को हुन् काठमाडौं महानगरका ‘नवनिर्वाचित’ मेयर बालेन शाह ?

बालेन शाहको वास्तविक नाम बालेन्द्र शाह भए पनि उनी बालेन शाहको नामले परिचित छन्। १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा जन्मिएका उनी हाल गैरिगाउँ, तिनकुनेका स्थायी बासिन्दा हुन्।

नेपालभ्युज

को हुन् काठमाडौं महानगरका ‘नवनिर्वाचित’ मेयर बालेन शाह ?

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्।

स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौं महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन्। ३२ वर्षे शाहले उमेरले आफ्नो बाबु–आमा भन्न सुहाउने प्रतिस्पर्धीलाई पछि पार्दै मेयर पदमा निर्वाचित भएका हुन्।

काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट प्रतिस्पर्धा गरेको केशव स्थापित उमेरले ६३ वर्ष पुगेका छन् भने नेपाली कांग्रेसबाट महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेकी सिर्जना सिंह ५९ वर्षकी हुन्। स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयर पदमा विजयी हुँदै शाहले इतिहास रचेका हुन्।

निर्वाचनको दिनसम्म पनि शाहलाई मेयर पदको तेस्रो प्रतिस्पर्धीका रुपमा व्याख्या गरिए पनि निर्वाचन परिणामलाई आफ्नो पक्षमा ल्याएर शाहले इतिहास रचेका हुन्। यस्तै काठमाडौं महानगरपालिकाको मेयर पदका लागि नेवार समुदायकै मानिसलाई मात्रै अघि सार्नुपर्छ भन्ने मान्यतालाई पनि शाहको विजयीले गलत सावित गरेको छ।

काठमाडौं महानगरपालिकाको १९६४९ मत गणना बाँकी रहँदा शाहले २०१९६ को अग्रता लिएसँगै उनको जित निश्चित भएको हो। काठमाडौं महानगरपालिकामा कुल १ लाख ९१ हजार १८६ मतदान भएको थियो। जसमा शाहले करीब ४० प्रतिशत मत प्राप्त गरेका छन्।

को हुन् बालेन शाह ?
बालेन शाहको वास्तविक नाम बालेन्द्र शाह भए पनि उनी बालेन शाहको नामले परिचित छन्। १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा जन्मिएका उनी हाल गैरिगाउँ, तिनकुनेका स्थायी बासिन्दा हुन्।

आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र धुव्रा देवी शाहका सन्तानका रुपमा जन्मिएका उनीको पुर्खाली थालो भने मधेश प्रदेशमा रहेको महोत्तरी जिल्ला हो।

शाहको प्रारम्भिक अध्धयन काठमाडौं नरदेवीमा रहेको जल्जला स्कूलबाट भएको हो भने स्कूलपछिको उच्च माध्यमिक तहको अध्ययन काठमाडौं तीनकुनेमा अवस्थित भिएस निकेतनबाट गरेका हुन्। उनको स्नातक तहको अध्ययन काठमाडौंमै रहेको हाइट हाउस कलेजबाट भएको थियो। त्यहाँ उनले सिभिल इन्जिनियरिङको अध्ययन गरेका थिए।

अध्ययनको क्रममा स्नाकोत्तरका लागि उनी भारत पुगेका थिए। भारत, कर्नाटकबाट उनले स्टकचरल इन्जिनिरिरिङको अध्ययन पूरा गरेका शाह विभिन्न निर्माणसम्बन्धी कार्यमा संलग्न रहँदै आएका छन्।

२०७२ मा नेपालमा गएको महाभूकम्प पश्चात देशको विभिन्न स्थानमा पुगी उनी पुनःनिर्माणको काममा संलग्न रहेका उनको दाबी छ। भूकम्प र कोभिड महामारिका बेला काम गरे पनि नेतृत्वमा नै बसेर काम नगरिकन आफ्नो योजना प्रभावकारी नहुने देखेर काठमाडौंको मेयर पदमा उम्मेदवारी दिएको। आफ्नै नाममा रहेको बालेन कन्सल्टिङ र कन्स्टक्सन प्रालिका उनी सञ्चालक हुन्।

शाह र्‍याप ब्याटल गायक पनि हुन्। नेपाली र्‍याप ब्याटल दोस्रो लिगका विजेता हुन् भने उनी विगत लामो समयदेखि संगीतको यो विधामा संलग्न रहँदै आएका छन्।

कुनै पनि नगरपालिकाको मेयर भनेको त्यहाँको ‘सीईओ’ हो भन्ने शाह व्यवस्थापकीय कम्जोरीका कारण मेयरहरुले राम्रोसँग काम गर्न नसकेको दाबी गर्छन्। २०७४ को स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने विचार गरे पनि विवेकशील र साझा पार्टीका स्वतन्त्र उम्मेदवारले आशा जगाएका कारण आफू पछि हटेको उनले दाबी गर्दै आएका छन्।

काठमाडौंलाई स्विजरल्यान्ड र सिंगापुर बनाउनु पर्दैन काठमाडौं नै बनाए पुग्छ भन्ने शाह भक्तपुर नगरपालिकाबाट अत्यन्तै प्रभावित देखिन्छन्। भक्तपुर नगरपालिकामा सुनिल प्रजापति मेयर पदमा विजयी भएपछि उनलाई बधाई दिन समेत शाह भक्तपुर पुगेका थिए। सार्वजनिक सञ्चार माध्यममा आएका अन्तर्वार्ताहरुमा पनि शाहले भक्तपुर नगरपालिकाको मुक्त कण्डले प्रशंसा गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved