तुरुन्तै प्रहरी समायोजन नगरे संघीय सरकारविरुद्ध कानुनी उपचार खोज्ने मन्त्री श्रेष्ठको चेतावनी

नेपालभ्युज

तुरुन्तै प्रहरी समायोजन नगरे संघीय सरकारविरुद्ध कानुनी उपचार खोज्ने मन्त्री श्रेष्ठको चेतावनी

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन नगरे नेपाल सरकारविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।

मंगलबार सिन्धुपाल्चोकस्थित पाँचपोखरी थाङ्पाल प्रहरी चौकी भवनको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन गर्न नेपाल सरकारलाई आग्रह गरे ।

नेपालको संविधानले प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी स्पष्ट रूपमा प्रदेश सरकारलाई दिएको उल्लेख गर्दै उनले प्रहरी समायोजन हुन नसक्दा प्रदेशको शान्ति, सुरक्षामा समस्या आउनसक्ने बताए ।

मन्त्री श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन नगरे संविधान कार्यान्वयन गर्न नेपाल सरकारविरुद्ध सबै प्रदेश एकताबद्ध भएर कानुनी उपचार खोज्ने चेतावनी दिए ।

मन्त्री श्रेष्ठले सेवाग्राहीलाई सेवा प्रवाह गर्दा सकारात्मक विभेदको नीति अनुसरण गर्न नेपाल प्रहरीलाई आग्रह गरे । उनले मातृभाषा प्रयोगकर्ता सेवाग्राहीलाई सकेसम्म सेवाग्राहीकै भाषामा सेवा प्रदान गर्न पनि निर्देशन दिए ।

उनले ‘सय अपराधी छुटोस् तर एकजना पनि निर्दोष व्यक्ति नपरोस्’ भन्ने मान्यतालाई गहिरो रूपमा आत्मसात् गर्दै काम गर्न आग्रह गरे । उनले ठोस तथ्य, प्रमाणको आधारमा मानव अधिकारको पूर्ण संरक्षण हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले स्रोत, साधन, प्रविधिको सीमितताको बाबजुद पनि प्रहरी शान्ति, सुरक्षा र विपद्लगायतका आपत्कालीन अवस्थामा नागरिकको भरपर्दो साथी बनेको बताए ।

उनले प्रहरीलाई भविष्यमा सक्षम, सुदृढ, जनमैत्री र प्रविधिमैत्री बनाउन बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले ७२ वटा प्रहरी इकाइ भवन निर्माण सुरु गरेको जानकारी दिए ।

जसमध्ये ६२ वटा निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको र १० वटा निर्माणाधीन रहेको उनले बताए । उनले प्रहरी इकाई भवन निर्माणमा प्रदेश सरकारले ३ अर्ब ४७ करोड २२ लाख लगानी गरेको पनि जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved