पैसा माग्दा नदिएपछि गीतालाई मरणाशन्न हुनेगरी कुटेका थिए श्रीमान‍्ले

पैसा माग्दा नदिएपछि गीतालाई मरणाशन्न हुनेगरी कुटेका थिए श्रीमान‍्ले

काठमाडौं। श्रीमानको कुटाइबाट घाइते भएकी गीता माझीको मृत्यु भएको छ। चितवनको खैरहनी नगरपालिका १० को मुसहर बस्तीमा बस्ने माझीलाई १२ जेठमा उनका श्रीमानले कुटपिट गरी घाइते बनाएपछि बेहोस बनेकी उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो।

चितवनका जिल्ला प्रहरी प्रवक्ता नरहरी अधिकारीका अनुसार खैरहनी नगरपालिका १० को मुसहर बस्तीमा श्रीमानले श्रीमतीलाई कुटपिट गरी यौनांगमा पनि ठेस पुर्‍याएको भन्ने सूचना आएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो।

प्रहरीको टोली मुसहर बस्तीमा पुग्दा माझी बेहोस अवस्था भेटिएकी थिइन्। उनलाई उपचारका लागि पठाइएको र उनका श्रीमानलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता अधिकारीले बताए।

उनी भन्छन्, “श्रीमतीको पक्षबाट जाहेरी दिने कोही नभएपछि प्रहरी प्रधानले नै ज्यान मार्ने गैरव्यवस्थितकरणी भनरे मुद्दा चलाएको छ। मुद्दा चलिरहेको अवस्थामा, महिलाको उपचार पनि भइरहेको थियो हिजो अप्रेशन पनि भयो तर उपचारकै क्रममा हिजो राति मृत्यु भएको हो।”

अहिले पनि श्रीमान प्रहरीको हिरासतमा नै रहेको र थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए। खैरहनी नगरपालिकाकी स्थानीय शोभा पाठक भन्छिन्, “मुसहर बस्तीमा बस्ने गीता र उनका श्रीमानबीच प्रायः झगडा भइरहन्थ्यो, १२ गते राति पनि दुवै जना रक्सी खाएर होहल्ला गरेछन्। झगडा हुँदाहुँदै गीता बेस्सरी रोएको आवाज आएपछि बस्तीका मानिस पुग्दा गीता अर्धचेत अवस्थामा देखेछन्।”

श्रीमानको कुटाइबाट बेहोस भएकी गीतालाई भेट्न अस्पताल गएकी शोभा भन्छिन्, “घटना भएको दिन श्रीमानले पैसा मागेछ, नदिएपछि गालामा हान्यो र यौनांगमा हात पसाएछ र पछि मलद्वारमा लौरो घुसाएपछि आफूलाई केही थाहा नै नभएको घटना गीताले सुनाएकी थिइन्।”

माछा मारेर आफ्नो दैनिकी चलाउनले मुसहर बस्तीमा छाक टार्न पनि निकै गाह्रो हुने शोभा बताउँछिन्।

त्यस्तै, खैरहनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र विक्रम चौधरीका अनुसार घटना भएको थाहा पाएपछि गीतालाई उद्धार गरेर अस्पताल पठाइएको थियो।

“अस्पतालले अप्रेसन गर्नुपर्छ भन्यो, “उनले भने, “पीडितको परिवार विपन्न परिवारको भएकाले उपचारका लागि पैसा नभए पनि मैले नै पीडित महिलाको उपचार रोकिनुभएन सबै उपचार खर्च म बेहोर्छु, जहाँ सही गर्नुपर्छ, म गर्छु भनेपछि अस्पतालले उपचार शुरु गर्‍यो।”

पीडित महिलाको मलद्वारबाट लौरो घुसाउँदा मलद्वार र यौनांगबीचको भाग च्यातिएको अस्पतालले जनाएको छ। त्यति मात्र होइन योनी र दिसाघरमा निकै ठूलो चोटसमेत लागेको अस्पतालका सर्जन डा. दिपेन्द्र न्यौपानेले बताए। ठूलो चोट भएका कारण तीन दिन औषधि चलाएरपछि मात्र शल्यक्रिया गरिएको उनको भनाइ छ।

उनका अनुसार सोमबार उनको शल्यक्रिया गरिएको थियो। तर राति ११ बजे तिर एक्कासि मुटुको धड्कन बन्द भएर महिलाको मृत्यु भएको उनको भनाइ छ।

यसरी उपचारका क्रममा पीडितको निधन भएपछि पीडितकी छोरीलाई जाहेरी दिन लगाएको वडाध्यक्ष चौधरीले बताए। सवा १२ बजेदेखि प्रहरी कार्यालयमा यही विषयमै छलफल भइरहेको उनले जानकारी दिए।

“पीडितलाई जसरी भए पनि न्याय दिने छौं,” उनले भने।

पीडित पक्षबाट जाहेरी दिन कोही पनि नभएको खण्डमा प्रहरीले अनुसन्धान गरेर उपलब्ध विश्वसनीय प्रमाण संकलन गरी दोषीलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया बढाउन सकिने वरीष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए।

त्रिपाठी भन्छन्, “प्रहरीले दोषीलाई भाग्न दिन भएन। प्रमाणहरूका आधारमा प्रहरीले अदालतमा दोषीलाई पेश गर्न सक्छ र सरकारी वकीलले उक्त मुद्दा हेर्नुपर्ने हुन्छ जिल्ला अदालतमा पेश भएको प्रमाणपत्रहरुको आधारमा न्यायाधीशले फैसला गर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved