चोरीको आरोपमा आमाछोरालाई कुटपिट गर्ने ८ जनाविरुद्ध मुद्दा

चोरीको आरोपमा आमाछोरालाई कुटपिट गर्ने ८ जनाविरुद्ध मुद्दा

जनकपुरधाम। मोटरसाइकल चोरीको आरोप लगाउँदै आमाछोरालाई कुटपिट गर्ने ८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

धामीले भनेको आधारमा चोरीको आरोप लगाउँदै दलित परिवारका आमाछोरा अनिता देवी र सुशील मल्लिकलाई कुटपिट गर्ने ८ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको हाे।

सोमबार पीडितले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पीडक सीताशरण दास, मनोजकुमार दास, राजसरोज दास, अमितकुमार दास र  राजनारायण साहसहित ८ जनाविरुद्ध उजुरी दिएका थिए।

एसपी कृष्णप्रसाद पंगेनीले मुद्दाको प्रक्रिया अघि बढिसकेको र आरोपीहरूलाई पक्राउ गर्न निर्देशन समेत दिइएको बताए । पीडकविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० को दफा १६८ बमोजिम अपमानजनक अमानवीय व्यवहारको मुद्दा दर्ता भएको उनले जानकारी दिए।

के थियो घटना ?

गत साता औरही नगरपालिका–६ बैरीया टोलका सीता शरण दास (तत्मा) को मोटरसाइकल घरबाटै चोरी भयाे।चाेरी भएलगत्तै उनले प्रहरीमा निवेदन दिए। सोही अनुरूप प्रहरीले उनको मोटरसाइकल खोज्दै थियो।

२४ असारमा अचानक उनी एक हुल मानिस लिएर सोही ठाउँका राजेन्द्र मल्लिक (डोम) को घरमा पुगे। घरमा कोही थिएनन्।

घरभन्दा करिब ५० मिटर अगाडि एक सार्वजनिक दलानमा बाँसको काम गर्दै गरेकी राजेन्द्रकी पत्नी ४० वर्षीया अनिता देवी, साइँली बुहारी २० वर्षीया निर्मला देवी र कान्छो छोरा १७ वर्षीय सुशील मल्लिकलाई भेटेपछि उक्त हुलले उनीहरूलाई कुटपिट गर्नुको साथै घिसार्दै र मोटो डोरीले हात बाँधेर सिताशरणको घरमा ल्याएर बन्धक बनाएर राख्यो ।

प्रत्यक्षदर्शीका अनुसार उनीहरुले चोरीको आरोप लगाउँदै उनीहरुमाथि कुटपिट गरेका थिए। गुहार माग्दा समेत कसैले सहयाेग नगरेको पीडित अनिताले बताइन्। घटनाबारे जानकारी पाएपछि प्रहरीले उनीहरुको उद्धार गरेको थियो।

छोरासँगै बन्धकमा परेकी आमा अनिताले भनिन्,‘‘सिताशरणले मेरो मोटरसाइकल फिर्ता गर भन्दै कुटपिट गरे। बाँधेर जबरजस्ती चोरी स्वीकार गर्न दबाब दिए। हामी माथि ठूलो अन्याय भयो।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved