झापामा ‘भारतीय हात्ती’को उपद्रो

नेपालभ्युज

झापामा ‘भारतीय हात्ती’को उपद्रो
फाइल तस्वीर

झापा। भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको दुईतिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ।

हात्ती नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासले दिगो समाधान भने दिनसकेको छैन। चार दशकअघि जङ्गल मासेर मानव बस्ती विस्तार हुँदा झापाको उत्तरी गाउँ बाहुनडाँगीमा जङ्गली हात्तीको उपद्रो शुरु भएको थियो। त्यसयता विस्तारित मानव–हात्ती द्वन्द्व दक्षिणको कचनकबल र पश्चिमको दमकसम्म फैलिइसकेको छ। मानवीय र धनमाल क्षतिको ग्राफ पनि उकालिँदै गएको छ।

वन डिभिजन कार्यालयका अनुसार अहिले जिल्लाको गौरादहबाहेक १४ पालिकामा मानव–हात्ती द्वन्द्वको समस्या छ। मेचीनगर, हल्दिबारी, भद्रपुर, कनकाई, अर्जुनधारा, बुद्धशान्ति र कचनकबलमा पनि यो समस्या विकराल बनिसकेको छ। विगत १० वर्षमै हात्तीको आक्रमणबाट झापामा ४० जनाको मृत्यु भइसकेको छ भने अन्नबाली र धनमालको क्षति करोडबाट अरबको अङ्कतिर बढ्दैछ। पछिल्लो दशकमा एक दर्जन हात्ती पनि मारिएका छन्।

भारतको आसामसम्म विचरण गर्ने जङ्गली हात्ती पश्चिम बङ्गालको सुकुना जङ्गलबाट मेची नदी तरेर नेपालको बाहुनडाँगी पस्ने गरेका छन्। यसरी नेपाल पस्ने हात्तीको सङ्ख्या १०० को बथानसम्म हुने गरेको छ। नेपालतिर अन्नबाली पाक्ने बेलामा लस्कर लागेर आउने हात्ती केही महिनापछि भारततिरै फर्किने गरेका छन्। स्थानीयवासी यी हात्तीलाई ‘भारतीय’ भन्ने गर्छन्।सात वर्षपछि बल्झियो समस्या हात्तीले भयावह क्षति पुर्‍याउन थालेपछि सबैभन्दा प्रभावकारी नियन्त्रण प्रयासस्वरुप विसं २०७२ मा बाहुनडाँगीस्थित हात्ती छिर्ने मेची नदीको १८ किलोमिटर तटमा विद्युतीय तारबार निर्माण भयो।

विसं २०७३ मा उद्घाटन भएयता छ वर्षसम्म भारतबाट हात्तीको प्रवेश ठप्पजस्तै भयो। त्यस अवधिमा झापामा रैथाने १३ वटा हात्तीले मात्र समस्या सिर्जना गरिरहे। भारतबाट सयौँको ताँती आउने क्रम रोकिएको थियो तर विगत वर्षदेखि विद्युतीय तारबार नाघेर भारतीय हात्तीको बथान नेपाल छिर्न थालेको छ। अझ पाँच महिनायता त सयौँको ताँती नै बाहुनडाँगीमा पसेको पुष्टि भएको छ। सात वर्षपछि भारतबाट हात्तीको हुल प्रवेश गरेपछि जिल्लावासीमा मानव–हात्ती द्वन्द्वको पुरानै हिंसात्मक घाउ बल्झिने त्रास फैलिएको बाहुनडाँगी गाविसका तत्कालीन अध्यक्ष नीलकण्ठ तिवारी बताउँछन्।

“स्थानीय वनभित्र आश्रित रैथाने केही हात्तीले नै जिल्लामा ठूलो धनजनको क्षति पुर्‍याइरहेको अवस्था छ”, उनी भन्छन्, “भारतबाट सयदेखि डेढ सयको सङ्ख्यामा आउने हात्तीलाई रोक्न सकिएन भने समस्या पहिलेकै जस्तो भयावह हुनेछ। दीर्घकालीन समस्या समाधानको उपाय भनेको तारबार मात्र हो।”

इलामको रोङ गाउँपालिकाको तिरिङबाट झापाको मेचीनगरको नकलबन्दासम्म मेची नदीको किनारै किनार १८ किलोमिटर लामो विद्युतीय तारबार प्रकृति संरक्षण कोषमार्फत आएको रु एक करोड २० लाख बजेटबाट निर्माण भएको हो। जसमा २५ वटा गौडामा प्रवेशद्वार निर्माण गरिएका छन् भने रेखदेखका लागि मानव–हात्ती द्वन्द्व व्यवस्थापन समितिमार्फत १२ जना कर्मचारी खटिने गरेको समितिका अध्यक्ष हरिप्रसाद उप्रेती बताउँछन्।

बाह्र प्राविधिकमध्ये १० जनालाई रु पाँच हजारका दरले र दुई जनालाई रु १० हजारका दरले मासिक पारिश्रमिक दिएर काममा लगाइरहेको उनले बताए। अत्यन्त न्यून पारिश्रमिकमा काम गरिरहेका कर्मचारीको तलब र मर्मतका लागि चालु आर्थिक वर्षमा मेचीनगर नगरपालिकाले रु १० लाख दिएको अध्यक्ष उप्रेतीको भनाइ छ।पछिल्लो समय बाहुनडाँगीमा हात्ती आतङ्कले भयाभव अवस्था सिर्जना गरेका कारण नियन्त्रणका लागि समितिलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारको समेत सहयोग रहँदै आएको उनले बताए।

सीमा नजिकै निर्माण गरिएको तारको घेराबेरामा विद्युत् प्रवाह गरिएका कारण हात्तीलाई सीमामै छेक्न सजिलो भएको थियो तर घेराबेरा पुरानो हुँदै गएको, त्यसमा विद्युत् प्रवाह गर्ने ब्याट्री हराएको, घेराबेरा भत्किएको आदि कारणबाट हाल सजिलैसँग हात्ती भारततिरबाट नेपाल प्रवेश गर्न थालेको स्थानीयवासीको गुनासो छ।“विद्युतीय घेराबेरा पनि बेलाबेलामा मर्मतसम्भार हुनुपर्छ, ब्याट्री फेर्नुपर्छ”, एक स्थानीय भन्छन्, “तर सरोकारवाला यसतर्फ गम्भीर भएको पाइएको छैन।” राजनीतिक दलहरुले समिति गठनमा सक्रियता देखाउने र काममा चाहिँ बेवास्ता दर्शाउने गरेको उनीहरुको आरोप छ।

बाहुनडाँगीको २५ वटा गौडाको प्रवेशद्वारमध्ये आधा जति जीर्ण भइसकेको छ। रातभर विद्युत् प्रवाह गरिने सो घेराबेरा छिचोलेर मेची नदी ओहोरदोहोर गर्नेहरूले प्रवेशद्वार खोल्ने र बन्द गर्ने गर्दै आएका छन्। जसका कारण तार टुटफुट भएर विद्युत्को प्रवाहमै असर परेको छ। जनावरमध्ये बुद्धिमानी मानिने हात्तीले पनि लामो अवधिमा विद्युतीय घेराबेरा नाघेर जाने तरिका सिकिसकेको छ। ढुङ्गा, गिट्टी र अन्य वस्तुको तस्करी गर्नेले भत्काएको प्रवेशद्वारबाटै हात्तीहरू नेपाल पस्ने गरेका छन् भने कतिपय बयस्क हात्तीले रुखका हाँगा र पैतालाले किचेर सुरक्षित तरिकाले तारबार नाघेर जाने गरेको स्थानीयवासी बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved