भ्लादिमिर पुटिनले पहिले नै युद्ध हारिसकेका छन्

पछिल्ला केही दिनले सिंगो विश्वसामु के प्रमाणित गरिदिएका छन् भने युक्रेन वास्तवमा नै एउटा राष्ट्र हो, युक्रेनीहरू वास्तविक जनता हुन् र उनीहरू निश्चित रूपमा नयाँ रुसी साम्राज्य अन्तर्गत बाँच्न चाहँदैनन्।

भ्लादिमिर पुटिनले पहिले नै युद्ध हारिसकेका छन्
युभल नोहा हरारी

युद्ध शुरु भएको एक हप्ता नपुग्दै भ्लादिमिर पुटिन ऐतिहासिक पराजय तर्फ लम्किरहेका देखिन्छन्। उनले सम्भवतः सबै लडाइँ जित्नसक्छन् तर युद्ध हार्नेछन्। रुसी साम्राज्य पुननिर्माण गर्ने पुटिनको सपना सधैँभरी एउटा झुठमा आधारित थियो। त्यो झुठ हो– युक्रेन वास्तविक राष्ट्र होइन, युक्रेनीहरू वास्तविक जनता होइनन् अनि किभ, खरकिव र लिभिवका बासिन्दा मस्कोको शासनका लागि आतुर छन्।

त्यो पूर्णतः झुठ हो। युक्रेन हजार वर्षभन्दा पुरानो इतिहास भएको राष्ट्र हो। मस्को गाउँ पनि नबन्दै किव ठूलो नगर बनिसकेको थियो। तर रुसी तानाशाहले आफ्नो झुट कति धेरैपटक दोहोर्‍याए भने, अहिले उनलाई नै साँचो लाग्न थालेको छ।

युक्रेनमाथि आक्रमण गर्ने तयारी गर्दैगर्दा पुटिनले ज्ञात तथ्य केके हुन् भनेर गन्नसक्थे। उनलाई थाहा थियो, सैन्य बलमा रुसभन्दा युक्रेन निकै सानो छ। उनलाई थाहा थियो, नाटो गठबन्धनले युक्रेनको सहायतका लागि सेना पठाउने छैन। उनलाई थाहा थियो, रुसी तेल र ग्यासमा युरोपेली निर्भरताका कारण जर्मनीजस्ता देशहरू कठोर प्रतिबन्ध लगाउन हिचकिचाउनेछन्। यी ज्ञात तथ्यमा आधारित रहेर नै उनले युक्रेनलाई तुरुन्तै र कडा प्रहार गर्ने, सरकार ढाल्ने, किभमा कठपुतली सरकार बनाउने र पश्चिमा प्रतिबन्धको अर्थहीन क्रोधबाट बाहिर निस्कने योजना बनाए।

हरेक दिन बित्दै गर्दा पुटिनले लगाएको दाउ असफल भएको पुष्टि भइरहेछ। युक्रेनी जनताले आफ्नो दिलोज्यान दिएर रुसी आक्रमणको प्रतिरोध गरिरहेछन् जसले गर्दा सिंगो विश्वको प्रशंसा पाइरहेछन्। युद्ध जितिरहेछन्।

यो योजनाबारे थाहा नभएको एउटा ठूलो तथ्य छ। इराकबाट अमेरिकीहरूले र अफगानिस्तानबाट सोभियत रुसीहरूले सिकेजस्तै कुनै पनि देशलाई जित्न सजिलो छ तर नियन्त्रणमा राखिरहन कठीन। पुटिनलाई थाहा थियो उनीसँग युक्रेनलाई जित्ने सामर्थ्य छ। तर के युक्रेनी जनताले मस्कोको कठपुतली सत्ता स्वीकार गर्नेछन् त ? उनीहरूले स्वीकार गर्नेछन् भनेर पुटिनले जुवा खेलेका छन्। आखिर उनले सुन्न चाहनेजतिलाई पटकपटक व्याख्या गरेका छन्– युक्रेन वास्तविक राष्ट्र होइन र युक्रेनीहरू वास्तविक जनता होइनन्। सन् २०१४ मा क्रिमियाका जनताले रुसी आक्रमणकारीलाई कमैमात्र प्रतिरोध गरेका थिए। अनि २०२२ मा कसरी फरक हुन्छ त ?

हरेक दिन बित्दै गर्दा पुटिनले लगाएको दाउ असफल भएको पुष्टि भइरहेछ। युक्रेनी जनताले आफ्नो दिलोज्यान दिएर रुसी आक्रमणको प्रतिरोध गरिरहेछन् जसले गर्दा सिंगो विश्वको प्रशंसा पाइरहेछन्। युद्ध जितिरहेछन्। असंख्य अँध्यारा दिनहरू अगाडि छन्। अझै पनि रुसीहरूले सिंगो युक्रेन जित्न सक्छन्। तर युद्ध जित्नका लागि रुसीहरूले युक्रेनमा नियन्त्रण जमाउनुपर्नेछ। युक्रेनी जनताले साथ दिए मात्र त्यो सम्भव हुनेछ। त्यस्तो नहुने सम्भावना बढिरहेछ।

रुसी साम्राज्यको मृत्य पुर्जामा मिखाइल गोर्वाचेभको होइन पुटिनको नाम हुनेछ। गोर्वाचेभले रुसी र युक्रेनीहरूबीच दाजुभाई दिदीबहिनीको भावना छोडेका थिए। पुटिनले तिनलाई दुश्मनमा फेरिदिएका छन्।

हरेक रुसी ट्यांक ध्वस्त हुँदा र हरेक रुसी सेना मारिँदा युक्रेनीहरूको प्रतिरोध गर्ने साहस बढिरहेछ। र हरेक युक्रेनी मारिँदा युक्रेनीहरूको घृणा बढ्दो छ। घृणा भावना भरिमा सबैभन्दा कुरूप हो। तर दमित राष्ट्रका लागि घृणा गुप्त खजाना हो। हृदयमा गहिरोगरी गाडिएर यसले पुस्तौं पुस्तासम्मको प्रतिरोध कायम राख्नसक्छ। रुसी साम्राज्य पुनर्निर्माण गर्न पुटिनलाई तुलनात्मक रूपमा रक्तहीन विजय चाहिन्छ जसले तुलनात्मकरूपमा घृणारहित शान्तितर्फ डोर्‍याउँछ। झन् भन्दा झन् युक्रेनी रगत बगाएर पुटिनले आफ्नो सपना कहिल्यै पूरा नहुने ढुक्क बनाइरहेछन्। रुसी साम्राज्यको मृत्य पुर्जामा मिखाइल गोर्वाचेभको होइन पुटिनको नाम हुनेछ। गोर्वाचेभले रुसी र युक्रेनीहरूबीच दाजुभाई दिदीबहिनीको भावना छोडेका थिए। पुटिनले तिनलाई दुश्मनमा फेरिदिएका छन्। र युक्रेनी राष्ट्रले यसपछि आफैलाई रुसको विरोधी ठहर्‍याउने सुनिश्चित बनाइदिएका छन्।

आखिर राष्ट्रहरू कथाको जगमा बन्नेगर्छन्। हरेक दिन बित्दै गर्दा कथाहरू थपिँदै छन्। ती कथा युक्रेनीहरूले आउने अँध्यारा दिनमा मात्र होइन बरु दशकौं र पुस्तौंसम्म सुनाइरहनेछन्। कथा त्यो राष्ट्रपतिको जसले अमेरिकालाई ‘मलाई हतियार चाहिएको छ सवारी होइन’ भन्ने जवाफ दिएर भाग्न अस्वीकार गर्‍यो। कथ ‘स्नेक आइल्याण्ड’का ती सेनाको जसले रुसी युद्धपोतलाई भने, ‘जाओ मर तिमीहरू’। कथा ती नागरिकको जसले सडकमा बसेर रुसी ट्यांकहरू रोक्ने प्रयास गरे। यस्तै कथाहरूमा टेकेर नै राष्ट्र बन्ने गर्छन्। कालान्तरमा ट्यांकहरू भन्दा यी कथाको गणना बढी हुनेछ।

अरू सबैले जानेजस्तै यो तथ्य त रुसी तानाशाहले पनि जान्नुपर्ने थियो। आखिर उनी पनि सानो छँदा लेनिनग्रादको घेराबन्दीमा परेका रुसीहरूको बहादुरीको कथा सुनेरै हुर्केका थिए (दोस्रो विश्वयुद्धताका हिटलर नेतृत्वको नाजी जर्मनी फौजले तत्कालीन् सोभियत संघको लेनिनग्रादमा आठ सय ७२ दिन घेराबन्दी गर्दा रुसीहरूले बहादुरीपूर्वक प्रतिरोध गरेका थिए– अनु.)। अहिले उनी आफैले त्यस्ता अझ धेरै कथा सिर्जना गरिरहेछन् तर आफैँलाई हिटलरको भूमिकामा राखेर।

राष्ट्रहरू कथाको जगमा बन्नेगर्छन्। हरेक दिन बित्दै गर्दा कथाहरू थपिँदै छन्। ती कथा युक्रेनीहरूले आउने अँध्यारा दिनमा मात्र होइन बरु दशकौं र पुस्तौंसम्म सुनाइरहनेछन्।

युक्रेनी साहसको कथाले केवल युक्रेनीहरूलाई मात्र होइन सिंगो विश्वलाई हिम्मत दिएको छ। उनीहरूले युरोपेली देशहरूका सरकारलाई, अमेरिकी सरकारलाई र रुसका दमित नागरिकलाई समेत साहस प्रदान गरेका छन्। युक्रेनीहरूले खाली हातले ट्यांक रोक्ने हिम्मत गर्छन् भने जर्मन सरकारले केही एन्टी–ट्यांक मिसाइल पठाउने हिम्मत गर्नसक्छ; अमेरिकाले रुसलाई ‘स्विफ्ट’ (सोसाइटी फर वल्र्डवाइड इन्टरबैंक फाइनान्सियल टेलीकम्युनिकेसन) बाट हटाउन सक्छ; र रुसी जनताले यो मूखर्तापूर्ण युद्धको विरोधमा प्रदर्शन गर्न सक्छन्।

दुर्भाग्यवश, यो युद्ध लामो समय चल्ने देखिन्छ। तर सबैभन्दा महत्वपूर्ण विषय पहिले नै टुंगो लागिसकेको छ। पछिल्ला केही दिनले सिंगो विश्वसामु के प्रमाणित गरिदिएका छन् भने युक्रेन वास्तवमा नै एउटा राष्ट्र हो, युक्रेनीहरू वास्तविक जनता हुन् र उनीहरू निश्चित रूपमा नयाँ रुसी साम्राज्य अन्तर्गत बाँच्न चाहँदैनन्। महत्त्वपूर्ण प्रश्न यत्ति हो– यो सन्देशले क्रेमलिनको बाक्लो पर्खाल छेड्न कति समय लाग्छ।

– विख्यात इतिहासकार हरारीको  ‘द गार्जियन’मा २८ फेब्रुअरीमा प्रकाशित लेखको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved