रूसमाथि फिफा र युरोपेली फुटबल महासंघको पूर्ण प्रतिबन्ध

नेपालभ्युज

रूसमाथि फिफा र युरोपेली फुटबल महासंघको पूर्ण प्रतिबन्ध

काठमाडौं। विश्व फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल महासंघ (यूफा) ले रूसको राष्ट्रिय फुटबल टिम र सबै क्लबमाथि प्रतिबन्ध लगाएको छ। युक्रेनमाथि थालेको सैन्य आक्रमणका कारण दुई फुटबल महासंघले रशियाली फुटबल टिम र क्लबहरूले कुनै पनि खेल र प्रतियोगिता खेल्न नपाउने गरी पूर्ण प्रतिबन्ध लगाएको हो।

रूसका राष्ट्रपति भ्लादमिर पुटिनले गतहप्ता बिहीबार छिमेकी मुलुक युक्रेनविरुद्ध युद्धको घोषणा गरेपछि त्यसको विरोधमा धेरै राष्ट्रहरूले रूसविरुद्ध आसन्न अन्तर्राष्ट्रिय खेल नखेल्ने घोषणा गरेका थिए।

यसै वर्षको कतार विश्वकपका लागि युरोपियन छनोटको पहिलो प्लेअफमा रूसले यसै महीना मार्चमा पोल्याण्डको सामना गर्दैछ। यो खेलमा जित हात पारे रूसको भेट स्विडेन वा चेक रिपब्लिकसँग हुनेछ। तर पोल्याण्ड, स्विडेन र चेक रिपब्लिक तीनै देशले रूससँग फुटबल नखेल्ने घोषणा गरिसकेका छन्। त्यस्तै आइतबार इंल्याण्ड र वेल्सले पनि भविष्यमा रूससँगको सबै फुटबल गतिबिधि बहिष्कार गर्ने निर्णय गरेका थिए।

धेरै देशको रूस बहिष्कार निति देखिएपछि फिफाले यसअघि रूसले आगामी खेलहरू देशको नामबाट नभई रशियाली फुटबल संघ अर्थात् ‘फुटबल युनियन अफ रसिया (आरएफयू)’ को तटस्थ ब्यानरमा खेल्नुपर्ने निर्देशन दिएको थियो।

त्यस्तै फिफाले रूसले अन्तराष्ट्रिय खेलमा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग पनि गर्न नपाउने निर्णय गरेको थियो। तर फिफाको यो निर्णय पनि आफूहरूलाई मान्य नहुने र कुनै पनि हालतमा रूससँग नखेल्ने भन्दै यी राष्ट्रहरू फिफाको नै विरोधमा लागेपछि अन्तत फिफाले रूसमाथि पूर्ण प्रतिबन्ध लगाएको हो।

यो प्रतिबन्ध पछि अब रूसले यसै महीनाको विश्वकपका छनोटको प्लेअफ खेल खेल्न पाउने छैन। त्यस्तै रूसको टिम यसै वर्षको महिला युरोकपबाट पनि निष्काशित भएको छ। त्यस्तै रूसको क्लब स्पार्टक मस्को पनि यूरोपा लिगबाट किक आउट भएको छ भने उसको अन्तिम १६ को प्रतिद्वन्द्वी आरबी लेइपजिग सीधै क्वार्टरफाइनमा पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved