सुध्रिएन नेपालको ब्याटिङ, सधैं बलरको भर

यसअघिका लिगका सबै १३ खेल हारेको पीएनजीले यो खेलमा पनि खासै राम्रो प्रदर्शन गर्न सकेन र पहिले ब्याटिङ गर्दै २०४ रनको सामान्य योगफल बनाएको थियो। तर यो लक्ष्य पूरा गर्न पनि नेपाललाई सगरमाथा चढेसरह भयो।

सुध्रिएन नेपालको ब्याटिङ, सधैं बलरको भर

काठमाडौं। नेपाल बुधबार आईसीसी क्रिकेट विश्वकप लिग-२ को हालसम्म एक खेल पनि जित्न नसकेको सबै भन्दा कमजोर टिम पीएनजीसँग भिडिरहेको थियो। लिग-२ अन्तर्गतको यूएईमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेल जित्न नेपाललाई २०५ रनको सजिलो लक्ष्य थियो।

तर सधै नेपाली क्रिकेट समर्थकको मुटुको धडकन बढाउन माहिर मानिने नेपाली टिमले यो लक्ष्य पनि अन्तिम ओभरमा पूरा गर्दै दुई विकेटको निकै संघर्षपूर्ण जित निकाल्यो। यदि रोहित कुमार पौडेल र आरिफ शेखले कीर्तिमानी शतकीय साझेदारी नगरेको भए नेपालले लज्जास्पद हार बेहोर्थ्यो।

यसअघिका लिगका सबै १३ खेल हारेको पीएनजीले यो खेलमा पनि खासै राम्रो प्रदर्शन गर्न सकेन र पहिले ब्याटिङ गर्दै २०४ रनको सामान्य योगफल बनाएको थियो। तर यो लक्ष्य पूरा गर्न पनि नेपाललाई सगरमाथा चढेसरह भयो।

अहिलेको आधुनिक क्रिकेटमा २०० आसपासको स्कोर २० ओभरको टी-ट्वान्टी म्याचमा नै सामान्य भैसक्यो। तर नेपालले ५० ओभरको एकदिवसीय (ओडीआई) खेलमा पनि यो सामान्य लक्ष्य पछ्याउन कठीन बाटो राज्यो। यो लक्ष्य पूरा गर्न नेपाललाई ५० ओभरको पूरै खेल टिकेर खेले मात्र पनि पुग्थ्यो। जहाँ प्रतिओभर चार रनको मात्र आवश्यकता थियो।

ब्याटिङमा खराब शुरुआत

नेपालको शुरुआत निकै खराब भयो। दोस्रो ओभरको पहिलो बलमा नै नेपालका भरपर्दा ओपनर कुशल भुर्तेल मात्र एक रनमा आउट भए। त्यस्तै तेस्रो ओभरमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल चार रनमा एलबीडब्लू धरापमा परे।

मात्र ६ रनमा शुरुआती दुई विकेट खसेपछि नेपाली इनिङ संकटमा पर्नु स्वाभाविक थियो। यसपछि विकेट जोगाउन नेपालको निकै सुस्त ब्याटिङ गर्‍यो। तर सम्हालिएर ब्याटिङ गर्ने प्रयास गरे पनि नेपाली ब्याटिङका खम्बा मानिएका दीपेन्द्र सिंह ऐरी पनि मात्र ८ रनमा ढले।

यसपछि अर्का ओपनर आशिफ पनि ४० बलमा १६ रन जोड्दै पेभोलिएन फर्किएपछि १५ ओभरमा मात्र ४२ रन जोड्ने क्रममा नेपालको प्रमुख चार विकेट झरिसकेको थियो।

रोहित र आरिफको कीर्तिमानी साझेदारीले नेपाललाई जोगायो।

यसपछि धरापमा पर्न लागेको नेपालको इनिङलाई कीर्तिमानी शतकीय साझेदारी गर्दै अलराउण्डरद्वय रोहित कुमार पौडेल र आरिफ शेखले सम्हाले। यी दुईले पाँचौ विकेटको लागि १०२ रनको आकर्षक साझेदारी गरेका थिए। रोहित र आरिफ एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालको लागि शतकीय साझेदारी गर्ने पहिलो जोडी बने। नेपालको लागि ओडीईमा यो सर्वाधिक ठूलो साझेदारी हो।

यसअघिको नेपालको ठूलो साझेदारी आशिफ शेख र ज्ञानेन्द्र मल्लले यसै वर्षको लिग-२ अन्तर्गत कै ६ महीनाअघिको ओमान टुरमा ओमानसँग नै बनाएका थिए। उक्त साझेदारी दोस्रो विकेटको लागि ९५ रनको थियो।

अर्धशतकीय पारी खेलेका रोहितले ८२ बलमा चार चौकासहित ५८ रनको योगदान दिएका थिए।

३८ औं ओभरमा नेपालको पाँचौं विकेट खस्दा रन १४४ थियो। अब खेलमा जितका लागि १२ ओभरमा ६१ रन जोड्नु थियो। यसपछि ४४ औं ओभरमा आरिफ शेख पनि अर्धशतक पूरा गर्दै ८६ बलमा ५४ रन जोड्दै आउट भए।

यसपछि नेपाललाई अन्तिम ३६ बलमा ४२ रन जोड्नु थियो भने चार विकेट बाँकी थियो। तर विकेट किपर ब्याटर विनोद भण्डारी १२ रनमा आउट भए। तर करण केसीले केमियो रोल निभाउँदै २५ बलमा दुई छक्का र एक चौकाको मद्दतले अविजित २९ रन जोडेपछि नेपालले लक्ष्य अन्तिम चार बल खेल्नु अगाडि आठ विकेटको क्षतिमा पूरा गर्‍यो।

जबकि नेपालको ब्याटिङ अर्डर हेर्दा र हाल सुधारिएको भनिएको ब्याटिङले यो सामान्य लक्ष्य ४० ओभर अगावै पूरा गर्नपर्थ्यो।

बलिङमा भने राम्रो प्रदर्शन

यसअघि खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालको शुरुआत मध्यम खालको थियो। सम्हालिएर ब्याटिङ गरेको पीएनजीले राम्रो शुरुआत गर्दा ५० रन जोड्दासम्म एक विकेट पनि गुमाएको थिएन। तर यसपछि भने पीएनजीले लगातार दुई विकेट गुमायो।

१० ओभरको पावर प्लेको अन्तिम दुई बल खेल्नु अगाडि अलराउण्डर आरिफ शेखले नेपालको लागि ब्रेक थ्रु दिलाएका थिए। उनले ओपनर टोनी उरालाई २७ रनमा विकेट किप्परद्वारा क्याच आउट गराए।

यसपछि सन्दीपले अर्का ओपनर लेगा सियाकालाई २५ रनमा बोल्ड आउट गर्दा पीएनजी ५५-२ को अवस्थामा पुग्यो। लगातार दुई ओपनर गुमाएपछि पीएनजीको रनमा अकुंश लाग्यो।

२४ औं ओभरमा ‘पार्टटाइम बलर’ तथा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पीएनजीका कप्तान आसाद भालालाई १९ रनमा क्याचआउट गराए। ज्ञानेन्द्रको ओडीआई क्रिकेटमा यो पहिलो विकेट थियो।

लगत्तै अर्को ओभरमा हिरी हिरीलाई ज्ञानेन्द्रले उत्कृष्ट रन आउट गराए। शुरुआत राम्रो गरे पनि मध्यक्रममा नचल्दा १०० रन नपुग्दै पीएनजीले शुरुआती चार विकेट गुमायो।

२५ औं ओभरमा मात्र ९१ रनमा चार विकेट गुमाएको पीएनजीको इनिङ धरापमा परिसकेको थियो। तर यसपछि भने चार्ल्स अमिनी र चाद सोपरले पाँचौं विकेटका लागि ७४ रनको साझेदारी गर्दै पीएनजीलाई सम्मानजनक स्कोरमा पूराउन कोशिस गरे।

चार्ल्सले अर्धशतकीय पारी खेल्दै ८२ बलमा सात चौकाको मद्दतले ५९ रन जोडेका थिए। सोमपाल कामीको ४५ औं ओभरमा नेपालले दुई ओटा क्याच ड्रप गरे पनि चौथो बलमा दीपेन्द्र सिंह ऐरीले क्याच लिएपछि चार्ल्स आउट भएका थिए।

त्यस्तै सोमपालले ४९ औं ओभरमा पीएनजीका दुई ब्याटरलाई बोल्ड गरे। पीएनजीको इनिङलाई समाल्न प्रमुख भूमिका खेलेका चाद सोपरले ७५ बलमा ३५ रन जोडेका थिए।

कुनै बेला लगातार विकेट खसेको पीएनजीले अन्ततः पूरै ५० ओभरको खेल खेलेर आठ विकेटको क्षतिमा २०४ रनको योगफल बनाएको थियो। खेलमा नेपालले चार पाँच क्याच लिने मौका खेर फाल्यो। ती क्याच ड्रप नभएको भए नेपालले पीएनजीलाई अझ सस्तैमा समेट्न सक्थ्यो।

बलिङमा समपालले सर्वाधिक तीन विकेट लिए। त्यस्तै दीपेन्द्रले विकेट नलिए पनि किफायती बलिङ गर्दै १० ओभरमा मात्र २६ रन खर्चेका थिए।

आईसीसी क्रिकेट विश्वकप लिग-२ समीकरण

यो आईसीसी क्रिकेट विश्वकप लिग-२ सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताको प्रारम्भिक छनोट लिग हो। सात राष्ट्र सहभागी यो लिग-२ मा प्रत्येक टिमले ९ त्रिकोणात्मक सिरिज खेल्दैछन्।

प्रत्येक सिरिजमा प्रत्येक टिमले चार-चार खेल खेल्नेछ। सिरिजको अन्त्यसम्म सबै टिमले ३६ खेल खेलिसकेपछि लिगको शीर्ष तीनमा रहने टिमले सीधै एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन्।

यसबाहेकका अंकतालिकाको तल रहेका चार टिमले भने प्लेअफमार्फत विश्वकपको छनोट खेल्न पाउने सम्भावना रहन्छ। लिग-२ अन्तर्गत नेपालको यो तेस्रो सिरिज हो। यो सिरिजको पहिलो खेल जितेपछि नेपाल नौ खेलमा पाँच जितपछि १० अंक जोड्दै लिगको छैटौं स्थानमा कायमै छ।

लिगमा हालसम्म खेलेको १४ खेल नै हारेको पीएनजी अन्तिम स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved