प्रतिनिधिसभाको शून्य समयमा कसले के भने ?

नेपालभ्युज

प्रतिनिधिसभाको शून्य समयमा कसले के भने ?
फाइल तश्वीर

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दिव्यमणि राजभण्डारी गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद राजभण्डारीले गोरखा सैनिकहरूको मागलाई सरकारले बेवास्ता गरेर दुःखी बनाएकाले तत्काल माग पूरा गर्न माग गरेका हुन् । उनले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाएको बताए ।

त्यस्तै, सांसद दीपकप्रकाश भट्टले विद्यालयमा काम गर्ने शिक्षकहरुको संस्था नेपाल कर्मचारी परिषद्ले उठाएका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे । उनले विद्यालय व्यवस्थापन र विद्यालयका कर्मचारी दुईतर्फ भइरहेकाले उनीहरूको जायज माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताए ।

सांसद नवराज सिलवालले ललितपुरको ठूला दुलुङ क्षेत्रमा उत्पादन हुने कफी खेतीलाई प्रवन्धन गर्न आर्थिक र प्राविधिक प्याकेज माग गरे । उनले उक्त क्षेत्रमा १२ सय घरपरिवार कफी खेतीमा संग्लन भएर युरोपमा कफी निर्यात गरिरहेको बताए । सिलवालले यो वर्ष करिव ९ टन कफी निर्यात गर्ने किसानहरुले लक्ष्य राखेको पनि बताए । त्यहाँका किसान र सांसदसमेत मन्त्रालयहरूमा गएर कफी खेती प्रबन्धन गर्न आर्थिक सहयोग माग गर्दा समेत सरकारले कानमा तेल हालेर बसेको उनले आरोप लगाए ।

त्यस्तै, सांसद दुर्गाकुमारी विश्वकर्माले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विदेशमा हुने नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउन माग गरिन् । उनले अहिले ४५ लाख नेपाली विदेशमा रहेको तर अहिलेसम्म निर्वाचनमा मत दिने अधिकार नपाएको बताइन् । सांसद विश्वकर्माले सम्बन्धित दूतावासबाट भोट हाल्न पाउने व्यवस्था गर्न पनि माग गरिन् । उनले नेपालमा नै रहेर नेपाली विभिन्न उद्योगमा काम गर्ने जनताले भोट दिन नपाएको अवस्था रहेको भन्दै उद्योगमा काम गर्ने मजदुरहरुलाई पनि भोट हाल्ने वातावरण बनाउन माग गरिन् ।

त्यस्तै, सांसद पार्वता जिसी चौधरीले माओवादी र कांग्रेसको अपवित्र गठबन्धनले देश र पार्टी दुवैको हित नगर्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी भएको भन्दै नेपाली कांग्रेसलाई बचाउन गठबन्धन तोड्न आग्रह गरे । उनले प्रधानमन्त्री देउवालाई कांग्रेस आगामी निर्वाचनमा एक्लै निर्वाचनमा जाने घोषणा गर्न सुझाव दिए । सांसद चौधरीले आगामी निर्वाचनमा काँग्रेसलाई ठूलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताए । उनले प्रधानमन्त्री देउवालाई जीवनको अन्तिम समयमा एउटा राम्रो काम गर्न भन्दै राम्रो काम नगरे भावी पुस्ताले सराप्ने बताए ।

त्यस्तै सांसद अञ्जना बिसङ्खेले आगामी निर्वाचनमा महिलाको लागि निर्वाचन आरक्षण तोकी कानून बनाएर समानुपातिक सहभागिता कायम गर्न सरकारसँग माग गरिन् । उनले आरक्षण ताकेर तत्काल विधेयक ल्याउन सभामुखको रुलिङ माग गरिन् । त्यस्तै सांसद प्रेम सुवालले त्रिभूवन विश्वविद्यालय तीन वर्षमा ३०० सय दिन तालाबन्दी भएकाले तीन वर्षयता प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरुलाई स्पष्टीकरण सोध्नुपर्ने बताए ।

उनले युद्धको समयमा समेत विद्यालय र विश्व विद्यालयहरू सञ्चालन भएका देशहरू धेरै रहेको बताए । उनले भारतको गगनचुम्बी जुम्ल्याहा भवन बम राखेर भत्काए जस्तै काठमाडौंको ठमेलको सार्वजनिक कमल पोखरीमा निर्माण गरिएको व्यापारिक भवन छायाँ कम्प्लेस भत्काउन जरुरी रहेको बताए । सांसद सुवालले निर्वाचन घोषणा भएपछि संसद सुचारु हुने आचार संहिताको उल्लघंन भएको गुनासो भएकाले तत्काल संसद अन्त्य गर्न माग गरे । उनले उल्लेखित विषयमा सभामुखसँग रुलिङको मागसमेत गरे ।

त्यस्तै, सांसद डा.विजय सुब्बाले साझा प्रकाशनलाई कक्षा ११ को पाठ्यपुस्तक छाप्न दिने निर्णय भएपनि स्वीकृत नभएको भन्दै तत्काल फाइल स्वीकृत गर्न माग गरे । उनले यो भन्दा अगाडिका ६ जना शिक्षा मन्त्रीले साझा प्रकाशन केन्द्र डुबाइएको पनि बताए । उनले शिक्षा मन्त्रीलाई साझा प्रकाशनको विषयमा गलत सूचना गएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved