प्रतिनिधिसभा निर्वाचन

काठमाडौं क्षेत्र नम्वर पाँच : ईश्वर पोखरेललाई सत्ता गठबन्धन र स्वतन्त्रको चुनौति

कांग्रेसमा आकांक्षीको लर्को, महतदेखि वाग्लेसम्मको सम्भावना

अघिल्लो चुनावमा वाम गठबन्धनका कारण सहज रुपमा जीत निकालेका ईश्वर पोखरेललाई यसपटक भने कठिन देखिएको छ । किनकी पहिले एमालेसँग मिलेको माओवादी यसपटक कांग्रेससँग मिलेको छ । एमालेमै विभाजन आएर बनेको एकीकृत समाजवादीको मत पनि पोखरेलको विपक्षमा जाने निश्चित छ ।

काठमाडौं क्षेत्र नम्वर पाँच : ईश्वर पोखरेललाई सत्ता गठबन्धन र स्वतन्त्रको चुनौति

काठमाडौं :  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा भएसँगै रौनक सुरु भएको छ । उम्मेदवार बन्न चाहनेले लबिइङ पनि थालेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्ने गरी दलहरूले रणनीति बनाउँदै गर्दा उम्मेद्वार बन्न चाहनेले अङ्कगणित हिसाब गर्न थालेका छन् ।

सत्ता गठबन्धनमा अहिले सिट बाँडफाँटको गृहकार्य चलिरहेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले घोषण पत्र बनाउने तयारीमा जुटेको छ । चुनावी तालमेलको ढोका खुला राखेर एमाले निर्वाचन तयारीमा लागेको छ ।

आकांक्षी धेरै देखिएकाले दलहरूलाई उम्मेदवार व्यवस्थापनमा चुनौती देखिएको छ । तर प्रमुख दलका शीर्ष नेताको हकमा भने टिकट निश्चित जस्तै छ । गत निर्वाचनमा एमालेले जितेको काठमाडौं क्षेत्र नम्बर ५ मा पनि चुनावी सरगर्मी बढेको छ ।

यतिवेला चिया पसल होस् या चोक,  टिकट कसले पाउला ? टिकट पाइहाले कसले जित हात पार्ला भन्ने गफगाफ चल्न थालेको छ । काठमाडौं क्षेत्र नम्वर पाँचमा सम्भावित उम्मेदवार र दलहरुको अवस्था कस्तो छ त ?

एमालेबाट ईश्वर पोखरेलकै सम्भावना

यो निर्वाचनमा काठमाडौं ५ मा प्रतिपक्षी दल नेकपा एमालेले ईश्वर पोख्रेललाई उम्मेदवार बनाउने तयारी गरेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोख्रेलको उम्मेदवारी लगभग पक्का जस्तै भएको नेताहरू बत्ताउँछन् ।

२०६४ र २०७० सालका दुवै संविधानसभाको निर्वाचनमा पराजित भएका पोख्रेल २०७४ सालको निर्वाचनमा भने निर्वाचित भएका थिए । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ९ हजार ८ सय ६० मत बढी ल्याएका थिए । पोखरेलले २३ हजार २९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश शरण महतले १३ हजार १६९ मात्रै ल्याएका थिए । तर त्यो बेला वाम गठबन्धन बनेको थियो । यस्तै विवेकशील साझा पार्टीका उम्मेदवार उज्जल थापाले ६ हजार ८ सय ५३ मत ल्याएका थिए ।

कांग्रेसमा आकांक्षीको लर्को 

काठमाडौंका अन्य भन्दा यो क्षेत्रमा एमालेको अलि बढी प्रभाव रहेको मानिन्छ । गत स्थानीय तह निर्वाचनको नतिजा हेर्दा पनि सत्ता गठबन्धन भन्दा एमाले नै अगाडी देखिएको छ ।

त्यसैले गठबन्धनलाई यसपटक एकातिर एमालेको चुनौती छ भने अर्कोतर्फ उम्मेदवारको टुङ्गो लगाउन सकस छ । अन्य भन्दा कांग्रेसमा हेवी वेट नेता भएकाले यो क्षेत्र कांग्रेसले पाउने सम्भावना छ । कांग्रेसबाट डा. प्रकाश शरण महत, प्रदीप पौडेल, शारदा शर्मा, नैनसिंह महर, स्वर्णिम वाग्ले लगायतको नाम चर्चामा छ ।

अघिल्लो निर्वाचनमा पराजित भएका महतले यसपटक पनि दाबी गरेका छन् । कांग्रेस केन्द्रीय प्रवक्ता समेत रहेका महतले विगतमा वाम गठबन्धनका कारण हारेको भन्दै यसपटक टिकट पाए जित्ने बताएका छन् । यद्यपी नेता व्यवस्थापनमा समस्या भए महतका लागि नुवाकोट पनि विकल्प छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफू झापा बाटै चुनाव लड्ने बताइरहेका छन्। तर अघिल्लो निर्वाचनमा झापा क्षेत्र नं १ वाट पराजित भएका शर्माले झापा छोड्नुपर्ने अवस्था आए काठमाडौं ५ नै ताकेका छन् । उक्त सिट माओवादीको भागमा परेमा शर्मा पनि काठमाडौंबाटै लड्न इच्छुक देखिन्छन् ।

०७४ को निर्वाचनमा शर्मा माओवादीका राम कार्कीसँग पराजित भएका थिए । नेता कृष्णप्रसाद सिटौलासँगको सम्बन्धमा सुधार नभएका कारण पनि शर्माले झापालाई सुरक्षित ठानेका छैनन्। त्यसैले उनले काठमाडौं ५ लाई विकल्पका रुपमा राखेका छन् ।

यस्तै केन्द्रीय सदस्य प्रदीप पौडेल पनि उम्मेदवार बन्ने लाइनमा छन् । उनले केही स्थानीय नेतासँग यसबारे छलफल पनि चलाएका छन् ।  संस्थापन पक्षमा आएका पौडेललाई सभापति देउवाका निकट्तम सहयोगी महतको स्थान लिन भने गाह्रो छ ।

यस्तै पूर्व सांसद नरहरि आचार्यकी श्रीमती शारदा शर्मा पनि आकांक्षी देखिएकी छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका डा स्वर्णिम वाग्ले पनि काठमाडौं ५ का सम्भावित उम्मेदवार हुन् । उनले काठमाडौं–५, चितवन वा गोरखामध्ये कुनै एक क्षेत्रबाट चुनाव लड्ने इच्छा राखेको बताइएको छ ।

स्वतन्त्रको चर्चा पनि उस्तै

यो क्षेत्रमा विवेकशील नेपाली दलकी पूर्व नेता रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन् । यसअघि काठमाडौ महानगरको मेयरमा उम्मेदवारी दिएर उल्लेख्य मत ल्याएकी दर्शनालाई पनि प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

उनी यसअघि विवेकशील साझा पार्टीमा थिइन् । उनले काठमाडौं महानगरको मेयरमा प्रतिस्पर्धा गरेर २३ हजार भन्दा बढी मत ल्याएपछि चर्चा चुलिएको थियो । यसपटक भने स्वतन्त्र रुपमा उठ्ने उनले घोषणा गरेकी छन् ।

युवा उद्यमी विजय कंडेलले पनि काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनले काठमाडौंलाई धुलोरहित बनाउन ’जाग्यो नेपाल’ अभियानको नेतृत्व गरेका थिए ।

दलहरूले जनअपेक्षा पुरा गर्न नसकेको भन्दै देशव्यापी स्वतन्त्र अभियान पनि चलिरहेको छ । काठमाडौं ५ पनि बौद्धिक मतदाता धेरै भएको क्षेत्र भएकाले परिणाम कस्को पोल्टोमा पर्छ अहिले नै यकिन गर्न कठिन हुने विश्लेषकको भनाइ छ । तर मुख्य प्रतिस्पर्धा भने नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच नै हुने निश्चित छ । यद्यपी रञ्जुलाई पनि कम आँक्न मिल्दैन ।

अघिल्लो चुनावमा वाम गठबन्धनका कारण सहज रुपमा जीत निकालेका ईश्वर पोखरेललाई यसपटक भने कठिन देखिएको छ । किनकी पहिले एमालेसँग मिलेको माओवादी यसपटक कांग्रेससँग मिलेको छ ।

एमालेमै विभाजन आएर बनेको एकीकृत समाजवादीको मत पनि पोखरेलको विपक्षमा जाने निश्चित छ । तर उनको प्रतिद्धन्दी कस्तो हुन्छ भन्नेले परिणाम फरक पार्न सक्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved