जनकपुरधाममा कांग्रेसलाई ‘बागी’ले चिन्ता

कांग्रेसले स्पष्टसँग कारबाही गरेको सन्देश दिनुको साटो फकाउने रणनीति अपनाउँदा स्वतन्त्र उम्मेदवारहरूको मनोबल बढिरहेको छ ।

जनकपुरधाममा कांग्रेसलाई ‘बागी’ले चिन्ता

जनकपुरधाम। मधेश प्रदेशको राजधानी शहर जनकपुरधाममा बागी उम्मेदवार कांग्रेसलाई चुनौती बनेकाे छ।

मधेश प्रदेशमा यतिबेला कांग्रेस र गठबन्धनको ध्यान राजधानी जनकपुरधाम उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार मनोज साहतर्फ केन्द्रित छ। बागी उम्मेदवारलाई कारबाही गरेको स्पष्ट सन्देश पनि कांग्रेसले दिन सकेको अवस्था छैन ।

जनकपुरमा पाँचदलीय गठबन्धनबाट मेयरमा जसपाका लालकिशोर साह र कांग्रेसबाट उपमेयरमा किशोरी साह उम्मेदवार छन्। कांग्रेसका नगर सभापति मनोज साहले भने पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन्। कांग्रेसको बहुसंख्यक मत उनैलाई पर्ने चर्चा छ। मनोजको उम्मेदवारीले गठबन्धनका उम्मेदवार लालकिशोरलाई जित्न चुनौती थपिएको छ।

कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गृहनगरमा मनोजको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । शनिवार पाँच दलीय गठबन्धनले जनकपुरधाममा आयोजना गरेको चुनावी सभामा अपेक्षा भन्दा कम सहभागी भएपछि यहाँका चोक र चिया पसलहरूमा समेत स्वतन्त्र उम्मेदवारको जित्ने सम्भावनाबारे अत्यधिक चर्चा चलेकाे छ।

चुनावी सभालाई सम्बोधन गर्ने क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि जनकपुरमा बागीले जितेको इतिहास रहेको चर्चा गर्दै चिन्ता व्यक्त गरेका थिए। नेता पौडेल भन्छन्, ‘‘जनकपुरमा बेलाबेला बागीले जितेको इतिहास छ। यो पटक जनकपुरको रेकर्ड तोड्नुपर्छ।’’

२०४९ र २०५४ को निर्वाचनमा जनकपुरधाम उपमहानगरमा कांग्रेसका विद्रोही उम्मेदवारहरूले नै जितेको इतिहास छ। यसपटक पनि इतिहास दोहोरिने प्रबल सम्भवाना रहेको चौतर्फी चर्चा चलेको छ।

जनकपुरधाम उपमहानगरपालिकाका लागि सत्तारूढ गठबन्धनका (कांग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादी) तर्फबाट जनता समाजवादी पार्टीले लालकिशोर साहलाई मेयरको उम्मेदवार बनाए पनि वडा तहमा भने उनीहरूले गठबन्धन गरेका छैनन्।

जनकपुरधाम उपमहानगरमा कांग्रेसले मेयरको उम्मेदवारी पाउँदा शतप्रतिशत जित निकाल्न सक्ने विश्लेषण सहित चुनावी तयारीमा रहेको भए पनि गठबन्धनमा जसपालाई मेयरको टिकट दिने सहमति भएपछि कार्यकर्ता बिच्किएका छन्। स्वतन्त्र उम्मेदवार साहलाई साथ दिएजस्तो गरी जनकपुरको कांग्रेस नगर कमिटी पनि खुलेर गठबन्धनको उम्मेदवारका पक्षमा लागेकाे छैन।

मनोजलाई कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूको पनि समर्थन देखिन्छ । निर्वाचन चिन्हसम्बन्धी विवादमा मनोजले निर्वाचन अधिकृतको कार्यालयमा धर्ना र विरोध प्रदर्शन गर्दा वडाध्यक्षका उम्मेदवार पनि सँगै थिए । कांग्रेसका वडास्तरीय प्रचार सामग्रीमा गठबन्धनका मेयर उम्मेदवारलाई भोट मागेको देखिँदैन ।

केन्द्रीय नेताहरूले गठबन्धनलाई सघाउन उनीहरूलाई व्यक्तिगत रूपमा टेलिफोन गरेर निर्देशन दिइरहेका छन्। मनोज साह आफू कांग्रेसकै मतमा मेयर जित्ने दाबीसहित चुनावी प्रचारमा छन्। साहले जनकपुरमा कांग्रेस जोगाउनका लागि आफूले मेयर पदमा उम्मेदवारी दिएको उनी बताउँछन्। ‘रुखबाहेक अन्त भोट हाल्नु कांग्रेसको नीतिविपरीत हो। हामीले अन्यत्र भोट हाल्यौँ भने जनकपुरको कांग्रेस जोगाउन शेरबहादुर आउने त होइनन्। त्यसैले कांग्रेस जोगाउनका लागि मैले उम्मेदवारी दर्ता गरेको हुँ। सबै कांग्रेसी मतदाता मेरो पक्षमा छन्’’, साहले भने।

जनकपुरमा कांग्रेस गठबन्धनमा नरहेको दाबी गर्ने उनी आफ्नो जित हुनेमा विश्वस्त देखिन्छन्। उनी भन्छन्, ‘‘मैले यसअघि पनि नगरपालिकामा प्रस्ट रुपमा देखिने गरी प्रतिपक्षको भूमिका निर्वाह गरेको छु। यसपटक जनताले चुनावबाट त्यसलाई अनुमोदन गरिदिन्छन्।’’

यसपटक व्यापारी, ठेकेदार र व्यवसायी चुनावमा आएको बताउँदै उनले अब जनकपुरका जनता जागरुक भइसकेको हुँदा उनीहरूलाई जनताले मत नदिने अवस्था नरहेको बताए। उनले भने, ‘‘मधेशी दलसँगको सम्बन्धबाट जनता धेरै पर पुगिसके। कम्युनिस्टलाई जनकपुरले रुचाउँदैन। मतदाताले अहिले पार्टीभन्दा पनि नगरको नेतृत्व गर्न सक्ने सक्षम अनुहार खोजिरहेका छन्।’’

साहलाई निर्वाचन आयोगले घण्टाघर चुनाव चिन्ह दिएको छ। यसपटकको निर्वाचनमा जनकपुरको नेतृत्व गर्न सक्ने नयाँ अनुहारको खोजीमा रहेको स्थानीय मतदाता बताउँछन्। जनकपुरधामका स्थानीय नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य शैलेन्द्र झा भन्छन्, ‘‘दलबाट आजित भएका मतदाताको मत स्वतन्त्र उम्मेदवारलाई जान सक्छ। कांग्रेसलाई भोट हाल्दै आएका अधिकांश मतदात अरु पार्टीको चुनाव चिन्हमा भोट हाल्नुभन्दा आफ्नै पार्टीका बागी उम्मेदवारलाई नै मत दिने मनस्थितीमा छन्। बागी उम्मेदवार साहसँग भावनात्मक सम्बन्ध छ। कतिपय मतलाई उम्मेदवारको पैसाले प्रभावित पार्न सक्छ।’’

एडभोकेसी फोरमका मधेश प्रदेश संयोजक राजकुमार महासेठले जनताले खोजेको जस्तो उम्मेदवार दलहरूले दिन नसकेका कारण स्वतन्त्र उम्मेदवारको संख्या बढेको बताए। उनले भने, ‘‘यसपटक जनताको मनस्थिति पार्टी नहेरेर काम गर्न सक्ने सक्षम व्यक्ति रोज्ने भन्ने देखिएको छ। स्वतन्त्र उम्मेदवारलाई जिताएर पठाइयो भने भविष्यमा पार्टीहरूलाई पनि सुध्रिन दबाब हुन्छ।’’

कांग्रेसको विधानको धारा ४ (१३) (ग) मा कुनै पनि निर्वाचनमा पार्टीले प्रस्तुत गरेको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवार भए वा त्यस्ता विद्रोही उम्मेदवारको प्रस्तावकरसमर्थक भए सदस्यता स्वतः नरहने उल्लेख छ । कांग्रेसले उम्मेदवारी फिर्ता लिने अन्तिम दिन वैशाख १६ मा प्रेस विज्ञप्तिमार्फत उक्त वैधानिक व्यवस्था स्मरण गराएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved