोटकका कारण हातका साथै शरीरका विभिन्न भागमा छर्राले ठूलो क्षति पुग्यो । घटनापछि पोखरा क्षेत्रीय अस्पताल लगियो, उपचारका क्रममा मेरा दुवै हातको नाडीभन्दा मुनिको भाग काट्नुपर्‍यो ।’

अपाङ्गता भएका व्यक्तिसँग काम गरिरहेका सुरेन्द्र राष्ट्रिय अपाङ्गता महासङ्घको प्रदेश सचिव तथा द्वन्द्वपीडित अपाङ्गता सञ्जालका राष्ट्रिय अध्यक्ष हुन् । उपचारपछि पढाइका साथै उनले कम्प्युटर र ड्राइभिङ सिकेका छन् ।

आफूजस्तै द्वन्द्वपीडितसँग आफ्ना जीवित स्मृति शब्द–चित्र देखाउँदै र अडियो सुनाउँदै सुरेन्द्रले भने,’मलाई कसैप्रति गुनासो छैन, एउटा मात्र कुरा जङ्गलमा बेवारिसे बम कसले छोड्यो भन्ने सत्य थाहा पाउन मन छ ।’

म्याग्दी बेनीका कृष्णलाल श्रेष्ठ र सुरेन्द्र खत्रीजस्तै १४ द्वन्द्वपीडित यतिबेला आफ्ना जीवित स्मृति सुनाउँदै कर्णाली आइपुगेका छन् । बाँके कुम्भहरका ४८ वर्षीय रामतरतन थारु, बर्दिया तारातालका ५१ वर्षीय अशोक सोडारी, बर्दिया राजापुरका ६५ वर्षीय हेमराज थारु, राजापुरकै ४० वर्षीय गयाप्रसाद चौधरीलगायत अपाङ्गता भएका द्वन्द्वपीडितहरु कर्णालीको यात्रामा आइपुगेका छन् । सुर्खेतमा प्रर्दशनीपछि यो टोली कालीकोटतर्फ लागेको छ । त्यहाँ मङ्गलबार प्रर्दशनीको आयोजना गरिँदैछ ।

प्रर्दशनीमा द्वन्द्वको समयमा घाइते भएपछि उनीहरुले भोगिरहेका समस्या, राज्यप्रति पीडितका गुनासा र घटनाको विवरण समेटेर बनाइएको कथाको सारांश तस्बिरको दायाँ, बायाँ वा तल, माथि नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएका छन् । तस्बिर अवलोकन गर्न आउनेलाई कथा अडियोमा सुनाउन एउटा तस्बिरमा चार वटा हेडफोन जोडिएको छ ।

बर्दिया तारातालका अशोक सोडारीले भने, ‘दश वर्षे द्वन्द्वका कारण हामी जस्ता सर्वसाधारणले अनाहकमा पीडा भोग्नुपरे पनि पछिल्लो पुस्ताले यसबारे जानोस् र भविष्यमा यस्ता पीडादायी युद्धलाई अस्वीकार गरोस भन्ने उद्देश्यले हामी तस्बिर प्रर्दशनी यात्रामा निस्किएका हौँ ।’

सरकारले सत्यतथ्य छानबिन गरेर चाँडो न्याय देओस् भन्ने पीडितहरुको माग छ । ‘विस्तृत शान्ति सम्झौतापछि राज्यले हाम्रो घाउमा मलम लगाउला भन्ने विश्वास थियो, त्यो अझै पूरा हुन पाएको छैन’, राजापुरका गयाप्रसाद चौधरीले भने, ‘त्यसरी यातना दिएर अङ्गभङ्ग बनाउने को हो मलाई थाहा दिनु राज्यको दायित्व हो, व्यक्ति नचिन्दा बर्दीधारी जो देखे पनि अपराधीजस्तो लाग्ने गर्दछ ।’

सत्य कुरा बाहिर आए आफूहरु माफी दिन तयार भएको उनको भनाइ छ । उनले भने, ‘राज्यले सम्मानित जीवन जीउनसक्ने वातावरण सिर्जना गरिदेओस, जीवन निर्वाह भत्ता, परिवारको शिक्षा र रोजगारीको सुनिश्चितता गरोस, शारीरिक एवं मानसिक स्वास्थ्य उपचारको जिम्मा लेओस्, हामी पीडकलाई माफी दिन पनि तयार हुनेछौँ ।’

आयोजकका अनुसार तस्बिर दुई हजारभन्दा बढीले अवलोकन गरेका छन् । स्कूले बालबालिकादेखि द्वन्द्वलाई नजिकबाट देखे भोगेकाहरुले भाग्यवश बाँचेकाहरुको कथा मात्रै देखेनन्, अब यस्तो युद्ध कहिल्यै नहोस भनी कामना गर्दै फर्किए ।

आयोजकले सङ्कलन गरेको सुझावपत्रमा नाम उल्लेख नगरेका एक दर्शकको प्रेरणादायी वाक्य यस्तो छ, ‘आफूसँग भएको सबै गुमाएर फेरि आफ्नै खुट्टामा उभिनु कम्ती सहज हुँदैन । तर यी १४ व्यक्तिले मानसिक शक्ति सबल रहुञ्जेल त्यसो गर्नु असम्भव छैन भन्ने पनि देखाउनुभएको छ । सलाम छ उहाँहरुलाई ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved