कोरोना निमिट्यान्न भएको छैन, स्वास्थ्य मापदण्ड पालना गर्न नछोडौँ : डा. शेरबहादुर पुन (अन्तर्वार्ता)

कोरोना निमिट्यान्न भएको छैन, स्वास्थ्य मापदण्ड पालना गर्न नछोडौँ : डा. शेरबहादुर पुन (अन्तर्वार्ता)

दुईवर्ष लामो कोरोना महामारीको चपेटाबाट मानिसहरू बाहिर निस्कदैँ छन्। बजारहरू सुचारु भएका छन्। शहरमा भागदौड र भिडभाड बढेको छ। कोरोना सङ्क्रमणबाट बच्न अपनाइने सामाजिक दुरी, मास्क, सेनिटाइजर आदि आधारभूत सचेततामा कमी आउन थालेको छ। यद्यपि चिकित्सकहरू कोरोनाको पूर्ण रोकथाम नभइसकेकाले सचेत रहन सुझाव दिन्छन्।
सङ्क्रमणको शुरुवाती दिनदेखि नै फ्रन्टलाइनरका रुपमा कार्यरत डा. शेरबहादुर पुन कोरोना निमिट्यान्न नभइसकेकाले सावधानी अपनाउनुपर्ने बताउँछन्। नेपालभ्यूजकर्मी समृद्धा केसीले डा. पुनसँग कोरोना सङ्क्रमणको अवस्था र अपनाउनु पर्ने सावधानीबारे गरिएको कुराकानीको सम्पादित अंश:

के हामी अब कोभिड महामारीबाट मुक्त भएका हौँ? शहरको भिडभाड र सुरक्षाको मापदण्डको बेवास्ता देख्दा मानिसहरु निस्फिक्री देखिन थालेका छन् नि?

मानिसहरूलाई लागेको छ, कोरोना अब हरायो। तर, यो शिथिल अवस्थामा छ। अहिले पनि हरेक दिन ४० जनाको हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ। यसको अर्थ हो, कोरोना निमिट्यान्न भएको छैन।

ध्यान दिनुपर्ने अर्को पाटो, परीक्षण तिनले मात्रै गरेका छन्, जो विदेश जानैपर्ने छ। परीक्षण गर्न आउने धेरैजसो विदेश जानेहरू नै आउँछन्।एउटा सत्य चाहिँ के हो भने, विगतको तुलनामा संक्रमण दर कम भएकाले शिथिल चाहिँ छ। तेस्रो लहर पछिको यो अवस्था सबैभन्दा कम हो। यद्यपि अझै निश्चिन्त भएर जनस्वास्थ्यका मापदण्डलाई बेवास्ता गर्नु उचित होइन।

खोप अभियान निरन्तर चलेको छ। नेपालको जनसङ्ख्याको ६५ प्रतिशतले खोप लगाएका छन्। अझै थुप्रैले खोप लगाउन पाएका छैनन्। खोप नलगाएको जमात जोखिममा हुन्छ। यसमा नागरिक स्तर सरकार दुवै गम्भीर हुनु पर्छ। छुटेकालाई खोप अभियानमा ल्याउनुपर्छ।

कोरोनाका कारण जुन भयावह अवस्था आएको थियो, अब त्यस्तो विपद् त सामना गर्नु नपर्ला नि?

दोस्रो लहरको जस्ता भयावह अवस्था आउने त म देख्दिन। यद्यपि हामीले खोप लगाउने, जनस्वास्थ्य मापदण्डहरू प्रयोग गर्ने, सावधानी अपनाएका कुराहरू छोड्ने गर्नु भएन।
स्वास्थ्यका मापदण्डहरूले फाइदा नै गरेको छ। उदाहरणका लागि मास्क लगाउँदा श्वासप्रश्वासका कतिपय रोगहरू यसले कम गर्छ। धुवाँधुलोले हामीलाई समस्या ल्याउँथ्यो, त्यसलाई केही न केही हदसम्म माक्सले कम गरेको छ। त्यस्तै गर्मी बढ्दै छ झाडापखाला, टाइफाइट, हेपाटाइटिसको समस्या आउनसक्छ, साबुन पानीले हात धोइराख्दा दुषितहात मुखसम्म पुग्न पाउँदैन र ती समस्याबाट बच्न सकिन्छ।

भारत र अन्य केही देशमा डेल्टाक्रोन भेरियन्ट देखिएको समाचार आइरहेका छन्। नेपालमा पनि यसको जोखिम होला नि, छिमेकमा देखिएपछि?

भारतमा डेल्टाक्रोनका केही केस देखिएको भनेर मैले पढेको छु। चीनका केही सहरमा पनि लकडाउन गरिएको छ। चीनले कोरोनामा शुन्य सहनशीलताको नीति लिएको छ। एउटै केस भेटेपनि त्यहाँ शहर पुरै लकडाउन गर्ने गरिन्छ। मलाई त्यो त्यति व्यावहारिक लाग्दैन तर हरेक देशको आ–आफ्नो नीति हुन्छ।

अहिले फैलिएको भनिएको भेरियन्ट विएटु अर्थात् ओमिक्रोनको सभ भेरियन्ट हो। जुन नेपालमा तेस्रो लहरमै आएर गइसक्यो। हाम्रोमा एसजीन नेगेटिभ ओमिक्रोन देखिएको थियो।

तर, यसबारे न मन्त्रालयले भन्यो न धेरैले याद गरे। मैले एउटा लेख लेखे, चुप्के ओमिक्रोन भनेर। त्यो एसजीन पोजेटिभ ओमिक्रोन नै थियो। अर्थात् केही फरक त्यसलाई झुक्काउने खालको ओमिक्रोन, जसलाई मैले नेपालीमा भन्दा चुप्के, सुस्त छलाउन सक्ने खालको भनेको थिए।

पीसीआरमा एसजीन नेगेटिभ भयो भने ओमिक्रोन हो भनेर छुटाइन्थ्यो तर यसमा त्यो पनि छुटाउन सकिएन। ओमिक्रोन त ओमिक्रोन नै हो तर एसजीन पोजेटिभ हो तर त्यो डेल्टा हो कि ओमिक्रोन हो भनेर छुटाउन सकिएन। यसलाई अङ्ग्रेजीमा अझै पनि आमिक्रोन नै भनिएको छ। यो सहजै पत्ता लगाउन नसकिने भएकाले मैले चुप्के ओमिक्रोन भनेको थिए।

भारतमा देखिँदा त्यसको स्वाभाविक प्रभाव हामीलाई पनि पर्छ। हामीलाई पर्न सक्ने जोखिमबारे केही भनिदिनोस् न?

भारतमा फाटफुट देखिरहेको डेल्टाक्रोन नेपालमा नदेखिने भन्ने होइन। तर के हामी डराउनु पर्ने अवस्था हो? मेरो विचारमा डेल्टाक्रोन भनेको डेल्टा र ओमिक्रोनको सम्मिश्रण हो। समाचारमा टाउको ओमिक्रोन र जीउ डेल्टा भन्ने गरिएको छ।

दोस्रो लहरको कारक डेल्टा र तेस्रो लहरको कारक ओमिक्रोन हो। यी दुवै भेरियन्टसँग हामी जुधिसकेकाले दोस्रो वा तेस्रो लहरको जस्तो खतरा म देख्दिन। किनभने, जुन जीन छ त्योसँग हामी एक पटक ठोक्किसकेको हुनु पर्छ। त्यसले गर्दा डेल्टाक्रोनले कुनै तहल्का नै मच्चाउँछ भन्ने लाग्दैन।

यो डेल्टाक्रोन जस्ता हाइब्रिड मैले कोरोनापछि पहिले पटक थाहा पाए। हामीले उत्परिवर्तनबारे त सुनेकै हो। यो परिवर्तन हुँदै हुँदै यो नयाँ हाइब्रिड बनेको हो।

उदाहरणका लागि, मैले एक जना ओमिक्रोन भएको साथी र अर्को डेल्टा भएको साथीसँग नजिकिएर भाइरस सारे भने यी दुवै भेरियन्ट मिक्स भएर स्वरूप परिवर्तन गर्दै जान्छ र त्यसलाई अहिले डेल्टाक्रोन हाइब्रिड भन्ने गरिएको छ। तर मेरो लागि यो आश्चर्यजनक भने छैन मैले त्यो बेला नै डेल्टा र ओमिक्रोन रहदै अनुमान गरिसकेको थिए।

कतिपयलाई यो हाइब्रिडले केही समस्या ल्याउन सक्छ कि भन्ने लागेको होला तर यी दुवै भेरियन्ट हामीले सामना गरिसकेको र हामीसँग खोप अभियान पनि जारी नै भएकाले आत्तिइहाल्नु पर्दैन।

अहिले पछिल्लो अध्ययनले के भन्छ, अब यो कोरोना अस्ताएर जान्छ कि फेरि संक्रमण दर बढाउँछ?

विश्वका वैज्ञानिकहरूले नै अध्ययन नगर्दा सायद मैले पहिले पटक भनेको थिए कि, यो ओमिक्रोन आएपछि अब आउने दिनहरूमा भाइरसहरू कमजोर हुँदै जाने छन् भनेर।

अर्को चाहिँ स्वाइन फ्लुको मोडेल स्मरण गराउन चाहन्छु। हाम्रो लागि यो त्यस्तो नौलो टेक्निकल शब्द होइन ‘एचवानएचपीडीएन०९’ भन्ने गएका छौँ। त्यो मोडललाई लिए किनभने २००९ मा यसलाई पनि महामारी भनेर घोषणा गरिएको थियो। त्यो बेला यसले पनि संसारभर तहल्का नै मच्काएको हो। यो पछि हामीसँग नै रह्यो।

तर यो आश्चर्यजनक के छ भने २०२१ मा यो हामीसँग छैन, हङकङ फ्लू र एचथ्रीएचवान चाहिँ अझै पनि देखिरहेको छ। यो त २०२२ को तेस्रो हप्तासम्म देखिरहेको छु। ‘एचवानएच’ हामीसँगै हुने हो र देखिरहेकै हो तर अहिले कहाँ गएको हो, मैले देखेको छैन।
पछिल्लो वर्षमा यिनीहरू केही कम भएकै हो। किनभने कोरोना माथि हुँदा यिनीहरू तल झर्ने र कोरोना तल हुँदा यिनीहरू माथि आउने गरेको देखिन्छ। यो प्रवृत्तिले गर्दा जुन बेला विश्वका वैज्ञानिकहरू कोरोना र यो फ्लू सँगसँगै टेन्डेमिक आउने हो कि भनेर तर्सिएका थिए।

उनीहरूले त्यसो भयो पाँच गुणाले मृत्युदर हुन्छ भनेर आकलन समेत गरेका थिए। तर मैले नेपालमा कहीँ पनि देखिएन त्यस्तो भनेर विश्व स्वास्थ्य सङ्गठनको तथ्याकंलाई आधार मानेर अनुसन्धान गरे।

संसारमै तहल्का मच्चाएको स्वाइन फ्लू अहिले आएर सिजनल फ्लू बनेर मौसम अनुसार देखिने गर्छ। खालि यो वर्ष मात्र देखिन नत्र भने हरेक वर्ष देखिन्थ्यो। त्यसैले यो कोरोना भाइरस पनि कुनै सिजनमा मात्र देखिन्छ भन्ने हुन्छ कि जस्तो लाग्छ। तर बेला बखतमा ह्वात्तै बढेर केही दुख देला कि भन्ने हो।

बेला बखतमा आइरहने यस्ता स्वाइन फ्लू र कोभिड जस्ता महामारीले हामीलाई के सिकायो?

पहिलो कुरा, कसैको पनि सरुवा रोगमा ध्यानै गएको देखिँदैन थियो। कोभिडमा पो मैले तपाईँहरूसँग कुराकानी गरे होला। तर मैले त्यो भन्दा पहिलेबाट सरुवा रोग यो बाजा बजाएर आउँदैन भनेर ‘लबिङ’ गरिहेको हुन्थे। सरुवा रोग एक्कासि ‘पप्प’ हुन्छ। त्यस्तो बेला जतिसुकै मै हुँ भन्ने शक्तिशाली, धनी देशहरू पनि हायलकायल हुँदा रहिछन् भन्ने कोरोनाले देखायो।

त्यसैले २१ औँ शताब्दीमा सरुवा रोगलाई कम ठान्नु हुन्न। यो मासमा हुन्छ। नसर्ने रोगहरू जस्तो सुगर रोगहरू पनि बढी रहेका छन् तर त्यो जीवनशैली परिवर्तन गरेपछि कन्ट्रोल हुन्छ।

विश्वका कुनै पनि कुनामा सरुवा रोग देखिएको छ भने त्यसलाई नजरअन्दाज गर्नु हुँदैन। विश्वका हरेक व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुगिरहेका छन्। फ्लूहरु यो कुन सिजनमा वा कुन महिनामा देखिन्छ भनेर त थाहा पायौँ तर कोरोना जस्तो अचानक आउने नयाँ खालको भाइरसको जाँचका लागि कुनै अनुमान नै हुँदैन।

यस्ता अचानक आउने सरुवा रोगको जाँच त नेपालमा पनि हुँदैन बाहिर पठाउनु पर्ने हुन्छ। त्यस कारण हामी सक्षम हुनु पर्छ। त्यस्तै अर्को कुरा, आफू तयारी अवस्थामा बस्नुपर्दो रहेछ भन्ने सन्देश दियो। शुरुमा खोपका लागि हामीले कति मरिहत्य गर्‍यौँ। कसैले पनि दिएन ।

त्यस कारण यस्ता सङ्क्रामक रोग आए भने हामी तयारी अवस्थामा बस्नु पर्छ हामीलाई कोही विदेशी आएर त बचाउँदैन नि।

कोभिड महामारी पनि हामी स्वास्थ्य क्षेत्रमा पूर्वाधारका दृष्टिले थप सुदृढ त भयौ नि, होइन?

प्रदेशमा सयसय बेडको सरुवा अस्पताल खोल्ने भनिएको छ। टेकुलाई तीन सयको बनाउने भनेको छ। यो निकै आवश्यक पनि छ। कोरोनाले हाम्रो अस्पतालको अवस्था, जनशक्तिको आवश्यकता बोध गरायो। सरुवा रोगमा जनशक्ति पनि त्यति आकर्षक हुँदैन। यो दैनिक गएर क्लिनिक चलाउने भन्ने हुन्न।

मैले यसलाई ‘सेमी सोसल ओर्क’ पनि भन्ने गर्छु। सरकारले यो फिल्डमा आउनेलाई अलि आरक्षण पैदा गर्ने कार्यक्रम ल्याउनुपर्छ।

सरुवा रोग जुनसुकै ठुलो पदमा भएको मान्छेलाई पनि लाग्न सक्छ। सरुवा रोगलाई हरेकले ग्राहेता दिनु पर्छ। जसरी चाइनाले सयौँ बेडको अस्पताल १० दिनमा तयार गर्‍यो, यो अवधारणा सबैमा हुनु पर्छ। १२ महिना यस्तो संक्रमण नदेखिएला तर देखिएको बेला तुरुन्तै तयारी अवस्थामा रहनका लागि अस्थायी संरचना तत्काल आवश्यकता अनुसार बनाउन सक्नुपर्छ।

कुनै बेला मैले सरुवा रोगको विषयमा धेरै कुराहरू आवश्यक छ भन्दा मलाई झाडापखाला, हैजा र टाइफाइट रोगमा के गर्ने भनेर हाँसेर उठाउँथे। जुन बेला महामारी फैलिन्छ त्यो बेला सबै जना टेकु तिर फर्किने हो त्यो बेला बाहेक अगिपछि कसैले गन्ने होइन। यो सरुवा रोग अस्पताल राष्ट्रबाट छायामा परेको अस्पताल हो।

महामारी कसरी फैलँदो रहेछ? कसरी बच्ने?

यस्ता महामारी यताउति वर्षमा आउँछ वा बाजा बजाएर आउने होइन। यस्ता महामारीकै कुरा गर्दा सय वर्ष पहिला देखिको हेर्नु पर्ने हुन्छ। वन विनाश देखि लिएर जनवारको नजिक, गरिबी जस्ता सबै कुराले गर्दा यस्ता महामारी आइरहेको छ।

७० प्रतिशत यस्ता महामारी जङ्गली जनावरबाट आएको पनि भनिन्छ, उदाहरणका लागि यो कोरोना भाइरस पनि जनावर देखि र भारतमा देखिएको भाइरस जो लाग्ने बित्तिकै मान्छे मरिहाल्ने पनि भनिन्छ यो पनि जनावरबाटै लाग्ने हो। समग्रमा यो जलवायु परिवर्तनले ल्याएको हो भन्ने सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved