म सबैको जनप्रतिनिधि हुँ, हेटौँडामा पार्टीगत पक्षपात कहिल्यै गरिनँ : हरिबहादुर महत (भिडिओ)

संघीय सरकारले अंकुश लगाउने धेरै ठाउँहरू छन्। बेला-बेला अंकुश लाइरहन्छन्। विकासनिर्माण काम गर्न हामी स्वतन्त्र छौँ। अन्य त्यस्ता धेरै कुरा छन्। संघीय कानून हामीले आत्मसाथ गर्नैपर्ने हुन्छ।

म सबैको जनप्रतिनिधि हुँ, हेटौँडामा पार्टीगत पक्षपात कहिल्यै गरिनँ : हरिबहादुर महत (भिडिओ)

हेटौँडा उपमहानगरपालिकाका मेयर हुन्, हरिबहादुर महत। उनी ०४९ र ०५४ सालको स्थानीय चुनावमा उपमेयर  निर्वाचित भएका थिए। 

०७४ सालको स्थानीय चुनावमा कांग्रेस-माओवादी गठबन्धनका साझा उम्मेद्वारलाई हराएर एमालेबाट निर्वाचित भएका थिए उनी। पञ्चायतकालको नगर पञ्चायत चुनावमा वडाध्यक्ष (जनमुखी) निर्वाचित भएर राजनीतिमा लागेका उनले पहिलो स्थानीय चुनावमा आफ्नै प्यानलका मेयरभन्दा झण्डै १० हजार भोट बढी मत पाएका थिए- उपमेयरमा। 

एमाले जिल्ला कमिटीका सदस्य रहेका महतले पार्टीको सीमाभन्दा माथि उठेका जनप्रतिनिधिको छवि बनाएका छन्। उनी पार्टीले उम्मेद्वार बनाएमा फेरि पनि मेयर लड्न तयार छन्। भन्छन्, “मेरो दाबी छैन। पार्टीको इमान्दार कार्यकर्ता हुँ। पार्टीको निर्णय मान्छु।

स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल पूरा हुन एक महिना मात्र बाँकी छ। ३० वैशाखमा निर्वाचनको मिति घोषणा भएसँगै स्थानीय सरकारको कामको समीक्षा हुन थालेको छ।

उनी हेटौंडाको मेयर निर्वाचित भएपछि के-कस्ता काम भए ? घोषणापत्रमा उल्लेख गरेअनुसार काम हुन सक्यो त ? स्थानीयबीच हरिबोल महत भनेर परिचित छन् उनी। नेपालभ्यूजका लागि हेटौँडा उपमहागनरपालिकाका मेयर हरिबहादुर महतसँग सम्झना रिजालले गरेको संवाद :

सरकारले स्थानीय निर्वाचन घोषणा गरिसकेको छ। तपाईंहरूको कार्यकाल अब दुई महिनाभन्दा कम मात्र बाँकी छ। तपाईंको कार्यकालमा हेटौंडा उपमहानगरमा के-कस्ता कामहरू गर्नुभयो ?

निर्वाचित भइसकेपछि गर्ने कामहरूबारे हामीले निर्वाचनअघि नै घोषणापत्र सार्वजनिक गरेका हुन्छौँ। जनताको बीचमा घोषणापत्र बाँडेका हुन्छौँ। त्यही घोषणा पत्रमा आधारित रहेर हामीले काम गर्ने हो। हामीले घोषणापत्रमा उल्लेख गरेका कामहरू अधिकांश सकिसकेका छौँ।

दुई-चार ओटाबाहेक अरु सबै घोषणापत्रमा उल्लेख गरिएका कामहरू हामीले गरेका छौँ। त्योभन्दा थप पनि कामहरू धेरै गरेका छौँ। जस्तै, क्याम्पा चौरमा अत्याधुनिक रङ्गशाला निर्माण गरेका छौँ, जहाँ खेलकुदका गतिविधिहरू पनि हुन थालिसकेका छन्। यो कार्यक्रम हाम्रो घोषणा पत्रमा थिएन।त्यसैगरी, हेटौंडा बजारमा दश ओटा खेलकुद गतिविधि एकैपटक गर्न मिल्ने हल बनाएका छौँ। १९ ओटै वडामा फुटबल ग्राउण्ड बनाएका छौँ भने फूटसलको काम पनि भइरहेको छ।

११ नम्वर वडामा नेपालकै अत्याधुनिक कृषि सुपरमार्केट ४३ करोडको लगानीमा धमाधम काम अगाडि बढाएका छौँ। ४० प्रतिशत काम सम्पन्न भइसकेको छ।

हेटौँडामा शवदहन गर्न निकै समस्या थियो। त्योसमाधानका लागि हामीले विद्युतीय शवदहन मेशिन पनि जोडेका छौँ।

हामीले घोषणा पत्रमा हेटौंडालाई हेर्ने ‘भ्यू टावर’ बनाउने भनेका थियौँ। भ्यू टावर मात्र नभएर नगरको आयस्रोत पनि बढोस्, संघीय सरकारसँग आश्रित हुन नपरोस् भनेर आन्तरिक राजश्व वृद्धि गर्न वासुदेव बहुउद्देश्यीय भवन निर्माण गर्न लागेका छौँ। यो हाम्रो ९६ करोडको योजना हो। यस्ता थुप्रै कामहरू छन् जुन कुरा घोषणा पत्रमा उल्लेख गरिएका थिएनन्।

घोषणा पत्रमा उल्लेख गरिएका एकाध कुराहरू हामीले चाहेर पनि गर्न सकेका छैनौँ। एकाध कामहरू बाँकी छन्। उदाहरणका लागि, हेटौँडाको सडक फराकिलो पार्ने, चारलेनको बनाउने भनेका थियौँ। त्यो बनाउन सकेनौँ। कारण, यो संघीय सरकारको मापदण्डमा पर्ने राष्ट्रिय राजमार्ग हो। २५ मिटरको सडक क्लियर नभएका कारणले बनाउन नसकिएको हो।

फेरि पनि दाहोर्‍याएर भन्छु, कानूनी बाधा नै यसको मूल कारण हो।

सररफाइको क्षेत्रमा मकवानपुर जहिले पनि प्रथम हुने गरेको छ तर पनि अझै धेरै व्यवस्थापन गर्ने मेरो योजना थियो। त्यो काम ठाउँ अभावको कारणले गर्न सकिएन। म आफूले गरेका कामहरूबाट निकै सन्तुष्ट छु।

हेटौँडाको सडकसंघीय सरकारको मातहतमा रहेको भएर विस्तार गर्नसकिएन भन्नुभयो। संघीय सरकारसँग समन्वय किन हुन नसकेको ?

हामीले गर्ने कुरा गरिसकेका छौँ। दुई वर्षअगाडि नै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थियौँ, “यहाँको २५ मिटर बाटोबारे प्रस्ट हुन पर्‍यो कि बजारलाई नछुने हो भने बाइपासको बाटो खोल्नुपर्‍यो। बजारलाई छुने हो भने उहाँहरूको मुआब्जा दिएर २५ मिटर गर्ने हो कि के गर्ने हो गर्नुपर्‍यो।” म आफैँले यहाँको कार्यपालिकाको निर्णय दिएको छु।

यथाशीघ्र टुङ्गो लगाइयोस् भन्ने हाम्रो पनि चाहना हो। यो हाम्रो मातहतमा होइन, हामीले त यहाँको जनमत बोल्दिने मात्र हो। भर्खरै सुन्नमा आएअनुसार, एक महिनाअघि मुआब्जा दिएर खाली गराउनु भन्ने सर्वोच्च अदालतको निर्णय छ रे ! संघीय सरकारले छिटो काम गराए हुने थियो।

तपाईंले भ्यू टावरको कुरा गर्नुभयो। भ्यू टावरका लागि वासुदेव भवन भत्काउनु गलत हो भनेर आलोचना पनि भयो नि ?

आलोचना तथ्यपरक छैन। विरोधको लागि विरोध मात्र हो। त्यो २०७२ सालको भूकम्पले जीर्ण बनेको भवन हो। बागमती प्रदेश सरकारले पनि प्रदेशसभा त्यो भवनमा राख्ने भनेर पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले निरीक्षण गर्नुभएको थियो। प्राविधिकको टोलीले समेत त्यो भवनमा कुनै पनि मानवीय कार्य गर्न नहुने भनेर प्रतिवेदन बनाएको थियो।

यस्तै, नगरपालिकाका हाम्रा प्राविधिकहरूले पनि कुनै पनि बेला दुर्घटना हुनसक्ने बताएको भएर त्यसलाई भत्काएका हौँ। अब हल्ला के-के गर्छन्, हल्लाको पछाडि लाग्नुहुँदैन।

यो पाँच वर्षको अवधिमा तपाईंले गर्न चाहनुभएको तर गर्न बाँकी रहेको केही छ ?

विशेष गरी हेटौँडा उपमहानगरपालिका साविक ११ ओटा वडा थियो भने पाँच ओटा गाविसलाई मिसाएर हेटौँडा उपमहानगरपालिका बनाइएको छ। ती पाँच गाविसमा स्वास्थ्य, शिक्षा, बाटो र खानेपानीलाई प्राथमिकतामा राखेर काम गरेँ। अहिले ९० प्रतिशत हामीले पुर्‍याउन पनि सफल भयौँ।

१९ ओटै वडाको जुनसुकै ठाउँमा गएर पनि तपाईंले बुझ्न सक्नुहुन्छ खानेपानीको समस्या छैन। बाटो जताततै पुगेको छ, पिच गर्नसमेत हामी सफल भएका छौँ।

२० ओटा शहरी स्वास्थ्य केन्द्र खोलेर हामीले धेरै पहिलेबाट नै काम गरिरहेका छौ। १९ नम्बर वडा भूगोलको हिसाबले ठूलो भएकाले यहाँ हामीले दुई ओटा स्वास्थ्य केन्द्र खोलेका हौँ।

विशेष गरेर हामीले शिक्षा, खानेपानी, स्वास्थ्य र बाटो नै महत्वपूर्ण हो। यो काममा हामीले ध्यान दिएका छौ।

तपाईंसँग योभन्दा अगाडि नै दुई कार्यकाल उपमेयर र त्यसअघि पञ्चायतको पनि वडा अध्यक्ष भइसक्नुभएको अनुभव छ। अहिलेको स्थानीय तह र स्थानीय निकायमा कस्तो फरक पाउनुभयो ?

स्थानीय निकायभन्दा स्थानीय तह अधिकारले अलि धेरै सम्पन्न हुने रहेछ। अहिले हामी सरकारको रूपमा छौँ। संविधानमा उल्लेख गरिएको तीन सरकारमध्ये एक हामी हौँ। पहिले भन्दा अहिले फरक ढङ्गले हामी अगाडि बढेका छौँ।

अहिले पहिलेभन्दा काम गर्न अलि सहज छ। प्रदेश सरकार र संघीय सरकारसँग नबाझिने गरी हामीले कानून निर्माणको कामसमेत गर्न सक्छौँ। कानूनको कार्यान्वयन गर्न सक्छौँ। स्थानीय निकाय र स्थानीय तहमा फरक पक्कै छ।

अधिकार र स्रोतको हिसाबले हेटौँडा उपमहानगरपालिका कत्तिको सबल पाउनुहुन्छ ?

संघीय सरकारले हामीलाई वार्षिक बजेट पठाउँछ। त्यसको मात्र भर नपरेर हामीले आन्तरिक आयश्रोत पनि वृद्धि गरेका छौँ।

४० करोडको हाराहारीमा अहिले हामीले आन्तरिक आयस्रोत अनुमान गरेका छौँ तर गत वर्ष गिट्टीबालुवामा ठेक्का लगाउन पाएनौँ जसका कारण त्यति नहुन पनि सक्छ।

संघीय सरकारको कानूनले गर्दा सोचे जति आयआर्जन हुन सकेको छैन। आयश्रोत बढाउन हामीले ध्यान दिएका छौँ। संघीय सरकारको मात्र भर परेर हामी बसेका छैनौँ।

उपमहानगरले आफ्नो अधिकार प्रयोग गर्न प्रदेश र संघबाट केही बाधा आए कि ?

पूर्ण रूपमा हामीलाई सहयोग त छैन। संघीय सरकारले अंकुश लगाउने धेरै ठाउँहरू छन्। बेला-बेला अंकुश लाइरहन्छन्। विकासनिर्माण काम गर्न हामी स्वतन्त्र छौँ। अन्य त्यस्ता धेरै कुरा छन्। संघीय कानून हामीले आत्मसाथ गर्नैपर्ने हुन्छ।

एमालेका तर्फबाट तपाईं मेयर निर्वाचित हुनुभयो। जनप्रतिनिधि हुनुअघि तपाईंले पार्टीको लागि काम गर्नुहुन्थ्यो। जनप्रतिनिधि भइसकेपछि सबैलाई चित्त बुझाएर काम गनुपर्ने हुन्छ। राजनीतिक कुराले काम गर्न कत्तिको प्रभाव पार्ने रहेछ ?

त्यस्तो केही फरक पर्दैन। हामीले कुनै पार्टीबाट जितेका हुन्छौँ तर हामी जब निर्वाचित हुन्छौँ, हामी सबैको साझा हौँ।

मैले एमालेको उम्मेद्वार भएर जितेको त हुँ तर म अहिले हेटौँडा उपमहानगरको मेयर हुँ। सबैको लागि साझा व्यक्ति हुँ। मैले आजसम्म कुनै पनि पक्षपात गरेको छैन। मलाई भोट पनि सबै दलकाले दिएका छन्। तीन पटकसम्म मलाई सबै पार्टीका जनताले भोट दिएका छन्।

पहिलेदेखि नै मैले जनप्रतिनिधिको रूपमा काम गर्दा पार्टीगत धारणा नराखेका कारण नै अहिले मलाई जिताएका हुन्। मैले कहिले पनि काम लिएर आउँनेहरूलाई यो पार्टी ऊ पार्टी भनेको छैन। नगरपालिकालाई आउने बजेट, राजश्व सबै जनाको करको पैसा हो। उहाँहरूकै पैसा मैले पक्षपात गर्ने कुरै आउँदैन।

पछि थपिएका वडाहरूलाई विकास निर्माणमा पक्षपात भयो भन्ने आरोप छ नि ?

त्यो अन्यत्रको होला, म कहाँ अलिकति पनि छैन। हामीकहाँ जुन पाँच ओटा गाविसलाई मिसाइयो, अहिले सबैभन्दा विकास भएका तिनै ठाउँमा हो। तपाईंहरू पनि गएर हेर्न सक्नुहुन्छ। जनताले आफैँ भन्ने छन्।

हेटौँडा उपमहानगरको मेयरमा फेरि पनि तपाईं नै उम्मेद्वार बन्न आंकाक्षा देखाएको चर्चा छ नि ?

त्यस्तो होइन। मेरो राजनीतिक नैतिकताको कुरा गर्ने हो भने दुई-दुईपटक एमालेबाट उपमेयर भइसकेको छु। अहिले मेयर छु। फेरि पनि जनप्रतिनिधि, माननीय चाहियो भन्ने पक्षमा म छैन।

भोलि पार्टीले फेरि तँ नै दाहोर्‍याउनुपर्छ भन्यो भने निर्णय मान्न तयार छु। होइन भने व्यक्तिगत चाहनाले केही हुँदैन। हामी व्यक्तिप्रधान होइन, पार्टी प्रधान मान्छौँ।

जनताले हामीलाई साथ दिनुभयो, हामीलाई जनप्रतिनिधि बनाइदिनुभयो। विकास निर्माणको काममा जनसहभागिता हेटौँडामा उल्लेख्य छ। १९ ओटै वडाका जनप्रतिनिधिसँग हाम्रो सम्बन्ध सुमधुर रह्यो। साथ सहयोगको लागि सबैलाई धन्यवाद !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved