बिम्सटेकलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाको जोड

नेपालभ्युज

बिम्सटेकलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाको जोड
फाइल तस्वीर।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाल कोभिड महामारीको प्रभाव अहिले कम देखिए पनि त्यस विरुद्धको लडाइँ जारी रहेको बताएका छन्। गएको दुई वर्षमा कोभिड महामारीका कारण नेपालसहित यस क्षेत्रका अन्य देशले भोग्नु परेको विपत‍्‍को सम्झना गर्दै प्रधानमन्त्री देउवाले कोभिड महामारीविरुद्धको लडाईँजारी रहेको बताएका हुन्।

श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) को पाँचौँ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। भौतिक र भर्चुअल दुवै माध्यममा सञ्चालित सम्मेलनलाई प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गरेका हुन्।

कोभिड महामारी अन्त्य हुन नसक्नुमा भ्याक्सिन वितरणमा देखिएको असमानता प्रमुख कारण रहेको प्रधानमन्त्री देउवाले बताए। कोभिड महामारीका कारण बिम्सटेक क्षेत्रको आर्थिक, प्राविधिक, स्वास्थ्य, शिक्षा लगायतका अन्य क्षेत्रमा प्रभाव पारेको प्रधानमन्त्री देउवाले बताए। बिम्सटेक सम्मेलन अन्त्यतै महत्त्वपूर्ण समयमा भएको बताउँदै प्रधानमन्त्री देउवाले यस क्षेत्रले आगामी दिनमा भोग्नुपर्ने समस्या समाधनका लागि सम्मेलनमार्फत प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

बिम्सटेक संस्थापन भएको २५ वर्षमा संस्थाले विभिन्न उपलब्धि हासिल गरेको प्रधानमन्त्री देउवाको दाबी छ। वैधानिक संस्थाको निर्माण गर्नेदेखि सचिवालय संस्थापनको कार्य यो अवधिमा भएको प्रधानमन्त्री देउवाले बताएका छन्।

त्यस्तै, सम्मेलनलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस क्षेत्रलाई जोड्ने प्रमुख आधार बौद्ध धर्म भएको बताए। बुद्धको जन्मस्थल लुम्बिनीलाई यस क्षेत्रका अन्य देशसँग जोड्नका लागि बुद्ध सर्किटको सञ्चालन छिट्टै गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड थियो।

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका सम्बन्धमा कडा कदम चाल्नुपर्नेमा पनि जोड दिएका छन्। सोमबारबाट शुरु भएको पाँचौँ बिम्सटेक सम्मेलनको शुरुवातमा यस क्षेत्रका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको बैठक बसेको थियो।

दोस्रो दिन परराष्ट्र मन्त्रीस्तरीय बैठक बसेको थियो। मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का श्रीलंका पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved