वाङ यीले सक्लान् नेपालका कम्युनिष्ट मिलाउन ?

सर्वोच्च अदालतको २३ फागुन २०७७ मा एमाले र माओवादीबीचको एकता बदर गरिदिएपछि दुई पार्टी मिलाउन चीन सक्रिय भइरहेको छ। निर्वाचन नजिकिइरहँदा चीनले पुनः एकपटक फुटेका कम्युनिस्ट शक्तिहरूलाई एक बनाउने जारी नै राखेको छ।

वाङ यीले सक्लान् नेपालका कम्युनिष्ट मिलाउन ?

काठमाडौं। चिनियाँ परराष्ट्रमन्त्री एवं राज्य परिषद्का सदस्य वाङ यी दुईदिने नेपाल भ्रमणका क्रममा ११ चैतमा नेपाल आउँदैछन्।

दक्षिण एशियाका अफगानिस्तान, पाकिस्तान, नेपाल र भारतको भ्रमणमा निस्किन लागेका चिनियाँ परराष्ट्रमन्त्री वाङको नेपाल भ्रमणको चर्चा चल्दै गर्दा नेपालमा भने फेरि कम्युनिष्ट पार्टीबीच एकता वा निर्वाचन गठबन्धनको विषयले फेरि चर्चा पाएको छ।

चिनियाँ परराष्ट्रमन्त्री नेपाल भ्रमलाई मुख्यतः कम्युनिष्ट एकता, निर्वाचनमा गठबन्धनजस्ता विषयसँग जोडेर हेरिएको छ।

त्यसकै ठ्याक्कै प्रभाव नपरे पनि यता सोमबारबाट शुरु नेकपा (एमाले)को पोलिटब्युरो कमिटी बैठकमा नेता घनश्याम भूसालले कम्युनिष्ट पार्टीबीच एकताको कुरा उठाएका छन्। उनले कम्युनिष्ट एकता हुनुपर्ने तीन कारण पनि खुलाएका छन्।

एमाले वाम एकताको प्रमुख स्रोत भएको, कम्यनुिष्ट पार्टी विभाजन हुनुपर्ने वैचारिक र सैद्धान्तिक कारण नभएको र आगामी निर्वाचनमा विजयी हुने सुनिश्चितताका वाम पार्टीबीच एकता हुनुपर्ने नेता भुसाले तर्क अघि सारेका छन्।

यसअघि पनि भूसालले बेलाबेलामा कम्युनिष्ट एकताका पक्षमा बोल्दै आएका छन्। तर यस्तो तर्क गर्ने उनी एक मात्र नेता भने होइनन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र सोही पार्टीका अर्का नेता वर्षमान पुनले पनि कम्युनिष्ट पार्टी एकता जीवितै रहेको बेलाबखत बताउने गर्छन्। माओवादीका केही नेताले त झन् कम्युनिष्ट पार्टीबीच आसन्न निर्वाचनमा गठबन्धन बन्नेसम्म संकेत गर्न थालेका छन्।

गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेसका केही प्रभावशाली नेताहरूले आउँदो निर्वाचनमा पार्टीले कसैसँग एकता गर्नै नहुने जोडतोडका साथ उठाइरहेका छन्। जसको डर माओवादी केन्द्रमा छ। तर एक्लाएक्लै निर्वाचनमा गए पनि पहिलो पार्टी बन्ने दाबी गर्दै आइरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्षस्थ नेताहरू निर्वाचनसम्म गठबन्धन कायमै राख्नुपर्ने बताइरहेका छन्।

विभाजनको एक वर्षपछि फेरि उठ्न थाल्यो एकताको स्वर

तत्कालीन नेपाल कम्युनिष्ट पाटी विभाजन भएको एक वर्ष पुगेको छ। २०७४ सालको संघीय निर्वाचनमा एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गर्दै निर्वाचनमा बहुमत ल्याएका थिए। पछि यी दलले ३ जेठ २०७५ मा एकता गरेका थिए।

तर, एकता लामो समय टिक्न सकेन। बहुमत प्राप्त नेकपा सरकार ढल्यो भने संसद्मा दोस्रो ठूलो दलका रूपमा रहेको कांग्रेसले सरकार बनाएको छ।

स्थानीय तहको निर्वाचन आउनै लाग्दा कम्युनिष्ट पार्टीबीच गठबन्धनको चर्चा हुनु स्वाभाविकै हो। तर ११ चैतबाट हुने चिनियाँ परराष्ट्रमन्त्री एवं राज्य परिषद्का सदस्य वाङ यी दुई दिने नेपाल भ्रमणमा आउन लाग्दा कम्युनिष्ट एकताको विषय फेरि झाँगिएको थियो।

यसअघि पनि दुई कम्युनिष्ट पार्टीबीच एकता गर्न भूमिका खेल्ने चीन अझै पनि नेपालमा कम्युनिष्टबीच एकता भएको हेर्न चाहन्छ। चीनको युनान विश्वविद्यालयसँग आबद्ध प्राध्यापक डा. वाङ चुङ नेपालका कम्युनिष्ट पार्टीबीच एकता चीनको चाहना भएको बताउँछन्।

यसअघि पनि नेकपाको विभाजन रोक्न १२ पुस २०७७ मा चार सदस्यीय चिनियाँ टोली नेपाल आएको थियो। कोभिड महामारीको समयमा बाह्य देशको यात्रा खासै नगरेका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू नेकपा विघटन रोक्ने कसरतमा थिए।

चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौको नेतृत्वमा आएको चार सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलले नेकपा फुट्नबाट रोक्न नसकिने देखेर फर्किएका थिए। उनीहरूले निर्वाचनमा कम्युनिष्ट पार्टीबीच गठबन्धन हुन सक्ने/नसक्ने अवस्था बुझेका थिए।

सर्वोच्च अदालतको २३ फागुन २०७७ मा एमाले र माओवादीबीचको एकता बदर गरिदिएपछि दुई पार्टी मिलाउन चीन सक्रिय भइरहेको छ। निर्वाचन नजिकिइरहँदा चीनले पुनः एकपटक फुटेका कम्युनिस्ट शक्तिहरूलाई एक बनाउने जारी नै राखेको छ।

“तत्काललाई नेकपा विभाजनलाई रोक्न नसकिए पनि पुनः एकीकरण अथवा निर्वाचनमा कार्यगत एकताको लागि हाम्रो निरन्तर प्रयास रहनेछ,” प्रतिनिधिमण्डलको नेतृत्व गरेका चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओले नेपाल भ्रमणका क्रममा केही व्यक्तिसँग अनौपचारिक कुराकानीका क्रममा भनेका थिए।

चिनियाँ परराष्ट्रमन्त्री यीको नेपाल भ्रमणका समयमा त्यो प्रसंग फेरि उठ्ने सम्भावना रहेको उपमन्त्री गुओसँग भेट गरेको ती व्यक्ति दाबी गर्छन्।

“नेपालका कम्युनिष्ट पार्टीले यीको प्रस्तावलाई कुन हिसाबमा लिन्छन् त्यो त भन्न सकिँदैन तर उहाँको भेटमा कम्युनिष्ट पार्टीबीचको एकताको सम्भावना वा निर्वाचनमा कार्यगत एकताको विषय फेरि उठ्ने निश्चित छ,” ती व्यक्ति बताउँछन्।

१२ फागुनमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख साङ ताओले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका र सोही विभागका उपमन्त्री चेन झाओले माधव नेपालसँग एकै समयमा छुट्टाछुट्टै छलफल गरेका थिए।

उक्त छलफलको पृष्ठभूमिका नेपालको संसद्ले एमसीसी पारित गर्ने अवस्था रहे पनि यो छलफललाई फरक हिसाबमा हेर्नुपर्ने ती व्यक्ति दाबी गर्छन्।

राजनीतिशास्त्री चन्द्रदेव भट्ट पनि नेपालमा वाम एकताको प्रयासका लागि चिनियाँ परराष्ट्रमन्त्री यीको नेपाल भ्रमण हुन लागेको आशंका व्यक्त गर्छन्।

“त्यसो त चिनियाँ परराष्ट्रमन्त्री नेपालका वामपन्थी पार्टीहरूको एकताको प्रयासका लागि नेपाल आउन लागेको चर्चा छ। त्यस्तो भयो भने त्यो चीनका लागि फेरि प्रत्युत्पादक सावित हुन्छ,” भट्ट भन्छन्।

यता ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनको परराष्ट्र मामिला सल्लाकार रहेका गोपाल खनाल नीतिगत रूपमा वाम एकता वा निर्वाचनमा तालमेलको सम्भावना नरहेको बताउँछन्।

पार्टीभित्रै कम्युनिष्ट एकताको प्रसंग चल्दै गर्दा खनाल भने त्यसको सम्भावना देख्दैनन्। खनाल मात्रै होइन स्वयं ओली आफै पनि वाम गठबन्धनको सम्भावना नरहेको बताउँछन्। उनले आज आयोजित पोलिटब्यूरो कमिटीको कार्यक्रममा भने, “नेपालमा वाम पार्टी नै छैन कहाँबाट गर्ने वाम एकता?”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved