स्थानीय निर्वाचन

जनकपुरको रोजाइ : दलका उम्मेदवार कि स्वतन्त्र ?

२०४९ र २०५४ मा स्वतन्त्र उम्मेदवारले जनकपुरको नेतृत्व आफ्नो हातमा लिएकोमा २०७४ को निर्वाचनमा पनि अपवादमा राजपाबाहकेकका दल सफल भएनन्, नेतृत्वमा स्वतन्त्र उम्मेदवारकै पल्लाभारी भयो।

जनकपुरको रोजाइ : दलका उम्मेदवार कि स्वतन्त्र ?

जनकपुरधाम। जनकपुर उपमहानगरपालिकामा  निर्वाचनको सरगर्मी शुरु भएको छ।  पहिलेको निर्वाचनको समीक्षा गर्दै दलहरू स्थानीय तहको नेतृत्व  लिने होडमा छन्।

जनकपुरमा २०१७ सालदेखि २०७४ सालसम्म कुनै पनि दलले नेतृत्व गरेको इतिहास छैन। २० वर्षपछि ०७४ सालको निर्वाचनमा स्वतन्त्रले जितेको ‘ट्रेण्ड’ भत्कियो। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का लालकिशोर साह नगर मेयरमा निर्वाचित भए। साह दलको उम्मेदवारबाट विजयी हुने जनकपुरका पहिलो जनप्रतिनिधिका रूपमा देखा परे। तर अन्य पदमा भने स्वतन्त्र उम्मेदवार नै दलभन्दा बढी सफल भए।

तत्कालीन पञ्‍चायत सरकारले नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम ०१७ जेठ १३ मा जनकपुर नगरपालिका गठन गरेको थियो। त्यसबेला श्यामसुन्दर शर्मालाई पञ्‍च सरकारले ‘अध्यक्ष’ को टीको लगाएको थियो। त्यसपछि तत्कालीन राजा महेन्द्रले ०१७ साल कै पुस २२ गते नेपालमा पञ्‍चायती व्यवस्था लागू गरेपछि जनकपुर नगरपालिकाको नाम ‘जनकपुर नगर पञ्‍चायत’ राखेका थिए।

त्यसबेलादेखि ०७४ मा बाहेक कुनै दलले नेतृत्व गरेका स्थिति छैन।

२०४६ मा प्रजातन्त्रको पुर्नस्थापनापश्चात् २०४७ जेठ २८ मा नगरपालिका ऐनअनुसार नगरपालिका बनेको जनकपुरमा २०४९ मा सम्पन्न स्थानीय निर्वाचनमा मेयरका लागि नेपाली कांग्रेसबाट दुईजना आकांक्षी थिए। दीगम्बर राय र वृषेशचन्द्र लाल। दीगम्बरलाई टिकट दिएको पार्टीको निर्णयबाट असन्तुष्ट वृशेषचन्द्रले स्वतन्त्र रूपमा उम्मेदवारी दिए। साथै लालकिशोर साहले पनि उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिए।

निर्वाचनमा दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार भारी सावित भए र स्वतन्त्रबाट उम्मेदवारी दिएका वृषेशचन्द्र मेयरमा तथा लालकिशोर उपमेयरमा निर्वाचित भए।

त्यसको पाँच वर्षपछि २०५४ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट दामोदरप्रसाद उपाध्यायले मेयरको टिकट पाए। उपाध्याय पञ्चायतकालमा दुईपटक पञ्च बनिसकेका प्रभावशाली नेता थिए। तर नतिजा फेरि उल्टियो, नेतृत्व कांग्रेसबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका बजरंगप्रसाद साहको हातमा आयो।

त्यसपछि दुई दशक स्थानीय तहको निर्वाचन हुन सकेन।

०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाले निकालेको जितलाई अपवाद मान्ने हो भने दलको उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारलाई जनकपुर फापेको देखिन्छ।

निर्वाचन नजिकिँदै जाँदा ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जित्दै आएको इतिहास दोहोर्‍‍याउने प्रयासमा जनकपुर अघि बढेको देखिन्छ।

जनकपुरको इतिहास हेर्दा बागी वा स्वतन्त्र उम्मेदवारहरू जहिले पनि दलगत उम्मेदवारका सामु भारी सावित भएका छन्। जनकपुरमा अहिले स्वतन्त्र उम्मेदवारी दिएकाहरूमा उत्साह पनि छ।

जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि मेयर पदमा २१ र उपमेयर पदमा १० जनाले उम्मेदवारी दिएका छन्। जसमा राजनीतिक दलको तर्फबाट मेयर पदमा १० जनाको उम्मेदवारी परेको छ भने ११ स्वतन्त्र उम्मेदवार रहेका छन्। यसैगरी उपमेयरमा पनि ६ राजनीतिक दलका उम्मेदवार रहेकोमा ४ स्वतन्त्र उम्मेदवार छन्।

उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदका लागि लालकिशोर साह र उपमेयरमा किशोरी साहले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मेयरमा मनोजकुमार चौधरी र उपमेयरमा रीता कुमारी मिश्रले उम्मेदवारी दिएका छन्। नेकपा एमालेको तर्फबाट मेयरमा शिवशंकर साह (हीरा) र उपमेयरमा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेकी रुना झाले उम्मेदवारी दर्ता गराएकी छिन्।

करीब एक साताअघि नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमालेबाट बागी उम्मेदवार बनेर उपमेयरमा सरोज कुमार मिश्रले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी नेपाल जनता पार्टी (जसपा) नेपालबाट मेयरमा मुरली मनोहर मिश्र र उपमेयरमा बन्दना पाण्डेय उम्मेदवारी दिएकी छन्। जनमत पार्टीबाट मेयरमा अनितादेवी साह र उपमेयरमा सन्तोषकुमार साहले उम्मेदवारी दर्ता गराएका छन्।

लोसपाबाट विद्रोह गरी तराई मधेश लोकतान्त्रिक पार्टी प्रवेश गरेकी विभा ठाकुरले पनि मेयरमा उम्मेदवारी दिएकी छन्। ठाकुरको साथमा लोकतान्त्रिक पार्टीको उपमेयरको उम्मेदवार बनेका छन् ईश्वर पण्डित।

जनकपुरधामको मेयर पदमै नेकपा मालेबाट गीताकुमारी मण्डलले पनि उम्मेदवारी दिएकी छन्।

यता मेयरमा स्वतन्त्र रूपमा कांग्रेसबाट राजीनामा दिएका मनोजकुमार साह, निर्माण व्यवसायी बलराम महतो, संचार उद्यमी वैद्यनाथ साह, श्यामकिशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पँजियार र सुधीर कुमार महतोले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी नेकपा एमालेले मेयर पदको टिकट नदिएपछि बागी बनेका उमेश चौधरी र कुमारी बनिता यादवले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट टिकट नपाएका निर्मल कुमार चौधरीले पनि उपमेयरमा बागी उम्मेदवारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved