आलोचना हुन थालेपछि पल शाहको मुद्दामा बोल्न थाले कलाकार

विविध विषयमा धारणा बनाइहाल्ने, विशेषगरी महिलाका मुद्दामा खुलेर बोल्ने कलाकारहरूको मौनताको आलोचना हुन थालेपछि कलाकारहरू क्रमश: यस विषयमा आफ्नो धारणा राख्न थालेका छन्।

नेपालभ्युज

आलोचना हुन थालेपछि पल शाहको मुद्दामा बोल्न थाले कलाकार

काठमाडौं। यतिबेला नेपाली फिल्मी क्षेत्र पल शाहविरुद्ध परेको जबर्जस्ती करणीको मुद्दाले तातेको छ। सेलिब्रेटी कलाकारको उक्त मुद्दामा सामाजिक सञ्जालमा चर्को टिकाटिप्पणी भइरहेको छ। अपराधबारे अनुसन्धान र अपराध हो/होइन पुष्टि गर्ने कानूनी पाटो आफ्नो ठाउँमा छ, तर केही कलाकारहरू पीडितलाई नै अनेक मानसिक तनाव हुनेगरी आरोपितको पक्षपोषण गरिरहेका छन्। यसरी आफूविरुद्ध यौन दुर्व्यवहार भएको भन्दै जाहेरी दिएकी नाबालिगलाई नै दोषी देखाउनेगरी दर्शकहरूको सहानुभूति बटुल्न केही कलाकारहरू बोलिरहँदा महिला सशक्तिकरणका लागि विभिन्न सामाजिक विषयमा धारणा बनाइहाल्ने कलाकारहरू भने मौन देखिन्छन्।

विविध विषयमा धारणा बनाइहाल्ने, विशेषगरी महिलाका मुद्दामा खुलेर बोल्ने कलाकारहरूको मौनताको आलोचना हुन थालेपछि कलाकारहरू क्रमश: यस विषयमा आफ्नो धारणा राख्न थालेका छन्। यही क्रममा आज (१७ फागुन) अभिनेत्रीहरू रेखा थापा, ऋचा शर्मा र सञ्चिता लुइँटेलले यस विषयमा मुख खोलेका छन्।

आज बिहान फेसबुकमा स्टाटस लेख्दै अभिनेत्री रेखा थापाले पीडितमाथि भइरहेका टिप्पणीको विरोध गरेकी छन्। उनले केटी मान्छे भनेपछि नेपालमा दुनियाँभरिका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक भएको बताएकी छन्। ‘‘२० वर्षमुनिका छोरीहरू बालिका हुन्, बालिका कानूनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्,” उनले भनेकी छन्, ‘‘समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो। को सँग लभ छ? कतिपटक यौन सम्पर्क भयो ? यस्ता नैतीकतावादी कुराको कानूनलाई मतलब हुनु हुँदैन। समाजको आडम्बर त कुरा गरी साध्य छैन। केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा व्याप्त छ।”

रेखाको उक्त स्टाटसपछि अर्की अभिनेत्री ऋचा शर्माले पनि आफ्नो धारणा राखेकी छन्। उनले भनेकी छन्, ‘‘मुलुकी अपराध संहिताले भन्छु १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो। कानूनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौ नि। हैन र ? १८ वर्ष मुनिकाको सहमतिमै यौन सम्बन्ध भए पनि बलात्कार ठहरिनुको कानूनी व्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै। अनि नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानूनी प्रवन्ध गरिएको हो। यति बुझौँ नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो। उसैले बोलाएको भनेर कानूनले छुट दिन्न!!
मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले। नाबालिगको संरक्षण, कानूनको सम्मान हो।”

यस्तै अर्की अभिनेत्री सञ्चिता लुइँटेलले कानूनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्रहत्या गर्ने किसिमका पोस्टहरू बन्द गर्न अनुरोध गरेकी छन्। पछिल्लो प्रकरणसँग जोडेर धेरै आपत्तिजनक भिडियोहरू टिकटकमा भाइरल भइरहेकाले विशेषगरी बालबालिकालाई यस्ता चिजबाट बालबालिकालाई टाढा राख्नुपर्ने उनले बताएकी छन्। ‘‘पछिल्लो प्रकरणसँग जोडेर धेरै आपत्तिजनक भिडियोहरू टिकटकमा भाइरल भइरहेका छन्। यस्तो कार्यमा धेरै बालबालिकाको पनि प्रयोग भइरहेको पाएको छु, जुन अत्यन्तै चिन्ताजनक कुरा हो। कानूनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत-प्रतिष्ठामा आँच आउने र चरित्रहत्या गर्ने किसिमका पोस्टहरू कृपया बन्द गरौं,” उनले भनेकी छन्, ‘‘खासगरी बालबालिकालाई यस्ता चिजबाट टाढा राखौं। यसमा नेपाल प्रहरीको समेत ध्यानाकर्षण गराउन चाहन्छु। दोषी र निर्दोषी छुट्याउने काम कानून र अदालतको हो। त्यतिञ्जेल सबैले धैर्य गर्नुको विकल्प छैन। सामाजिक सञ्जालको अनावश्यक होहल्ला र गालीगलौजले न्यायसम्पादनको प्रक्रिया प्रभावित नहोस् भन्नेमा सबै सचेत रहनुपर्छ।”

कलाकार पल शाह नाबालिकमाथि जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्। जिल्ला अदालतले ७ उनलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved