स्थानीय तह निर्वाचनमा कुन दल के गर्दै छन् ?

स्थानीय तह निर्वाचनमा कुन दल के गर्दै छन् ?

काठमाडौं। प्रतिपक्षी नेकपा (एमाले) को आज बसेको सचिवालय बैठक ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन केन्द्रित थियो।

एमालेले निर्वाचनलाई लक्षित गरेर पार्टीको रणनीति तय गर्न आउँदो हप्ता स्थायी कमिटीदेखि केन्द्रीय समिति बैठक सम्म बोलाएको छ।

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले गत आइतबारदेखि ७७ ओटै जिल्लामा निर्वाचन केन्द्रित एकमहीने अभियान शुरु गरेको छ। ‘घर-घर जाउँ, नेपाली कांग्रेस जिताऔं’ भन्ने नारासहित शुरु भएको अभियान स्थानीय तह निर्वाचन केन्द्रित रहेको कांग्रेस कार्यसम्पादन समितिको औपचारिक निर्णय नै छ।

अर्को सत्तारुढ घटक जसपा नेपालले सोमबार मात्रै पार्टी केन्द्रीय समिति बैठकबाट पार्टीको सम्पूर्ण शक्ति स्थानीय तह निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ। सत्तारुढ माओवादी र नेकपा (एस)ले पनि यस्तै निर्णय गरेको छ। संसदमा रहेको लोसपा नेपाल र राप्रपा पनि स्थानीय तह निर्वाचन केन्द्रित गतिविधिमा व्यस्त छन। राप्रपाले पार्टीबाट निर्णय नै गरेर कार्यक्रम बनाएका छन भने लोसपाले त्यस्तो औपचारिक निर्णय नगरे पनि पार्टीका शिर्ष नेताहरू पछिल्लो केही समय यता लगातार मधेशका जिल्लाहरूमा कार्यक्रम गर्न व्यस्त देखिन्छ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले पार्टीको एक महीने अभियानसँगै आफूहरू स्थानीय तह निर्वाचन केन्द्रित भएको दाबी गरे। ‘पार्टीको सम्पूर्ण नेता तथा कार्यकर्ता अबको दुई महीना स्थानीय तह निर्वाचन केन्द्रित रहने छौं,” महतले भने, “स्थानीय तहको निर्वाचनको माहौल पूरै देशमय बनेको छ।’

एमाले उपमहासचिव विष्णु रिमालले पनि पार्टी पूरै स्थानीय तह निर्वाचन केन्द्रित रहेको बताएका छन्। नेपालभ्यूजलाई दिएको अन्तर्वार्तामा रिमालले बरु सत्तारुढ गठबन्धनले कतै कुनै बहानामा स्थानीय तह निर्वाचन सार्छन कि भन्ने आशंका आफूहरूमा रहेको बताएका छन्।

यसरी सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनको दुई महीना बाँकी रहँदा दलहरूको गतिविधि सम्पूर्ण रूपमा निर्वाचन केन्द्रित बन्न पुगेको छ। पार्टीहरूको औपचारिक कार्यक्रमहरूदेखि नेताहरू सम्मको गतिवधि त्यसमै केन्द्रित छन्।

निर्वाचन आयोगले पनि आफ्नो तयारी अगाडि बढाएको छ। मतदाता नामावलीदेखि दलहरूको दर्ता प्रक्रियासम्म टुंगो लगाइसकेको आयोगले निर्वाचन कार्यतालिका अन्तिम रूप दिन लागेको जनाएको छ। नेकपा एकीकृत समाजवादीका प्रवक्ता जग्गनाथ खतिवडाले १५ चैतभित्र आफूहरूले सबै स्थानीय तहस्तरमा विश्लेषण गरेर कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए।

के गर्दै छ कांग्रेस ?

कांग्रेस एकमहीने अभियानमार्फत् ७७ जिल्लाकै सबै स्थानीय तहमा निर्वाचन लक्षित कार्यक्रमहरू शुरु गरिसकेको छ। हरेक टोल वडादेखि बुथकेन्द्रित बैठकहरूदेखि प्रचारप्रसारको निमित्त केन्द्रीय प्रतिनिधिहरू नै खटाएर रणनीति बनाइरहेको कांग्रेसले पार्टीको पदाधिकारीदेखि केन्द्रीय सदस्यहरू सम्मलाई परिचालन गरिसकेको छ।

पार्टीको तल्लो तहसम्मका हरेक नेता कार्यकर्तालाई आआफ्नो वडामा बसेर निर्वाचन केन्द्रित प्रचारप्रसारदेखि रणनीतिक बैठकहरूमा सामेल हुन कांग्रेसले निर्देशन दिएको छ। यो एकमहीने अभियानको क्रममा हरेक नागरिकको घर पुगेर कांग्रेसले देशका सबै नागरिकको कुरा सुन्ने कार्यक्रम पनि बनाएको छ। केन्द्रको साथै हरेक स्थानीय तहले आ आफ्नो घोषणा पत्र बनाउने भने पछि हरेक पालिकाहरू स्थानीय स्तरको घोषण पत्र बनाउने देखि प्रचारप्रसार समितिहरू कांग्रेसले बनाईरहेको छ।

एमाले के गर्दै छ ?

स्थानीय तह निर्वाचनका लागि रणनीति बनाउन अर्को हप्ता स्थायी कमिटी बैठक बोलाए पनि नेकपा (एमाले)ले पछिल्लो समय लगातार निर्वाचनलक्षित कार्यक्रम गर्दै आएको छ। अध्यक्ष केपी ओली देश दौडाहामा छन् प्रदेश कमिटीहरूले प्रदेशस्तरमा पार्टीका प्रशिक्षण कार्यक्रमहरू गरिसकेको छ।

एमाले र अध्यक्ष ओली देशभर कार्यक्रममा सामेल भए पनि उनले पछिल्लो समयमा मधेश प्रदेशलाई बढी प्राथमिकता दिएको देखिन्छ। अन्य पार्टीहरूबाट अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई एमालेले धमाधम पार्टी प्रवेश गराइरहेको छ।

अघिल्लो निर्वाचनमा स्थानीय तहमा सबैभन्दा बढी सिट ल्याएको एमालेलाई त्यो संख्या कायम गर्न चुनौती छ।

माओवादी नेतृत्व पनि देश दौडाहामा

सात ओटै प्रदेशहरू स्थानीय तह निर्वाचनलाई लिएर पार्टी प्रशिक्षण कार्यक्रम गरेको माओवादी नेतृत्व पनि स्थानीय निर्वाचनमा जोडतोडले लागिरहेको छ।

सत्तागठबन्धनलाई चुनावी तालमेलमा परिणत गर्ने भरमग्दुर प्रयास गरिरहेको माओवादी नेतृत्व देश दौडाहाको क्रममा निर्वाचन आफ्नो आडमा जित्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेको छ। यद्यपि अध्यक्ष दहालले केही दिन अगाडि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावी तालमेल मिलिसकेको दाबी गरेका थिए।

नेकपा एसको 

अघिल्लो हप्ता मात्रै नेकपा (एस) ले पनि केन्द्रीय समिति बैठक गरेर स्थानीय तह निर्वाचनमा केन्द्रित हुने औपचारिक निर्णय गरेको थियो। त्यसयता अध्यक्ष माधव नेपालसहित उक्त पार्टीका शीर्ष नेताहरू पार्टीको विभिन्न कार्यक्रमहरू काठमाडौंबाहिर हिँडेका हिँड्यै छन्।

जसपा नेपाल

सोमबार सकिएको केन्द्रीय समिति बैठकले जसपा नेपालले केन्द्रीय सदस्यहरूलाई स्थानीय तहहरूमा निर्वाचन अभिन्यता बनाएर खटाउने निर्णय गरेको छ। साथै बैठकले स्थानीय तह निर्देशिका पनि पारित गरेको छ। निर्देशिकामा जसपा नेपालले स्थानीय तह निर्वाचनमा उमेदबारहरू छान्ने मापढण्ड बनाएको छ।

पछिल्लो समयमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि मधेशका जिल्लाहरूमा आफ्नो दौडाहालाई तीव्र बनाएका छन। बैठक लगत्तै संघिय परिषद अध्यक्ष बाकुराम भटराई पनि जिल्ला तिर लागेका छन।

राप्रपा देखि लोसपा सम्म पनि विभिन्न कार्यक्रममा

राप्रपा नेपालले पनि पार्टीको केन्द्रीय समिति बैठक गरेर देशव्यापी अभियानमा निस्केका छन। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितीमा राप्रपाले देशका प्रमुख सहरहरूमा आमसभा देखि विभिन्न कार्यक्रमहरू गरिरहेको छ।

यसैगरी लोसपा नेपालले पनि स्थानीय तह निर्वाचनलाई लक्षित गरेर मधेश प्रदेशको राजधानी जनकपुर र विरगजमा पार्टी प्रक्षिशण कार्यक्रम राखेका छन। लोसपाका शिर्ष नेताहरू पछिल्लो समय मधेशका जिल्लाहरू व्यापक कार्यक्रमहरू गर्न थालेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved